डा. मिलन सुवेदी


ADVERTISEMENT


नवजात शिशु तथा ६ महिना मुनिका बालबालिकाको आहारको प्रमुख स्रोत भनेकै आमाको दुध हो ।  शिशुको जन्मपश्चात् उसलाई आमाको पहिलो स्तनपान गराउनु अत्यन्त आवश्यक रहन्छ । उक्त समयमा आमाको स्तनबाट आउने दुध बच्चाका लागि अत्यन्त फाइदाजनक हुने भएकाले सो समयमा शिशुलाई स्तनपान गराउनु अत्यावश्यक रहन्छ ।


ADVERTISEMENT

# # #


तर, नेपाली समाजमा अझ विशेषगरी ग्रामीण भेगमा अझैपनि आमाको पहिलो दुध शिशुलाई खुवाउनु हुन्न भन्ने गलत मानसिकता रहेको पाइन्छ । जसकारण पनि भर्खरै जन्मिएको शिशुलाई अन्य नै महिलाको स्तनपान गराउने प्रचलन रहेको छ । जुन विल्कुल गलत हो ।

प्रसुतिपछि महिलाको स्तन ग्रन्थीबाट आउने पहिलो दूध अन्य समयको तुलनामा बाक्लो र पहेँलो रङको हुन्छ । जसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘कोलोस्ट्रम’ पनि भनिन्छ । आमाको पहिलो दूधमा शिशुको लागि आवश्यक प्रोटिन, भिटामिन र इमोनोग्लाब्युलिनको मात्रा उचित रहन्छ । जसले शिशुको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउँछ । यसका साथै यसले शिशुको पाचन प्रणालीमा सुधार गर्दै शरीरमा रहेको म्युकोनियम (दिसा) छिटोभन्दा छिटो शरीरबाहिर निकाल्न समेत मद्दत गर्दछ ।

के शिशुलाई आमाको दूध मात्रै पर्याप्त हुन्छ ? कसरी ?

सामान्यतयाः प्रसुतिपछि महिलाको स्तनबाट २–४ दिनसम्म कोलोस्ट्रम आउने भएता पनि शिशुको जन्मपश्चात् १ घन्टाको अवधिभित्रै स्तनपान गराइसक्नु पर्छ । जन्मिएको ६ महिनाको अवधिसम्म बच्चाले शारीरिक तथा मानसिक वृद्वि विकासका आवश्यक सबै किसिमको पौष्टिक आहारहरु आमाको दूधबाटै प्राप्त गर्छ । जसकारण पनि सो अवधिमा बच्चालाई अन्य कुनै पनि आहारको आवश्यक पर्दैन ।

यस्तै, बालबालिकाको पाचन प्रणाली अन्यको तुलनाका संवेदनशिल हुने भएकाले उक्त समय अवधिअघि उनीहरुलाई अन्य खानाहरु दिनु उनीहरुको निम्ति हानिकारक हुन्छ । यहाँसम्मकी पहिलो ६ महिनाको अवधिसम्म शिशुहरुलाई पानीको एक थोपा पनि खुवाउनु हुदैँन । तर, कुनै पनि स्वास्थ्य समस्या देखिएको अवस्थामा चिकित्सकको सल्लाहअनुसार, औषधिहरु भने दिन सकिन्छ ।

शिशुलाई दिनमा कति पटक कसरी स्तनपान गराउने ?

पहिलो पटक आमा बनेका महिलाहरुका लागि बच्चाको हेरचाह र स्याहारसुसार अन्यको तुलनामा चुनौतीपूर्ण रहन्छ । यहाँ सम्मकी उनीहरुलाई शिशुलाई दिनमा कति पटक, कति मात्रामा र कसरी स्तनपान गराउने? भन्ने उचित ज्ञान समेत हुदैँन ।

साधारण रुपमा आमाले आफ्नो बच्चालाई राति ४–५ पटक गरेर २४ घन्टामा कम्तिमा पनि १०–१२ पटकसम्म स्तनपान गराउनुपर्छ ।

स्तनपान गराउने तरिका

स्तनपान गराउने तरिकाको नमुना तस्बिर

–बच्चाको पछिल्लो मेरुदण्डको भाग र टाउकोलाई सर्पोट दिने

–घाँटीलाई सोझो(सिधा) बनाउने

–बच्चालाई स्तन नजिक ल्याउने

–बच्चाको चिउँडोमा आमाको स्तन छुवाउने

–बच्चाको मुख खोलेर स्तनको अगाडिको कालो भागलाई बच्चाको मुखमा पुर्‍याई स्तपान गराउने ।

यसरी बच्चालाई स्तनपान गराउँदा एक पटकलाई १०–१५ मिनेटसम्म स्तनपान गराउनुपर्छ । र, बच्चाको पेट नभरिएको खण्डमा अर्को भागको स्तनपान गराउन सकिन्छ ।

बच्चालाई दूध अपुग भएमा के गर्ने ?

अधिकांश नव आमाहरु शिशुलाई आफ्नो दूध पुग्दैन भनेर चिन्तित पनि हुने गरेको पाइएको छ । हामीले के बुझ्नुपर्छ भने, बच्चाको पेट अत्यन्तै सानो हुने भएकाले थोरै परिणामले पनि उनीहरुको पेट भरिन्छ । तर, आमाको दुध कत्ति पनि खेर नफाली खुवाउनुपर्छ । अझ विशेषगरी पहिलो २–४ दिनको दूधलाई खेर जान दिनु हुदैँन ।

यद्यपि कतिपय आमाहरुमा केहि कारणवश् दूध नआउने समस्या पनि देखिन्छन् । यस्तैमा केहिले शिशुलाई गाई वा भैँसीको दूध समेत दिने गर्छन् ।  तर, गाई भैँसीको दूधमा अत्यन्त प्रोटिन हुने भएकाले बच्चाहरुले त्यसलाई सजिलै पचाउन सक्दैनन् । परिणाम स्वरुपः उनीहरुमा पेट फुल्ने, दिसा नहुने वा झाडा लाग्नेजस्ता समस्या देखिन्छन् । तसर्थ यसको विकल्पको रुपमा दूध नआएका आमाहरुले चिकित्सकको अनिवार्य सल्लाहमा बजारमा उपलब्ध विशेष प्रकारको दूधहरु खुवाउनु पर्दछ ।

पूरक आहार कस्तो खानाबाट शुरुआत गर्ने ? 

प्रथम ६ महिनाको अवधिपछि बच्चाको वृद्वि विकासका लागि उनीहरुलाई अन्य थप पूरकको पनि आवश्यकता पर्दछ । यसका लागि नेपाली समाजमा ६ महिनामा बालबालिकाको ‘पास्नी’गर्ने प्रचलन रहेको छ ।

तर, पास्नीपश्चात् पनि हामीले बच्चालाई एकैपटक जोड गरेर खाना खुवाउनु हुदैँन । यसका लागि बच्चालाई कुनै एक निश्चित पोषिलो तथा सजिलै पचाउन सकिने जाउलोजस्तो खानाबाट शुरुआत गनुपर्छ । यसरी विस्तारै–विस्तारै १ वर्षको अवधिसम्ममा परिवारमा खाइने खानेहरु खुवाउन सकिन्छ । र, कुनौ पनि बच्चालाई दुई वर्षसम्म अनिवार्य रुपमा आमाको स्तनपान गराउनु पर्छ ।

 स्तनपानबाट आमालाई हुने फाइदाहरु

स्तनपान गराउँदा यसले बच्चालाई मात्रै नभएर आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण निर्वाह गरेको हुन्छ । शिशुको जन्मपश्चात् उचित रुपमा स्तनपान गराउने आमाहरुमा प्रसुतिपछि देखापर्ने ‘पोस्टपार्टम डिप्रेशन’ तथा तनावबाट टाढा राख्न समेत मद्दत गर्दछ । यस्तै, पूर्ण रुपमा स्तनपान गराउने आमाहरुमा पाठेघर तथा स्तन क्यान्सरको जोखिम अन्यको तुलनामा न्युन रहेको पाइएको छ ।

यस्तै, स्तनपान आमा र शिशुबीचको निकट सम्बन्धलाई थप प्रगाढ बनाउने माध्यम पनि हो । तसर्थ यसलाई शारीरिक र मानसिक रुपमा मात्रै नभई भावनात्मक दृष्टिकोणबाट पनि विश्लेषण गर्न सकिन्छ ।

(डा. सुवेदी आवासीय चिकित्सकको रुपमा बंगलादेशमा अध्ययनरत छन् ।)