काठमाडौँ– नेकपा (माओवादी केन्द्र) संसद्मा दर्ता भएका संविधान संशोधनका चारवटा विषयमध्ये सीमाङ्कनलाई थाती राखेर अन्य विषयलाई अगाडि बढाउने निष्कर्षमा पुगेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको माओवादी केन्द्रको कार्यालय बैठक उक्त निष्कर्षमा पुगेको हो । बैठकमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्या वृद्धि र राष्ट्रिय सभाका विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


निर्वाचनको वातावरण बनाउने विषयलाई सीमाङ्कनले नरोक्ने उनले बताइन् । उनका अनुसार बैठकमा असन्तुष्ट मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागी गराउन सरकारले गरेका सबै प्रयासका विषयमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्रीले बोआओ सम्मेलनलाई सम्बोधन गर्ने र बेइजिङमा राष्ट्रपति सि चिनफिङसँग औपचारिक बैठक गर्ने विषयमा पनि छलफल भएको थियो ।

भ्रमणका दौरान द्विपक्षीय सम्बन्ध सुदृढीकरणका साथसाथै वन वेल्ट वन रोड, रेल्वे, पेट्रोलियम भण्डारण, सीमापार आर्थिक क्षेत्र, भन्सार नाका एवम् प्रशारण लाइनका विषयमा द्विपक्षीय छलफल हुने माओवादी केन्द्रका प्रवक्ता भुसालले जानकारी दिइन्।

उनले भनिन्, “प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीचको आर्थिक तथा सामाजिक आदान–प्रदान गर्ने तथा सन्धि सम्झौता गर्ने तयारी भ्रमण हो । भ्रमण अवधिमा कुनै सम्झौता हुँदैन ।”