काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीहरु फेरिने कुराले नयाँ मोड लिएको छ । यसअघि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीबाट मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरिएको थियो ।


ADVERTISEMENT


तर, गठबन्धन र एकीकृत समाजवादीमा नै नेताहरुबीच कुरा नमिल्दा यो कार्यान्वयनमा जान सकेन । अर्कोतिर, नेकपा एकीकृत समाजवादीका नेताहरुले मन्त्रीहरु छिटै फेरिने दाबी गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले बिहीबार दिउँसोसम्म मन्त्रीहरु फेरिने र नयाँ मन्त्रीहरुले सपथ लिने दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


अर्कोतिर, नेकपा माओवादी केन्द्रले पनि सरकारमा रहेका आफ्ना मन्त्रीहरु फेर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रकै नेता वर्षमान पुनले बताएका छन् ।

उनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठेको र यसको गृहकार्यसमेत सुरु भएको दाबी गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रमा पनि यस्तो निर्णय हुन लागेको बताएका हुन् ।

‘पार्टीमा मन्त्री फेर्नेबारे कुनै छलफल भएको छैन,’ उनले भनेका छन्, ‘तर, समाजवादीले पूरै सेट फेर्ने भएपछि हाम्रोमा पनि दाबब आएको छ ।’ उनले कांग्रेस र सत्ता साझेदार जसपामा पनि यो दबाब भएको बताएका छन् । ‘तर, यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन,’ उनले भनेका छन्, ‘हाम्रो अझै छलफल सुरु भएको छैन, अहिले आवाज उठिरहेको छ ।’

संसद भवनमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै वर्षमान पुनले यस्तो बताएका हुन् । नेकपा माओवादी केन्द्रकै अर्का एक नेताले फरकधारसँग भने पार्टीमा छलफल प्रारम्भ भएको र अहिलेका मन्त्रीहरुको पर्फमेन्स राम्रो नभएकाले मन्त्री फेरिने कुरा ठूलो विषय नहुने बताएका छन् ।

‘तर, सरकारमा मन्त्री फेर्ने या नफेर्ने भन्ने विषयमा एउटा पार्टीले मात्र निर्णय गरेर पनि हुँदैन,’ उनले भने, ‘यसमा गठबन्धनमा रहेका शीर्ष नेताहरुले छलफल गरेर निष्कर्ष निकाल्नुहुन्छ ।’