रुपन्देही – २५६३ औं बुद्धजयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदैछन् ।


ADVERTISEMENT


मोदी आउने भएपछि दुई वर्ष कोरोना महामारीले मनाउन नपाएको बुद्धजयन्तीका बेला लुम्बिनीलाई सफा, स्वच्छ, हराभरा र तुल ब्यानरले सिंगार्ने कार्यक्रम नै थियो । मोदी आउने भएपछि झनै चिटिक्क पारिएको छ ।


ADVERTISEMENT

# # #


छिमेकी देशका प्रधानमन्त्री मोदीलाई स्वागत गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेसहितको टोली लिएर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर देउवा सिधै लुम्बिनी पुगेर तयारीबारे जानकारी लिएका छन् ।

लुम्बिनीमा बुद्धपूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि भव्य तयारी गरिएको छ । देउवा आज लुम्बिनी बस्नेछन् भने भोलि बिहान ७ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवा आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्री भ्रमणको तयारी पूरा भएको लुम्बिनी बिकास कोषले जनाएको छ । अहिले लुम्बिनी भौतिक संरचना निर्माण र सजावटले सिंगारिएको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिंगारिएको छ ।

प्रधानमन्त्री देउवाको निम्तोमा मोदी यहाँ आउने भएपछि लुम्बिनीलाई सिगारिएको हो । लुम्बिनी गुरुयोजनाको भैरहवा तौलिहवा सडकखण्डअन्तर्गत एक किमी कालोपत्रे बाटोका दुईतर्फ नेपाल र भारत तथा नेपाल र बौद्ध धर्मावलम्बनीको झण्डा टाँगिएको छ ।

त्यस्तै पर्सा चौकदेखि महिलवारसम्म पनि पोलमा नेपाल, भारत र बौद्धधर्मावलम्वीको झण्डा टाँगिएको छ । मोदी र देउवाका लागि अन्तर्राष्ट्रिय सभा हलअघि कालोपत्रे बाटो र ९ नम्बर गेटअघि ठूला स्वागत द्वार बनाइएको छ ।

मोदी ९ नम्बर गेट हुँदै भारतले बनाउन लागेको बिहारसम्म पुग्ने बाटोपनि लोभलाग्दो बनाइएको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबिसी)मार्फत जर्मन स्तुपा उत्तर विहार बनाउन थालेको छ । गेटदेखि त्यहाँसम्म पुग्ने करिब ७ सय मिटर बाटो घुलो हिलोमुक्त बनाइएको छ ।

बिहारलाई नयाँ वाउण्ड्री वाल लगाएर घेरिएको छ । बिहारमा टेन्ट लगाइएको छ । सुरक्षाका लागि विहारमा प्रहरीले राखिएको छ । यो विहारको प्रधानमन्त्री मोदी र देउबाले संयुक्तरुपमा शिलन्यास गर्ने कार्यक्रम छ । उक्त बिहार एक अर्ब भारतीय रुपैयामा ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । कुल बजेटको १० प्रतिशत धरौटी र ५ प्रतिशत सेवा शुल्क आईबिसीले लुम्बिनी विकास कोषलाई बुझाइसकेको छ । ८० मिटर वाई ८० मिटर क्षेत्रफलको प्लट वर्तमान प्रधानमन्त्री देउवाले पर्यटन मन्त्रीको कार्यभार सम्हालेका बेला उनको अध्यक्षमा बसेको कोष बोर्ड बैठकले हालै निर्णय गरेर दिएको हो ।

मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाई गरेर चिटिक्क बनाइएको छ । बाटोबाटो सफा गरेर सुन्दर बनाइएको छ । मन्दिरलाई झिलीमिली बत्तीले ढाकिएको छ । पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । ठाउँ ठाउँमा बुद्ध वचन, बाणी र पंचशीलका नयाँ तुल व्यानार टाँसिएको छ । बाहिरी गेटमा स्वागत बनाइएको छ । मायादेवी मन्दिर उत्तरको सकुलरलेभीका दुई ठूलठूला पोखरी सफा गरेर पानी छाडिएको छ ।

आइतबार नै लुम्बिनीमा प्रधानमन्त्रीसहित मन्त्रीहरु, कूटनीतिक निकाय र नेपाल सरकारका उच्च अधिकारी पुगेका छन् । अतिथि व्यवस्थापनका लागि आवास, यातायात, प्रचारप्रसार, सुरक्षा, पूजापाठ र शान्ति ¥याली समिति बनाएर काम भइरहेको छ । बुद्धजयन्तीका लागि काठमाडौंबाट १ हजार १ सय भिक्षु, भिक्षुणी आइपुग्नेछन् ।

बुद्धस्थलको प्रवद्र्धन गर्न कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह समेटेर एउटा समन्वय समिति निर्माण गरिएकोे छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गरेका छन् । उनी आफ्नो गृहजिल्ला भएकाले निर्वाचनअघि देखि नै रुपन्देहीमा नै रहेका छन् ।

भारतीय प्रधानमन्त्रीलाई यहाँसम्म ल्याउने भारतीय वायुसेनाका हेलिकप्टरले आइतबार यहाँ निर्माण गरिएका हेलिप्याडमा परीक्षण उडान गरेका छन् । भारतीय वायुसेनाका दुई वटा एमआई १७ हेलिकप्टर विहान साढे १० बजे आएर लुम्बिनी आएर साढे १२ बजेतिर फर्किका थिए । प्रताप र प्रताप वान कल साइन भएका हेलिकप्टरमा आएका भारतीय सुरक्षा अधिकारीले परीक्षण उडान गरेका थिए । मोदी आउने भएपछि विकास कोषले दुई नम्बर गेट अगाडि चारवटा पक्की हेलीप्याड बनाएको हो । लुम्बिनीमा निर्माण भइरहेको सडक इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तर्गत हेलीप्याड बनाइएको हो । हेलीप्याड दुई सातामा तयार भएका हुन् ।

सुरुमा दुई वटा हेलिकप्टर पश्चिमतर्फको हेलीप्याडमा उत्रिएका थिए । मोदीसंग ४ वटा हेलिकप्टर आउने बताइएको छ ।

मोदी आगमनको क्रममा आज त्यसको पूर्वाभ्याससमेत गरिएको थियो । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका सेनापति प्रभुराम शर्मा पनि लुम्बिनी आइसकेका छन् ।

यसअघि नै भारतीय प्रधानमन्त्रीको सुरक्षामा खटिने स्पेशल प्रोटेक्सन गार्ड ९एसपिजी० को टोली लुम्बिनी आइपुगेको थियो । भोली बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४ वटा हेलिकप्टरमा लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ । लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर जानेछन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीका अनुसार मायादेवी मन्दिरमा मार्कर स्टोनमा फुल अर्पण गरी पूजा गर्ने, पुष्कर्णि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडि २ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मायादेवी मन्दिरमा रहेको बोधीबृक्षमा पानी हाल्ने आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

देउवा र मोदी तथा दुई पक्षका अधिकारीहरुबीच दुई पक्षीय मामिलामा छोटो छलफलमा सम्मलित भएपछि देउवाले मोदीको सम्मानमा दिवा भोज दिने कार्यक्रम छ । अनि मोदीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नेछन् । बिहान ६ बजे निर्धारित विमानस्थल उद्घानलगत्तै कुवेतको विमान सेवाले त्यहाँबाट यात्रु ओसार्ने छ ।