खोटाङ – दश स्थानीय तह रहेको खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा छवटामा नेपाली काँग्रेससहित चार दल र चारवटामा काँग्रेसबाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल भएको हो ।


ADVERTISEMENT


सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरूबीच चुनावी तालमेल भएपनि उम्मेदवार छनोटमा भने सकस देखिएको छ । राजनीतिक दलहरूबीच गठबन्धन भएको ठाउँमा जित सुनिश्चित हुने अनुमानसहित आकाङ्क्षी धेरै हुँदा सत्ता गठबन्धनका नेताहरूले उम्मेदवारको नाम टुङ्ग्याउन नसकेको हो ।


ADVERTISEMENT

# # #


जिल्लाको सबैभन्दा ठूलो तथा सबैको ध्यान केन्द्रित हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख नेपाली काँग्रेसको भागमा परेको छ । काँग्रेसमा नगरप्रमुखका लागि आठजना आकाङ्क्षीको नाम प्रदेशमा सिफारिस भएको छ ।

सहमतिमा एकजनाको मात्र नाम पठाउने प्रयासस्वरुप तीन दिनसम्म भएको छलफल नटुङ्गिएपछि गए राति कुमार पुरी, नारायण राई ‘निशान’, राजनशेर राई, रोजन राई, श्यामकुमार राई, भिषण राई र रामकुमारी राईको नाम सिफारिस गरिएको काँग्रेस नगर कार्यसमितिले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि नगर कार्य समितिको सोमबार बसेको बैठकले नगर प्रमुखको लागि जिल्ला सचिव तीर्थराज भट्टराईको नाम सर्वसहमतले सिफारिस गरेको थियो ।

भागबण्डामा नगर उपप्रमुख पाएको नेकपा (माओवादी केन्द्र)ले समेत अहिलेसम्म आफ्नो उम्मेदवारको नाम टुङ्ग्याएको छैन । नगर उपप्रमुखका लागि माओवादी केन्द्रमा विसन राई, विकास राई र विनोद आचार्यको नाम चर्चामा छ ।

सत्ता गठबन्धनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मात्र नभई जिल्लाका अन्य स्थानीय तहमासमेत उम्मेदवार टुङ्गो लाग्न सकेको छैन । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखको टुङ्गो नलागेपछि वडाध्यक्ष र सदस्यको विषयमा छलफल नै हुन बाँकी रहेको नेताहरूले बताएका छन् ।

विसं २०७४ सालमा भएको निर्वाचनमा सबैभन्दा बढी पाँचवटा स्थानीय तहमा जित हात पारेको एमालेले पनि यस नगरमा उम्मेदवार छनोट गर्न सकेको छैन । उसले सत्ता गठबन्धनले उम्मेदवार छनोट गरेपछिमात्र आफ्नो उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको समाचार स्रोतले जनाएको छ ।

जिल्लाका दशवटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा अहिलेसम्म सर्वसहमत नभएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । “जिल्लामा उम्मेदवार टुङ्ग्याउन नसकेपछि प्रदेशमा सिफारिस गरिएको छ”, उनले भने, “दश स्थानीय तहको ७९ वडामध्ये ६१ वडाका लागि वडाध्यक्षको उम्मेदवार सर्वसहत भएको छ भने बाँकी १८ वडामा छलफल भइरहेको छ ।”

उता, जिल्लाको सबैभन्दा थोरै जनमत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समेत उम्मेदवार छनोट सर्वसहमत हुन सकेको छैन । राप्रपाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखका लागि जीवनकुमार श्रेष्ठ, ललितकुमार राई र विनोद बस्नेत तथा उपप्रमुखमा चन्द्रकुमारी राई ‘तारा’, टीकाकुमारी खत्री र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरेको छ ।

राजनीतिक दलले उम्मेदवारको नाम टुङ्ग्याउन नसक्दा मतदातामा भने अन्योल सिर्जना भएको छ । स्थानीय तहको निर्वाचनमा मतदाताले उम्मेदवारको व्यक्तिगत प्रभाव, चुनावी घोषणापत्र र राजनीतिक आवस्थाको आधारमा मतदान गर्छन् ।

उम्मेदवार छनोटमा सबैभन्दा बढी कठिन सत्ता गठबन्धनमा देखिएको छ । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखमा साझा उम्मेदवार भए पनि अधिकांश वडामा प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन् ।

सबै वडामा तालमेल नभएको खण्डमा गठबन्धनलाई घाटा हुने देखिएको छ । तालमेल भएका पालिकाको वडास्तरसम्म नै दलहरूबीच तालमेल गर्नेगरी छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले बताए ।

स्थानीय तहको निर्वाचनलाई सफल बनाउन जिल्लाका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ । दिक्तेल बजारस्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा नौँवटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्लामा हुने निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । एक सय ३६ मतदानस्थल र १९४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्लामा ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा मतदान केन्द्र सामान्यमा राखिएको छ ।

आगामी निर्वाचनमा जिल्लाका दशवटै स्थानीय तहकागरी एक लाख ४३ हजार ७५२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए। रासस