चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने–“अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताएका छन्।”


ADVERTISEMENT


चितवन क्षेत्र नं ३ को झनझनेमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले– निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताए। अहिलेसम्म भएका अस्थिर सरकारले देशको विकास गर्न नसकेको भन्दै उनले अब बन्ने स्थिर सरकारबाट मात्रै जनताको चाहना पूरा हुने बताए ।


ADVERTISEMENT

# # #


निर्वाचनपछि वामपन्थीको सरकार बन्न दुनियाको कुनै तागतले रोक्न नसक्ने उनको दाबी थियो । निर्वाचनको समयमा कांग्रेसका कार्यकर्ताले समेत आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्दै उनले भने– “केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर मात्र विकास सम्भव छ ।”

उनले निर्वाचन जितेर गएपछि चितवन देशकै नमूना बनाउने संकल्प गरे। एक वर्षमा जिल्लाका मुख्य सडक उच्चस्तरीय कालोपत्र गर्ने, पाँच वर्षभित्रमा सबै शाखा बाटोको चौंडा बनाई कालोपत्र गर्ने, नारायणी र राप्तीमा उच्चस्तरीय तटबन्ध र पर्खालसहितको मेसजालीको काम गरिने, माडी र भरतपुर रिङरोड निर्माण गर्ने उनले बताए ।

चितवनलाई पर्यटकीय दृष्टिले दोस्रो स्थानमा ल्याउनका लागि सौराहादेखि जगतपुर हुँदै गोलाघाटसम्म पर्यटन मार्ग बनाउनुपर्ने उनले बताए । चितवनको नवनिर्माण शुरु गर्ने र सिंगो चितवन बनाउने योजना आफूसँग रहेको बताउँदै उनले जिल्लालाई, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउने बताए ।

निर्वाचनको समयमा पैसा, रक्सी र मासुले निर्वाचन नजितिने भन्दै उहाँले निर्वाचन जित्न देश विकासका लागि खाका हुनु आवश्यक रहेको बताए । जिल्लामा देखिएको सुकुम्बासी, दलित र अल्पसंख्यकको समस्या समाधानका लागि अब बन्ने सरकारको पहिलो बैठकबाट समाधान गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गरे । रासस