काठमाण्डौं-कीर्तिपुरको नयाँबाटो–तीनकुने सडक खण्डको मर्मत सुरु गरिएको छ।


ADVERTISEMENT


कीर्तिपुरको मुख्य प्रवेशद्वारको रुपमा रहेको यो सडक निर्माण सकिएको हप्तामै पिच उप्किएपछि सडक विभागले प्राविधिक अध्ययन थालेको थियो। अध्ययनले जमीनमुनिबाट पानी आएकाले ठाउँ ठाउँमा पिच उप्किएको देखाएपछि मर्मत थालिएको डिभिजन सडक कार्यालय काठमाडौं– २ का निर्देशक देवकुमार तामाङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘भौगर्भिक तथा अन्य प्राकृतिक वा निर्माण व्यवसायीको लापरबाहीको कारणले भत्किएको हो भनेर अध्ययन गरेका थियौं,’ तामाङले भने, ‘ठेकेदारले पिचको थिकनेस, विटुमिन समिश्रण लगायतका कुरामा तलमाथि नगरेको बरू जमीनमुनिबाट पानी आउने भएकाले पिच उप्किएको रहेछ। अब नउप्किनेगरि मर्मत गर्छौं ।’

विभागले सडकका पाँच ठाउँमा ड्रिल गरेर माटो र पानीको अवस्थाबारे अध्ययन गरेको थियो । विभागका अधिकारीहरुले भने जमिन मुनिबाट पानी आएर पिच भत्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका थिए । ‘भिरालो जमीन भएकाले मुनिबाट पानी निस्केला भन्ने सुरुमा इन्जिनियरको ध्यानै गएन,’ तामाङले भने ।

एक हजार तीन सय मिटर लामो यो सडक करिब एकवर्षसम्म सवारी आवतजावत बन्द गरेर ९ करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको थियो । तर उक्त सडक पिच सम्पन्न भएर सवारी चलेको रातिबाट नै ठाउँठाउँमा भत्किएको थियो । त्यसको केही समयपछि सडक खण्डमा अधिकांश स्थानमा पिच भत्किएको थियो ।

मर्मतपछि कालोपत्रे गर्न भने समय लाग्न सक्ने तामाङले बताए । ‘तापक्रम धेरै नै घट्यो भने फागुनअघि पिच गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘हामी सकभर मंसिरभित्रै कालोपत्रे गर्नेगरी काम गरिरहेका छौं ।’