ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नकुल थापासँग निर्वाचनको तयारी, उनका एजेण्डा र उद्देश्य लगायतका विषयमा हिमालय पोष्टले कुराकानी:


ADVERTISEMENT


ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिनुभएको छ । चुनाव कत्तिको लागेको छ ?


ADVERTISEMENT

# # #


चुनावको माहोल एकदमै तातेको छ । प्रचार प्रसार, घरदैलो साथीहरुसँग भेटघाट जस्ता कार्यले व्यस्तता बढेको छ । गठबन्धनको कारण पनि चुनावका कार्यक्रमहरु केही ढिलो हुन पुग्यो । त्यसकारण पनि एकदमै दौढधुप बढेको छ । धेरै कामहरु एकदमै छोटो समयमा भ्याउनुपर्ने भएकाले कामको चाप र दैनिकी फेरिएको छ । तसर्थ चुनाव एकदमै लागेको छ । यसैको लागि दौडधुपमा रहेको छु ।

उम्मेदवारीपछि घरदैलो लगायतका कामहरुमा कसरी अघि बढिरहनुभएको छ ?

गठबन्धन गरेर चुनावमा जाने भनेकोले एकदमै अन्योलको अवस्था थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रका साथीहरुसँग छलफल र अन्तरक्रिया भइरहेको छ । गठबन्धनलाई कसरी लैजानेभन्ने कुरामा अझै हामी छलफलमा छौं ।

व्यक्तिको स्वार्थ हेर्ने काम पनि विभिन्न पार्टीका केही साथीहरुले गरिरहनुभएको छ । यसले गठबन्धनलाई सहयोग नपुगेर अन्य दललाई सहयोग पुग्नेतर्फ हामी ध्यान दिइरहेका छौं । यस्तो कामले नेकपा (एकीकृत समाजवादी) पार्टी कांग्रेस र माओवादीलाई पनि हानी हुनेतर्फ हामी छलफल गरिरहेका छौं । भोट माग्ने कामहरु पनि चलिरहेको छ ।

व्यक्तिगत स्वार्थहरुमा नलागेर चुनावमा अघि बढौं भनेर साथीहरुलाई विश्वास दिलाउने काम मेरातर्फबाट र पार्टीका तर्फबाट भइरहेको छ । चुनावमा होमिएपछि सबै कुराहरुतर्फ ध्यान दिने कामहरु भइरहेको छ । धेरै साथीहरुको र पार्टीको सहयोग पनि पाएको छु ।

गठबन्धनबाट तपाईंलाई मेयर दिने भन्ने कुरा बाहिर आएको सुनिएको थियो । त्यसैकारण तपाईंले कांग्रेसलाई उपमेयर दिने भनेर त्यसमा कसैलाई उठाउनुभएन । तपाईं गठबन्धनको उम्मेदवार हो ?

केन्द्रबाट नेकपा (एकीकृत समाजवादी) पार्टीलाई महालक्ष्मी नगरपालिकाको मेयर पद दिने भन्ने कुरा पहिलेदेखि नै आएको कुरा हो । तर, बीचमा केही साथीहरुले व्यक्तिगत स्वार्थ हेरेर गठबन्धन भत्काउने काम गर्नुभएको छ ।

तर पनि मलाई कांग्रेसको ठूलो समूहको सहयोग छ । एमालेका पनि साथीहरु मेरो पक्षमा उभिनुभएको मैले पाएको छु । माओवादीका साथीहरुको पनि साथ छ । व्यक्तिगत स्वार्थ हेर्ने साथीहरुबाट अलिकति अप्ठेरो परे पनि म नै चुनाव जित्छु भन्ने मलाई लागेको छ । त्यसैकारण म निडर भएर घरदैलो कार्यक्रममा जुटेको छु ।

मलाई के विश्वास छ भने अत्यधिक मतले मेरो पक्षमा भोट खस्नेछ । त्यही अनुसार नै चुनावको तयारी गरिरहेको छु । वडा नं. ७ मा राम्रो काम गरेको र पार्टीमा पनि राम्रो काम गरेर देखाएको मसँग अनुभव छ । नगरपालिकाको १० वटा वडामध्ये वडा नं. ७ मा भोटको संख्या पनि राम्रो छ र १० वटै वडामा मेरो कामको प्रशंसा पनि भइरहेको मैँले पाएको छु । केही साथीहरुलाई गणना नगर्ने हो भने जनलहर मेरो पक्षमा खडा भएको मैँले पाएको छु । त्यसकारण पनि चुनाव जित्नेमा म ढुक्क छु । हामीले जनलहर खडा गरेको कारण डराउने अवस्था छैन । जितको सम्भावना मैले देखेको छु ।

तपाईंको आकलनचाँहि समाजवादी, कांग्रेस, माओवादी, एमाले र स्वतन्त्र भोट पनि आफ्नै पक्षमा आउँछ भन्ने हो ?

हो, मैले वडाध्यक्ष हुँदा जुन खालको नमुना काम गरेर देखाएको छु त्यसको प्रभाव राम्रो छ , सात नम्बर वडामा गरेको विकास निर्माणका कामहरुबाट दश वटै वडाका साथीहरु र मतदाताहरुमा सकारात्मक प्रभाव परेको मैले पाएको छु ।

साँच्चै गरे हुने रहेछ भन्ने उहाँहरुमा सकारात्मक प्रभाव पर्नु नै मेरो जितको आधार हो । वडाको कामको सकात्मक प्रभावले नै नहकुल थापाको नाम चर्चामा आएको हो । म काममा विश्वास गर्ने मान्छे हुँ । विकास निर्माणका कामलाई सही तरिकाले गर्न सकेको खण्डमा नमुना नगर बनाउन अप्ठेरो छैन । यसको लागि योग्य व्यक्तिको रुपमा मलाई स्थानीयले चुन्नेछन् भन्ने विश्वास छ ।

अर्को कुरा महालक्ष्मी नगरका युवा, महिला, जनजाति, दलित र उत्पीडितलाई साथमा लिएर हिँड्नसक्ने व्यक्तिको रुपमा पनि मलाई यहाँका मतदाताले हेरिरहनुभएको छ । सबैलाई समेटेर अगाडि बढ्नुपर्छ भन्ने मलाई सँधै लागिरहन्छ । यसकारण समाजवादी, कांग्रेस, माओवादी, एमाले र स्वतन्त्र भोट पनि मेरो पक्षमा खस्नेछ भन्ने मेरो आकलन र विश्वास छ ।

सबैतिर घरदैलो कार्यक्रम सकिसक्नुभयो कि बाँकी छ ?

घरदैलो कार्यक्रम हामीले वडा नम्बर एकबाट सुरु गरेका हौं । त्यसैगरी सातमा नम्बर पनि सकेका छौं । चार नम्बरमा पनि कार्यक्रम सम्पन्न भएको छ । हामी निरन्तर यो प्रकियालाई अघि बढाइरहेका छौं । साथीहरुले यसमा अझै जोश र जाँगर भरिदिनुभएको छ । हातमालोको काम भइरहेको छ । सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने काम भइरहेको छ । अग्रिम जितको शुभकामना पनि आइरहेका छन् ।

बाँकी रहेका सबै वडामा हामी घरदैलो सम्पन्न गर्नेछौं । स्थानीयहरुसँग कुराकानी गर्नेछौं । उहाँहरुको अनुभव र अनुभूति साटासाट गर्नेछौं । आवश्यक विकासका कुराहरु पहिचान गरी त्यसको समाधान गर्ने बाटोमा अन्तर्क्रिया गर्नेछौं । यो शीलशीला चलिरहेको अवस्था छ । नयाँ उमंग जोश लिएर हामी अघि बढिरहेका छौं । चुनावी सरगर्मी बढिसकेको छ । चुनावी कार्यक्रम कहाँ कसरी कहिले गर्ने भन्ने एकखालको रणनीति तयार गर्न साथीहरु लागिपर्नु भएको छ ।

म आफैं पनि यसमा सक्रिय भएर लागि परेको छु । पार्टीका केन्द्रमा रहेका साथीहरुले पनि एक खालको माहोल तयार पार्ने काम गरिहनुभएको छ । यस हिसाबले चुनावको राम्रो राणनीति बनेको छ भन्ने मेरो विश्वास छ ।

जनताले तपाईंलाई के भनिरहेका छन् ? के अपेक्षा गरेको पाउनुभयो ?

जनताहरुले मलाई तपाईंले उम्मेदवारी फिर्ता लिन लागेको हल्ला चलाइरहेका छन् । तपाईं नआत्तिकन चुनावको तयारीमा लाग्नुहोस् भन्नु भएको छ । विपक्षमा रहेका साथीहरुले यस्तो भ्रम पनि फैलाएको मैले पाएँ । गठबन्धनमार्फत सिफारिस भएको भन्दै दुई जना उम्मेदवारहरुले जनतालाई भ्रम छर्ने काम गरिरहनुभएको रहेछ । जनताले मलाई हाम्रो भोट तपाईंलाई नै हुनेछ डराउनु पर्दैन भनिरहनुभएको छ ।

मैले उहाँहरुको आड भरोसालाई सम्मान गर्दै आएको छु । स्थानीय बुद्धिजीवी, समाजसेवी अगुवाहरुले पनि उम्मेदवारी छाडेर भाग्ने काम नगर्नुहोस् हामी सहयोग गर्छौं भन्नुभएको छ । हल्ला फिँजाउनेहरुले काम नगरी गफ मात्र गर्ने भएकाले तपाईं आत्तिनुपर्दैन भनेर जनताले मलाई ढाडस दिनुभएको छ ।

मेयर पदमा उम्मेदवारी दिएका तीन जनामध्ये मबाहेकका अरु दुई साथीहरु सिस्टम बेगर उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरुले मनोमानी ढंगले उम्मेदवारी दिएका कारण पनि उहाँहरुप्रति जनताले विश्वास नगरेको पनि मैले पाएँ । स्थानीय जनताले आफ्ना क्षेत्रमा गर्नुपर्ने कामहरुको पनि मलाई जानकारी गराउनुभएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, यातायात जस्ता विषयहरु उहाँहरुले उठाउनुभएको छ । म त्यसप्रति प्रतिबद्ध छु । काम गर्नुपर्छ आफ्नो ठाउँ बनाउनुपर्छ भन्नेमा म सँधै सकारात्मक भएको हुँदा जनताहरुले मलाई सजिलो गरी र एकदमै सहयोगी भएर भेटिरहनुभएको छ ।

अन्य पार्टीको उम्मेदवारहरुले आफूखुशी टिकट लिएको कारण पनि मलाई अन्य पार्टीका साथीहरुको साथ सहयोग र हौसला प्राप्त भएको छ । उहाँहरुको माया हौसला र प्रेरणाको कारण पनि मलाई काम गर्नुपर्छ भन्ने जोश जागेको अवस्था छ । अर्को कुरा जनताका मुद्दाहरुमा म प्रतिबद्ध रहेको छु । जनताका मागहरुलाई उपेक्षित गरेर विकास हुँदैन भन्ने जानकारी मलाई छ ।

शिव कट्टेलले गठबन्धनलाई धोका दिँदै व्यक्तिगत स्वार्थको लागि काम गरेका हुन् ?

पक्कै पनि उहाँले गठबन्धनलाई धोका दिने काम गर्नुभएको हो । तपाईं के हिसाबले चुनावमा होमिनुभएको हो भनेर उहाँको कार्यकर्ताले उहाँलाई प्रश्न गरिरहेका छन् । उहाँलाई जिल्लाको अध्यक्ष भएको कारण पनि कतिपय साथीहरुले प्रश्न गर्न अप्ठेरो मानिरहनुभएको हो । त्यसैले उहाँले धोकेबाज काम गर्नुभएकोमा शंका छैन ।

नगर कमिटीले पनि उहाँलाई टिकट दिएको होइन । उहाँ आफैं स्वघोषित तरिकाले उम्मेदवार बन्नुभएको हो । उहाँलाई कसैको पनि कुरा नटेरेर एकलौटी हिसाबले चलिरहेको पात्रका रुपमा जनताले चिनिरहेको अवस्था छ । उहाँले गठबन्धनको उम्मेदवारलाई जिताउने भन्दा पनि हराउने भन्ने शंकल्प बोकेको जस्तो भान भएको छ ।

भनेपछि उहाँ बागी उम्मेदवारको रुपमा रहनुभएकोले अरु पार्टीका व्यक्तिहरुको साथ तपाईंले पाउनुभएको हो ?

पक्कै पनि हो । उहाँले गठबन्धनलाई धोका दिँदै हिँड्नु भएको कारण मलाई सबै पार्टीका साथीहरुबाट सहयोग प्राप्त भएको हो । सबै पार्टीका साथीहरुले मलाई फोनमार्फत हौसला माया र साथ दिइरहनुभएको छ । मैले सबैलाई मिलाएर लैजाने काम गरिरहेको छु । मेरो प्रतिबद्धता पनि यही हो ।

यहाँको मेयर जितेपछि के काम गर्ने योजना छ ?

सर्वप्रथम त त महालक्ष्मी नगरपालिकाको सबै काम आफ्नै भवनबाट सञ्चालन हुनुपर्छ । यसका लागि महालक्ष्मी नगरको भवन निर्माण सम्पन्न हुन जरुरी छ । खानेपनीको समस्याबाट छुटकारा दिलाउने कुरामा मेरो प्रतिबद्धता छ । यसका लागि विज्ञहरुको सरसल्लाह गरिरहेको छु । उहाँहरुको सल्लाह लिएर अघि बढ्ने योजना छ । शिक्षा, स्वास्थ्य कृषिको आधुनिकीकरण अर्को मुद्दा हो ।

ढल व्यवस्थापनका कुराहरुलाई जोड्ने कुरा पनि योजनामा समेटिएको कुरा छ । समग्र नगरको हित हुने योजना बनाएर अघि बढ्न सबै पार्टीका साथीहरु, विज्ञहरु, बुद्धिजीवीहरु, समाजसेवीहरु जस्ता दिग्गज व्यक्तिहरुसँग अन्तर्क्रिया गरेर नै धार्मिक क्षेत्रहरुको विकास, पर्यटनका क्षेत्रहरुको विकास, खेलकुदको स्तरोन्नति जस्ता विषयमा काम गर्ने योजना छ । सबैको सुझाव अनुसार काम गर्दा नै हाम्रो नगरको भविष्य उज्वल हुनेछ भन्ने मलाई विश्वास छ । यसमा सबैले अपनत्वको महसुस गर्नेछन् ।

अन्तिममा के भन्न चाहानुहुन्छ ?

तपाईंको घरदैलोमा विभिन्न उम्मेदवारले यसो गरिदिन्छु उसो गरिदिन्छु भनेर भनिराख्नु भएको होला । ढाँटेर छलेर काम लिने खालको उम्मेदवारलाई भोट नदिनुहोला । यो बेला तपाईंले व्यक्तिको स्वार्थमा परेर भोट हाल्नुहुँदैन । समग्र नगर र आफ्नो क्षेत्रमा काम गर्नसक्ने योग्य र सक्षम व्यक्तिालाई भोट दिनुहोला ।

यो बेलामा सही उम्मेदवार छानेको खण्डमा मात्र महालक्ष्मी नगरको हित हुन्छ भन्ने अपील गर्न चाहान्छु । दाजूभाइ, दिदीबहिनी, बुबा मुमा, जनजाति, दलित, उत्पीडित समुदाय, अल्पसंख्यक जति पनि महालक्ष्मी नगरमा बस्नुहुन्छ उहाँहरु सबैले योग्य व्यक्तिलाई भोट हाल्ने समय आएको छ । यसमा अब चुक्नुहुँदैन भन्न चाहान्छु ।