काठमाडौँ– निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।


ADVERTISEMENT


निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन्।


ADVERTISEMENT

# # #


बिहिबार काठमाडौंमा आयोजित निर्वाचन र सामाजिक संजाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनमा आम मतदाताले आफ्नोे प्रतिनिधि आफैँ छान्न पाउने वातावरण बनाउन आफूहरू लागि परेको स्पष्ट पारे। निर्वाचन आयोगले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

आयोगका प्रवक्ता ढकालले निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सक्दो प्रयास भइरहेको बताए। उनले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न समाजका सबै क्षेत्रको उत्तिकै सहयोगको आवश्यकतामा जोड दिए। प्रवक्ता ढकालले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु आयोगका लागि मुख्य चुनौती भएको पनि स्मरण गराए।

आगामी मंसिर २१ गते दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ। पहिलो चरणको निर्वाचन गत आइतबार सम्पन्न भइसकेको छ।