भक्तपुर– मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा साना दललाई सकस परेको छ । मतदातादेखि सञ्चारमाध्यमले बेवास्ता गरेको र ठूला दलले गरेको आचारसंहिताविपरीतको प्रचारले सकस परेको साना दलका उम्मेदवारको गुनासो छ ।


ADVERTISEMENT


राष्ट्रिय जनमोर्चा नेपालबाट क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार शिवहरि खनालले साना दललाई प्रचारप्रचारमा निकै समस्या परेको बताउँदै पार्टी अस्तित्व जोगाउनका लागि उम्मेदवारी दिएको बताए । निर्वाचनमा साना दलले ठूला दलको दाँजोमा पैसा खर्च नसक्दा प्रचारमा पछाडि परेको उनको भनाइ छ । सञ्चारकर्मीसमेत ठूला दलका पछि लाग्दा साना दलको चुनावी कार्यक्रम ओझेलमा परेको खनालको भनाइ छ ।


ADVERTISEMENT

# # #


विवेकशिल साझा पार्टीबाट क्षेत्र नं २ प्रदेश (ख) मा उम्मेदवारी दिएका कालीचरण कार्कीले ठूला दलले आचारसंहिता उल्लंघन गरेर प्रचार गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको बताए । उनले भने, “ठूला र पैसा हुनेले यहाँ जे गर्दा पनि हुँदोरहेछ, आचारसंहिता उल्लंघन गरेर प्रचार गर्दा पनि कारबाही हुँदैन, हामी साना दललाई प्रचारमा समेत समस्या परेको छ ।”

विवेशशिल साझा पार्टीकै क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार शशिविक्रम कार्कीले ठूला दलले पैसा खर्च गरेर तडकभडकको प्रचार गरे पनि आफ्नो पार्टीले साइकल चढेर प्रचार गरेको बताए ।

संघीय समाजवादी फोरमका क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णबहादुर घजुःले साना दलका घोषणापत्र राम्रो भए पनि प्रचारमा कठिनाइ आएको बताए । उनले ठूला दलले आचारसंहिताविपरीत बजारभरि पोष्टरदेखि तुल र ब्यानरसहित प्रचार गर्दैआएको बताए ।

एकीकृत राष्ट्रिय जनता पार्टीकी क्षेत्र नं २ प्रदेशसभा ‘ख’ उम्मेदवार दुर्गा खत्रीले साना दललाई प्रचारप्रसारमा कठिनाइ भएको बताए । पार्टीको अस्तित्व समाप्त नहोस् भनेर चुनाव लडेको उनको भनाइ छ ।

साना दलका उम्मेदवार हुन वा स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रचार प्रभावकारी ढंगले गर्न नसक्दा मतदातामाझ पछाडि परेको बताएका छन् । कतिपय स्वतन्त्र उम्मेदवारले लहलहैमा उम्मेदवारी दिए पनि प्रचारप्रसार गर्न नसक्दा चुनावबाटै अत्याश लागेको बताएका छन् ।

भक्तपुरमा विशेषगरी लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र नेमकिपाले व्यापकरुपमा घरदैलो, आमसभादेखि विभिन्न प्रक्रियाबाट प्रचारप्रसार तीव्र पारे पनि साना दल र स्वतन्त्र उम्मेदवारले भने प्रचारप्रसार गर्न र आफ्ना चुनावी घोषणापत्र जनतामाझ प्रभावकारीरुपमा लैजान नसक्दा पछाडि परेका छन् ।