चितवन – पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् ।


ADVERTISEMENT


केही समयअघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै किशोरीले वैदिक कर्म गरेर शिलान्यासको शुभारम्भ गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए। वैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद्भागवत ज्ञान महायज्ञ हो । यिनै किशोरीले देशका विभिन्न २० यस्ता यज्ञ गरिसकेका छन् । अन्य सबै खालका अनुष्ठान र कर्ममा यी किशोरीले काम गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


आश्रममा पाँच वर्षदेखि १९ वर्षसम्मका किशोरी छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । लोककल्याण सेवा प्रतिष्ठानले भरतपुर महानगरपालिका–१ देवघाटमा आश्रम सञ्चालन गरेको छ । आश्रमका अध्यक्ष सावित्री टण्डनको भनाइमा त्यहाँ पाँच किशोरी महायज्ञसम्मका कर्म गर्न सक्षम भएका छन् । वैष्णवी, स्मृति, राधिका, तुलसा र सुनिता यी कर्म गर्न सक्ने भएका हुन् । उनीहरुको नामको पछाडि लोककल्याणकारी राखिएको छ ।

बेसाहारा बनेका किशोरीलाई आश्रममा ल्याएर शिक्षादीक्षासँगै हुर्काइएको हो । उनीहरुलाई दिनको समयमा नजिकै रहेको सीताराम संस्कृत माविमा पढाइदै आएको छ । एक जना छोरी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै आएकी छिन् ।

अध्यक्ष टण्डनले दिनको समयमा विद्यालय र कलेज जाने किशोरीले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत पुराण, श्रीमद्देवी भागवतलगायतका धार्मिक ग्रन्थ अध्ययन गर्ने गर्दछन् । उनीहरु बिहान र साँझको समयमा भजनकीर्तन, योग पनि गर्ने गर्दछन् । यसका अतिरिक्त दैनिक नित्य कर्ममा पनि उनीहरु सहभागी हुन्छन् ।

अध्यक्ष टण्डनले छोरीहरु धार्मिक अनुष्ठानमा नेतृत्वदायी सहभागी हुने गरेको बताइन् । उनीहरुले कर्म र अन्य अवस्थामा प्राप्त गरेका दान दक्षिणालाई सहकारीमा खाता खोलेर जम्मा गर्ने गरिएको छ । चितवन र छिमेकी जिल्लामा हुने कर्ममा किशोरी बोलाउने प्रचलन बढेको उनले बताए । त्यसो देशैभरिका धार्मिक कार्यक्रममा उनीहरु पुग्ने गरेका छन् ।

केही समयअघि बेलायतबाट आएका नेपाली एक परिवारले यहाँ विवाह गराउने पण्डित किशोरी नै खोजेपछि यहाँबाट काठमाडौँको सोल्टी होटलमा गएर यिनै किशोरीले विवाह गराएका थिए । महिला पण्डितको खोजी गर्दै त्यो परिवारले दुई वर्ष कुरेको अध्यक्ष टण्डनले जानकारी दिइन् । यस्ता विभिन्न कर्म गर्ने काममा किशोरी सक्रिय भएका छन् ।

विसं २०६७ मा आश्रम दर्ता भएको हो । सबै किशोरीको आमाको रुपमा रहेकी अध्यक्ष टण्डनले सडक बालबालिकाबाट कुटाइ खाएपछि यो आश्रमको जन्म भएको हो । त्यतिबेला तराईका एक दम्पती पशुपतिमा पूजाका लागि जाँदै गर्दा सडक बालबालिकालाई पैसा दिन खोज्दा सबै पैसा लुटेर लगेका थिए । लुटिएको पैसा फिर्ता गराउने मध्यस्थता गराएकी अध्यक्ष टण्डनलाई घर फर्किन लाग्दा तिनै सडक बालबालिकाले कुटपिट गरेका थिए ।

ती बालबालिकालाई सजाय दिनुभन्दा आश्रम खोलेर सही बाटोमा लैजानुपर्छ भनेर आफूले संस्था दर्ता गरी काम अघि बढाएको अध्यक्ष टण्डन बताउँछिन् । तीन जना बेसाहारा किशोरीबाट काठमाडौँबाट सुरु गरिएको यो अभियान एक वर्षपछि देवघाट ल्याईयो । अहिले यहाँको सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहयोगमा आश्रम चलिरहेको छ ।

संस्थाका महासचिव रामेश्वरप्रसाद खनालका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवनसहित विभिन्न दाताको सहयोगमा पक्की आवासीय भवन बन्दै छ । किशोरीका लागि दैनिक खाना खुवाउन २४८ ले आफ्ना विभिन्न कर्म पारेर दान गर्दै आएका छन् । उनीहरुको रकमबाट आधा खर्च धानिंदै आएको छ । केही रकम भरतपुर महानगरपालिकाले दिँदै आएको छ । मासिक रु दुई लाख हाराहारी खानालगायतको खर्च हुने गरेको छ ।

आश्रममा सामान्य भोजन गराउनका लागि दैनिक रु पाँच हजार १०० र विशेष भोजनका लागि रु आठ हजार ५०० दाताले उपलब्ध गराउँदै आएका छन् । आश्रममा आएपछि परिवारको पुनर्मिलन भएर ४३ जना किशोरी घर फर्किसकेका छन् । साँझ बिहान आश्रम पुग्ने जोकोही पनि ती किशोरी र तिनका कर्म देखेर प्रभावित हुने गरेको महासचिव खनाल बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहीन भएको प्रमाणित गरेर पठाएका किशोरीलाई आश्रममा राखिँदै आएको छ । रासस