काठमाडौं  – काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ ।


ADVERTISEMENT


खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ । यो खटमा टुँडालदेवीलाई तीन दिनपछि मात्र फर्काइने जनाइएको छ । यसअघि मङ्गलबार दिउँसो लावा छरेर जात्रा गरिएको थियो । लावासहितको जात्रापछि भाटभटेनी मन्दिरमा यस क्षेत्रका महिलाको समूह निशा पुचः ले दुई घण्टा विशेष पूजा गरेको महानगरपालिका–५ का अध्यक्ष एवं जात्रा सञ्चालन समितिका अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि हाँडीगाउँ क्षेत्रमा जात्रा सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको थियो ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा भव्यरूपमा गरिन्छ । जात्राका क्रममा भातको देउता बनाएर टुँडालदेवीमा लगिने विधि भने पूरा भइसकेको छ । भाटभटेनी जात्रा काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ ।

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ । यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ । धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल अर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन् । स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुनका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ । त्यसै समयदेखि हराएको गहना खोज्न यो जात्रा सुरु भएको विश्वास गरिन्छ ।