तनहुँ – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका २७२ मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहितका सबै सामग्री पुगेको छ । जिल्लाका २९७ मतदान केन्द्रमध्ये २७२ मतदान केन्द्रमा मङ्गलबार रातिसम्म मतपत्र, मतपेटिकालगायत ६१ निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

बाँकी २५ मतदान केन्द्रमा आज मतपत्र, मतपेटिकालगायत सामग्री पठाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकामबाट नजिकै रहेका मतदान केन्द्रमा मात्रै सामग्री र कर्मचारी पुग्न बाँकी रहेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले व्यास नगरपालिकाका २१, ऋषिङ गाउँपालिकाका एक र म्याग्दे गाउँपालिकाका तीन मतदान केन्द्रमा मात्रै निर्वाचन सामग्री र कर्मचारी पुग्न बाँकी रहेको जानकारी दिए ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र उपलब्ध गराइएको छ भने जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिकालगायत ६१ सामग्री उपलब्ध गराइएको छ । निर्वाचन कार्यालयले भने २९७ मतदान केन्द्रका लागि नै सामग्री प्रदान गरिसकेको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा खटिने सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायत काम हुनेछन् ।

निर्वाचनमा खटिने एक हजार ४८५ मध्ये ८९१ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए।

जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गरिएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिएको छ । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ ।

तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।