कपिलवस्तु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।


ADVERTISEMENT


वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न कपिलवस्तुको पकडी पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको छ । सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ । पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेको मञ्चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ ।मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा बम विस्फोटका घटना बढ्न थालेको छ । शुक्रबारमात्रै जिल्लाका विभिन्न तीन स्थानमा बम विस्फोट भएको थियो ।

जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिएका छन्। – रासस