काठमाडौं – राजनीतिमा युवाको वितृष्णा देखिए पनि बागलुङमा धेरै युवाहरु सक्रिय राजनीतिमा छन् । उनीहरु राजनीतिबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिकाको नेतृत्व तहसम्म पुगेका छन् ।केही महिनाअघि सम्पन्न नेपाली कांग्रेस, नेकपा र नेकपा माओवादी केन्द्रको महाधिवेशनले पनि राजनीतिमा युवाको आकर्षण बढाएको र त्यसलगत्तै भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा युवाहरु नै पालिकाको नेतृत्व तहमा पुगेका हुुन् ।


ADVERTISEMENT


स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लामा निर्वाचित धेरै युवामध्ये केही गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा केही नगरपालिकाको प्रमुख र उप्रमुखमा निर्वाचित भएका छन् । केही भने वडाध्यक्ष र वडा सदस्यमा पनि निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


बागलुङमा सबैभन्दा कम उमेरमा पालिकाको नेतृत्व तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले गरेका छन् । उनी लोकप्रिय भएपछि पुनः पालिकाको नेतृत्वमा दोहोरिएका हुन् । यसभन्दा अगाडि पनि अध्यक्ष बनेर पालिकाको नेतृत्व सम्भाल्नुभएका बुढामगर अहिले ३५ वर्ष पुगे  । यसभन्दा अगाडिको निर्वाचनमा निर्वाचित बुढामगरले युवा जोस र जागरका साथ विकट तमानखोलालाई विकासको गतिमा अगाडि बढाउँदै आएका थिए ।

पालिका उपप्रमुखमध्ये सबैभन्दा कान्छो उपप्रमुख ढोरपाटन नगरपालिकाका नवनिर्वाचित उपप्रमुख धनबहादुर कायत (कल्याण) छन् । उनी ३३ वर्षमै नगरउपप्रमुख भए  । केही महिना अगाडि भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट ढोरपाटन नगरपालिकाको सभापतिमा निर्वाचित कायत विद्यार्थी कालदेखिनै राजनीतिमा होमिएका थिए । उनी पहिचान विहीन समुदायको पहिलो पालिका नेतृत्वमा पुग्ने युवा हुन् ।

चालिस वर्ष मुनिका पालिका प्रमुख तथा उपप्रमुख बागलुङमा धेरै नै छन् । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा पनि युवा नेतृत्वमै पर्नुहुन्छ । यसभन्दा अगाडि पनि गाउँपालिकाको अध्यक्ष भएर नेतृत्व गरेका उनी अहिले ३८ वर्ष भए । शर्मा पनि बरेङ गाउँपालिकाको विकासमा निरन्तर लाग्नुभएका कारण पालिका नेतृत्वमा दोहोरिएका हुन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बडिगाड गाउँपालिकाका उपप्रमुख भिमशेन वन र तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्याल पनि युवा हुन् । उनीहरु ३८ वर्ष पुगे। जिल्लाकै एक मात्र महिला पालिका प्रमुखमा निर्वाचित हुनुभएका बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी ४१ वर्षको छन् । उनी यसअघिको निर्वाचनमा पराजित भएका थिए । बागलुङ नगरपालिकाको उपप्रमुखमा निर्वाचित राजु खड्का पनि युवा नै हुन् । पालिका प्रमुख मात्रै हैन ८५ वटा वडा रहेका बागलुङमा अधिकांश वडाध्यक्ष युवा नै निर्वाचित भएका छन् ।

गलकोट नगरपालिका–५ का वडाध्यक्ष पवन हमाल जिल्लामै सबैभन्दा कान्छो वडाध्यक्षमा पर्छन् । उनी २७ को उमेरमा वडा अध्यक्षमा निर्वाचित भए । जिल्लामा ३० वर्षभन्दा माथि र ४० वर्ष मुनिका जनप्रतिनिधि धेरै छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बुढापाको अनुभव र सुझावलाई आत्मसाथ गर्न सके विकास गर्न सकिने अनभुव सुनाउँछन्। अघिल्लो कार्यकालमा बुढापाका र पूर्वजनप्रतिनिधिहरुको सल्लाह सुझाव र समन्वयमा विकासका गतिविधिलाई चुस्त बनाइएको र यो कार्यकालमा पनि त्यसरी नै अगाडि बढ्ने अध्यक्ष बढामगर बताउँछन् ।

युवा जोसले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने र उनीहरुमा नयाँ र पृथक योजना हुने उनको भनाइ छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा पनि पाका पुस्ताको प्रेरणाबाट युवाले परिवर्तन ल्याउन सक्ने बताउँदै बुढापाकामा धेरै ज्ञान हुने र उनीहरुबाट सिकेका कुरा व्यवहारमा लागू गर्न सके समाज रुपमान्तरमा टेवा मिल्ने बताउँछन् । यस अगाडिको कार्यकालमा उनीहरुसँग सुझाव लिएर विकास निर्माणमा जुटेकाका कारण आफू सफलतातर्फ अगाडी बढेको उनको भनाइ छ । रासस