काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले ६ महिनाका लागि पठाएका चार मन्त्रीलाई आठौँ महिनामा फिर्ता गराई अरु चार जनाको नाम सिफारिस गरेको छ । हटाइन लागेका मन्त्रीहरूले विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलमा आफूहरूको उपस्थिति अनिवार्य हुनुपर्ने दाबी गरेका थिए ।


ADVERTISEMENT


०७९-८० को मन्त्रालयगत विनियोजनमा जेठको २७ र २८ गते मन्त्रीहरूले जवाफ दिने क्रम सकिन्छ । त्यसपछि विनियोजनसहित राष्ट्र ऋण उठाउने र करसम्बन्धी विधेयकमाथि मतदान हुन्छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि त्यो राष्ट्रियसभामा जान्छ र त्यहाँबाट पनि पारित हुनासाथ यसको काम सकिन्छ । यो काम भनेको ढिलोमा पनि असार ३–४ गतेसम्मको हो ।

तर, ‘हट्न लागेका मन्त्री’ भन्ने भएपछि कर्मचारीको व्यवहारमा सोमबारदेखि निकै फरकपना आएको बताइन्छ । विनियोजन विधेयक पारित भएपछि नागरिकता विधेयकमाथि छलफल हुन्छ । र, ढिलोमा पनि असारको १० गतेभित्र सरकारले संसदको अधिवेशन अन्त्य गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी भइरहेको छ ।

एकीकृत समाजवादीका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णबहादुर श्रेष्ठ (किसान) त हटाइँदै छन् नै, त्यसपछि कांग्रेस, माओवादी र जसपाले पनि मन्त्रीहरू हेरफेर गर्ने सम्भावना छ भनिन्छ ।

स्रोतका अनुसार, प्रतिनिधिसभामा बजेटमाथि २९ गते आइतबार नै मतदान भयो भने ३० गते नयाँ मन्त्रीको शपथ हुने सम्भावना छ । किनभने, बजेट पारित हुने वा नहुने कुराको सबभन्दा बढी खतरा प्रतिनिधिसभामा हुन्छ ।

हटाइएका मन्त्रीले दल त्यागे वा अनुपस्थित नै भए भने पनि विधेयकमाथिको मत विभाजन प्रभावित हुन्छ । कथंकदाचित बहुमत पुगेन भने सरकारको वैधानिकतामाथि नैतिक प्रश्न खडा हुन्छ । त्यसैले प्रतिनिधिसभाबाट गरिनुपर्ने काम सिध्याएलगत्तै पुराना मन्त्री जाने र नयाँ मन्त्री आउने गरी तयारी भएको स्रोतको दावी छ ।

अर्कातिर, अहिले जारी संसदको वर्षे अधिवेशनका प्रमुख कार्यभार सम्पन्न भएपछि यो अधिवेशन अन्त्य हुन्छ । र, त्यसपछि बस्नुपर्ने हिउँदे अधिवेशनअगावै प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तोकिँदै छ ।

यदि बीचमा कुनै कारण देखाउँदै २० प्रतिशत सांसदले समावेदनमार्फत संसदको विशेष अधिवेशन माग गरेनन् भने ०७४ मंसिरमा निर्वाचित प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल यही वर्षे अधिवेशनबाट समाप्त हुने भएको छ । भनिन्छ, प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिम वा मंसिर पहिलो साताभित्रै निर्वाचन गराउन चाहन्छन् ।

घटनाक्रम फरक ढंगले विकास भई कम्युनिष्टहरू मिल्ने स्थितिमा पुगे भने नेपाली कांग्रेसले त्यसबाट सबभन्दा बढी पीडा सामना गर्नुपर्ने कारण उनी अहिलेकै पाँच दलीय गठबन्धनलाई लिएर निर्वाचनमा जानका लागि हतारिएको छ । त्यसका लागि असार महिनाभित्रै पाँच दलका बीचमा प्रतिनिधिसभा र प्रदेशसभाका सीट बाँडफाँड गर्ने गरी कार्यदल गठन गरिएको छ ।

उक्त कार्यदलमा एकीकृत समाजवादीका तर्फबाट तोकिएका उपमहासचिव डा विजय पौडेल हृदयघातका कारण अस्पताल भर्ना हुनाले त्यसले काम शुरु गर्न सकेको छैन । सम्भवतः बजेट पारित भएलगत्तै काम शुरु हुने भएको छ ।