धनगढी – सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन (बजेट अधिवेशन) प्रदेशसभा भवन धनगढीमा आज सुरु भएको छ ।


ADVERTISEMENT


अधिवेशनको पहिलो दिन आजको बैठकमा विशेष समय लिएर प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेस गरे । मन्त्री रावलले नागरिकको सुशासन विकास र समृद्धिको आकाङ्क्षालई पूरा गर्ने ध्येयले आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रममा सिद्धान्त र प्राथमिकता पेस गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उत्पादन एवं उत्पादकत्व अभिवृद्धि, पूर्वाधार निर्माण र सामाजिक विकासलाई ‘आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम प्रदेश’ निर्माणको आधार मानी बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको छ । उपलब्ध स्रोत साधन, पूँजी र प्रविधि परिचालन गरी उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र रोजगारी सिर्जनाका माध्यमबाट समृद्धि हासिल गर्ने ध्येयका साथ आगामी वर्षको बजेट तर्जुमा गर्न लागिएको मन्त्री रावलले जानकारी दिए ।

विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमले कृषि तथा पशुपन्छी क्षेत्रको विकासलाई प्राथमिकता दिइने भएको छ । यस्तै निजी क्षेत्रको समेत सहभागितामा पर्यटकीय गन्तव्यहरुको पहिचान, संरक्षण प्रवर्द्धन र विकास, सडक, पुल, खानेपानी, सरसफाइ, सिँचाइ, ऊर्जा, सहरी विकास जस्ता पूर्वाधार निर्माणका साथै स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिइने भएको छ ।

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट दसौँ अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउँदै अधिवेशनलाई मर्यादित रुपमा सञ्चालन गर्नमा प्रदेशसभाका सदस्यको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

बैठकमा विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका अम्बिकुमारी थापा, नेकपा (एकीकृत समाजवादी)का दुर्गाकुमारी कामी, नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावल र प्रतिपक्ष नेकपा (एमाले)का पठानसिंह बोहरा, राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका मालामतीकुमारी रानाथारूले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।