मोरङ– नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले अब मुलुकमा पचास वर्ष वामपन्थीहरुले शासन गर्ने दाबी गरेका छन् । मोरङ क्षेत्र नम्बर ३ को पथरी शनिश्चरेमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै नेता भट्टराईले देश राजनीतिका दुई कुशल खेलाडीको हातमा परेको भन्दै वामपन्थीहरुले अब पचास बर्ष शासन गर्ने दावि गरे । ‘केपी ओली एउटै खेलाडी हुँदा त कांग्रेसलाई गोल लगाउँदै आउनुभएको थियो’ भट्टराईले भने ‘अहिले प्रचण्ड र ओली भएपछि कांग्रेसको किपरले गोल आएको समेत देख्न पाउने छैनन् ।’


ADVERTISEMENT

# # #


भट्टराईले भने ‘प्रचण्ड कमका खेलाडी होइनन्, हामी यतिबेला केपी ओली र प्रचण्डको क्याप्टेनसीपमा वाम गठबन्धनमा आवद्ध छौ, चाँडै पार्टी एकता हुन्छ ।’ फुटबल खेललाई राजनीतिसँग तुलना गर्दै उनले प्रचण्ड र ओली अर्जेन्टिना, ब्राजिलमा जन्मेको भए मेसी र रोनाल्डोको जन्म नहुने तर्क गरे ।

मोरङ ३ बाट वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल उमेद्वार रहेका छन् । योगेश भट्टराई एमाले अखिलको केन्द्रीय अध्यक्ष हुँदा ढकाल महासचिव थिए । भट्टराईले वाम गठबन्धनलाई जिताउन ताप्लेजुङ्गबाट पाथीभारादेवीको आशिर्वाद लिएर मोरङ आएको बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उमेद्वार भानुभक्त ढकाल, प्रदेशसभा सदस्यका उमेद्वार गीता तिम्सिना लगायतले बोलेका थिए ।