रामपुर (पाल्पा) – आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता पनि उत्साहित हुँदै मतदान गर्न हौसिएका छन् ।स्थानीय तहमा नयाँ जनप्रतिनिधि रोज्ने पाँच वर्षको प्रतिक्षाको घडी आज समाप्त भएको छ । पहिलो निर्वाचन २०७४ पश्चात् गाउँमै स्थानीय सरकारको अनुभूति गर्न पाएका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा उत्साहित भएका हुन् ।


ADVERTISEMENT


मतदानस्थलमा बिहान ५ बजेदेखि नै मतदाता पुगेको देखिन्थ्यो । मतदानस्थल बाहिर लामबद्ध अवस्थामा रहेका मतदाता एक आपसमा आफूले रोजेको सक्षम उम्मेदवारलाई मतदान गर्ने विषयमा वार्तालाप गरिरहेका देखिन्थे । रामपुरस्थित रामतुलसी माविको मतदानस्थलमा मतदान गर्न पुगेकी ७२ वर्षीया पूर्णकला पौडेल आफ्नो गाउँ र ठाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गर्ने बताउँछिन् । उनी बिहान ५ः३० वजे नै मतदानस्थलमा पुगेकी हुन् ।


ADVERTISEMENT

# # #


पौडेल भन्छिन्, “स्थानीय सरकार जनताको सरकार भएकाले अन्य निर्वाचनभन्दा बेग्लै खालको रमाइलो भएको छ, आफूले चिने जानेका, छिमेकी उम्मेदवारलाई मतदान गर्न पाउँदा खुसी लागेको छ ।”

चर्को घाममा पाल्पाका मतदाता मतदान केन्द्रको बाहिर लाइनमा मतदानको व्यग्र प्रतिक्षामा बसिरहेका छन् । रामपुर नगरपालिकाअन्तर्गतका सबै मतदान केन्द्रमा शान्त र मर्यादितरुपमा मतदान भइरहेको सहायक मतदान अधिकृत रामहरि पाण्डेय बताउँछन्

पाँच वर्षअघि निर्वाचित स्थानीय सरकारलाई नागरिकले राम्रैसँग बुझेकाले यसपटक विकाशील उम्मेदवारलाई मतदान गर्ने पूर्णकला पौडेल बताउँछन् । “राम्रो उम्मेदवार चुन्ने अधिकार हामीलाई छ, निर्वाचनमा पार्टीगत होइन समाजको विकासका लागि योग्य व्यक्ति आवश्यक छ, गाउँमा विकास भयो भने हामी जनताले सुविधा लिन पाउँछौ” उनको भनाइ छ ।

स्थानीय सरकार जनताको नजिकको भएको र नागरिकले आफ्ना गुनासा सिधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हुँदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गर्ने मतदाता बताउँछन् । आधारभूत मावि मतदान केन्द्रमा मतदान गर्न पुगेकी सीता पोखरेल पनि जनताले सही व्यक्ति पहिचान गर्नसक्यो भने देशको मुहार बद्लिनेमा जोड दिन्छिन्।

“स्थानीय सरकारको मर्मत र भावना बुझेर समयमै सही व्यक्ति हामीले रोज्यौँ भने विकासले फड्को मार्नेछ, पार्टीभक्त भएर मत दिइयो भने जनताले विकासको अनुभूति गर्न पाउँदैनन्”, उनको भनाइ छ । स्थानीय निकायको निर्वाचन आफैँमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनको पहिलो समयावधि सकिएपछि दोस्रो समयावधिका लागि भएको निर्वाचनमा मतदाता सक्षम र योग्य उम्मेदवारका पक्षमा उभिएका छन् ।

निर्वाचनले जनप्रतिनिधि छान्ने, उनीहरुमार्फत गाउँस्तरमै सुशासन कायम हुने र विकासले गति लिने विश्वास गरिन्छ । सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकैले टाढाटाढा भएका मतदाता पनि मतदान गर्न आएका छन् । संविधानले नै असल नेतृत्व चयन गर्ने अधिकार दिएको छ । छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले सङ्घीय र प्रदेशको निर्वाचनको तुलनामा स्थानीय तहको निर्वाचनमा बढी चासो दिएका छन् । रासस