कर्णाली – सुरक्षा निकायले कर्णाली प्रदेशका ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको बताएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेशका १० जिल्लाका ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको बताएका हुन्।


ADVERTISEMENT


कर्णाली प्रदेशमा ९०७ मतदानस्थल अन्तर्गत एक हजार ३८५ मतदान केन्द्र छन् । कुल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाले बताए।


ADVERTISEMENT

# # #


भौगोलिक विकटता, मतदान केन्द्रको दूरी, मतदाता संख्या, विगतको घटना विश्लेषण र राजनीतिक प्रभावलाई दृष्टिगत गरी मतदान केन्द्रको वर्गीकरण गरिएको र त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाएको उनले बताए।

‘कर्णाली प्रदेश एकीकृत सुरक्षा प्रणालीअन्तर्गत सामान्य, संवेदनशील र अतिसंवेदनशील मत केन्द्र वर्गीकरण गरेर हामीले प्रदेशभरि सात हजार ७१३ म्यादी प्रहरी परिचालन गरेका छौँ’, उनले भने, ‘त्यस्तै पाँच हजारको हाराहारीमा नेपाली प्रहरी पनि खटाइएको छ। म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित अवस्था मजबुत बन्ने देखिन्छ।’

यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि हाल कर्णालीमा चार लाख ४९ हजार ३० महिला र चार लाख ५९ हजार ४०१ पुरुष गरी नौ लाख आठ हजार ४३३ मतदाता रहेका छन्।