कैलाली – कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ । यसै वर्षदेखि अस्पताल सञ्चालन गर्न लागिएको छ। सरकारले एक दशकअघि गेटा मेडिकल कलेज खोल्ने निर्णय गरेको थियो।


ADVERTISEMENT


गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भइसकेको छ। यसै वर्षदेखि अस्पताल सञ्चालन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकेको देउवाको सचिवालयले जनाएको छ।


ADVERTISEMENT

# # #


यसअघि गत चैतमा स्वास्थ्य सचिव रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक प्रमोद जोशी र शिक्षा, अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको विज्ञ समिति गठन भई स्थलतगत निरीक्षण पनि गरिएको थियो।

त्यसपछि स्वास्थ्य मन्त्रालयले तीन सय शैय्याको अस्पताल तत्काल सञ्चालन गर्न सकिने बताएको थियो। मेडिकल कलेज संचालनका लागि कम्तिमा ३ सय शय्याको अस्पताल ३ वर्षसम्म संचालन भएको हुनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल संचालन गर्ने तयारी छ।

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण गरिएको हो। सरकारले गेटा अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयका एघारौं तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना पनि गरेको छ।

आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय भएको छ। स्थानीय चुनावले कार्यकारी निर्देशक नियुक्त लगायतका प्रक्रिया रोकिए पनि अब केही सातामै कर्मचारी नियुक्ती गरेर अस्पताल संचालन हुने तयारी छ।

यसैबीच कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले गेटामा छिट्टै अस्पताल सञ्चालन हुने भएकोले अनावश्यक रूपमा आन्दोलनलगायत कार्यक्रम नगर्न आग्रह गरेकी छन्। एक भिडिओ सन्देश जारी गर्दै उनले गेटामा अस्पताल सञ्चालन गरेपछि मात्रै मेडिकल कलेज सञ्चालनमा आउने पनि बताएकी छन्।