काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दुबै गठबन्धनका उम्मेदवार तटस्थ मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो र चुनावी सभामा सक्रिय छन् ।


ADVERTISEMENT


वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रामवीर मानन्धर, प्रदेश क मा वसन्त मानन्धर र प्रदेश ख मा प्रकाश श्रेष्ठ रहेका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि राप्रपाका केन्द्रीय सदस्य विक्रमबहादुर थापा चुनावी मैदानमा रहेका छन् । उनी महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीमा पनि हुन् । प्रदेशसभाका दुबै उम्मेदवारमा नेपाली काँग्रेसका तर्फबाट क्रमशः विजयबहादुर माली र धर्मराज अर्याल रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभामा विभिन्न दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दिएका छन् । कम्युनिष्ट आन्दोलनका विशिष्ट नेता निर्मल लामाको सपना साकार पार्न भन्दै उनका छोरा निमा फिन्जो लामाले कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएपछि यस निर्वाचन क्षेत्रको चुनावी माहोलमा रौनकता थपिएको छ । सोही क्षेत्रमा विसं २०७० बाट निवार्चित भएका मानन्धर जनतामा भिजेका नेता हुन् ।

उम्मेदवारहरुले मतदातालाई विभिन्न अवसर उपलब्ध गराउने आश्वासन दिने मात्र हैन खानेपानी, ढल व्यवस्थापनजस्ता स्थानीय पूर्वाधार विकास विषयलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।

काठमाडौँ महानगरपालिका १६, १७, १८ र २५ वडा, तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा तथा नागार्जुन नगरपालिकाका १,२ र ३ वडा यस क्षेत्रमा कायम गरिएको छ । यहाँ ५७ हजार ५८८ मतदाता रहेका छन ।

ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उपलब्ध गराउने प्रतिवद्धता पनि उम्मेदवारहरुले जनाइरहेका छन् । यहाँ यिनै भूकम्पपीडित जनता निर्णायक हुन सक्ने भएकाले नेताहरु उनीहरुको विश्वास जित्न लागिपरेका छन् ।

उम्मेदवारले तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्न हरियाली पार्क, खेल मैदान निर्माण, स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्म ढलान, आठ माइल डाँडागाउँलाई पर्यटकीय स्थल बनाउने लगायतका प्रतिवद्धता जनाइरहेका छन् ।

निर्वाचनमा मतदातालाई फकाउने र विजय भएपछि फर्केर नआउने उम्मेदवारको विकल्प खोज्न यहाँका मतदाता लागिपरेका छन् । स्थानीय तहका १० वडामध्ये छवटामा नेकपा एमाले र बाँकीमा नेपाली काँग्रेस विजय भएको थियो र यो निर्वाचनको मत परिणाम पनि यही समीकरणले निर्धारण गर्ने अनुमान कतिपयको छ ।

महानगरपालिकाभित्र नेवार समुदायको बढी घनत्व रहेको छ । दुबैतर्फका उम्मेदवार जातीय मत आफूतिर तान्ने होडमा लागेको देखिन्छ । कृष्णराज गौतम/रासस