काठमाडौं – नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्त संस्थाहरू खारेजीको मागसहित गुल्मीका मनिराम ज्ञवालीको नेतृत्वमा रहेको लघुवित्तविरुद्धको संघर्स समितिले लघुवित्तमाथि आधारहीन आरोप लगाएको बताएको छ । ज्ञवालीले नेतृत्व गरेको संर्घस समितिले विभिन्न पाँच बुँदे मागहरूसहित अभियान चलाइरहेको छ ।


ADVERTISEMENT


उनले नवसामन्तीको रूपमा स्थापित लघुवित्त खारेज गर्नुपर्ने, लघुवित्त संस्थाहरूले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई निस्शुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर्नुपर्ने तथा समाजवादी अर्थतन्त्रको विकास गर भन्ने मागसहित अभियान चलाइरहेका छन् ।


ADVERTISEMENT

# # #


केही दिन अगाडि एक टेलिभिजनमार्फत ज्ञवालीसहित तीनजना महिलाहरूले लघुवित्तमाथि चर्को ब्याज असुलेको र लाखौँ महिलालाई ऋणको दलदलमा फसाएको आरोप लगाएका थिए ।

सोमबार लघुवित्त संस्थाहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छ । “झुठा र कपोलकल्पित घटना बनाई समग्र लघुवित्त वित्तीय संस्थाहरूलाई लगाइएका सम्पूर्ण आरोपहरूप्रति यस संघ खेद प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “कपोलकल्पित रूपमा भनिएका घटनाहरू र लगाइएका सम्पूर्ण आरोपहरूको सत्यतथ्य पत्ता लगाउन सरोकारवाला निकायहरूसँग जोडदार माग समेत गर्दछ ।”

लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नामको अवैधानिक संगठनको आडमा केही व्यक्तिहरूले लघुवित्तका समग्र ग्राहलाई उक्त समितिको सदस्यता प्रदान गर्ने भनी अवैधानिक तवरले रकम असुल गर्ने गरेकोसमेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“राज्यको कानूनसम्मत वैधानिक तवरले स्थापित भई चलिरहेका वित्तीय संस्थाहरूजस्ता अत्यावश्यक सेवा तथा अति संवेदनशील क्षेत्रलाई खारेज गर भन्ने, जनताबाटै संकलित रकमबाट सञ्चालित लघुवित्त वित्तीय संस्थाहरूबाट प्रदान गरिएका ऋणहरू मिनाह गर भन्ने लगायतका गैर जिम्मेवारपूर्ण अभिव्यक्ति तथा क्रियाकलापहरू गर्दै आइरहेको देखिएको छ ।”

विज्ञप्तिमा भनिएको छ, “उक्त विषयहरू तथा गतिविधिहरू राज्यको प्रचलित नियम तथा कानुनहरूको ठाडो उल्लघंन तथा विपरीत देखिएकाले यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र कानुनको दायरमा ल्याउनसमेत राज्यका सम्बन्धित निकायहरूलाई यस संघ विनम्र आग्रह गर्दछ ।”

उक्त टेलिभिजन कार्यक्रममा देखिएकी लघुवित्त वित्तीय संस्था संघर्स समितिका समस्यको रूपमा परिचय दिने एलिमा खातुन, विष्णुमाया बुढाथोकीले एक भन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिएको पाइएको छ ।

लघुवित्त संस्थाहरूको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै यस क्षेत्रलाई बदनाम गर्ने र वित्तीय पहुँचमा वाधा पुर्‍याउने उद्देश्यले केही निहीत स्वार्थ भएका व्यक्तिहरूले विभिन्न माध्यमवाट समग्र लघुवित्त वित्तीय संस्थाहरूप्रति लगाएको आरोपहरू भ्रामकमात्रै भएको संघका अध्यक्षसमेत रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।