चितवन – निर्वाचनलाई लक्षित गरेर चितवनमा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।


ADVERTISEMENT


निर्वाचनलाई लक्षित गर्दै ३ हजार २ सय ९६ जनपथ प्रहरी र १ हजार ७ सय १० म्यादी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको हो ।


ADVERTISEMENT

# # #


एउटा मतदानस्थलमा कम्तिमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।

त्यसमा प्रहरीकै मोबाइल टोली, शसस्त्र र नेपाली सेनाको संयुक्त टोली समेत परिचालन गरिने एसपी थापाले बताए । उनले पर्याप्तमात्रामा सिभिल प्रहरी पनि खटिने जानकारी दिए ।

चितवनमा १६१ मतदानस्थल कायम गरिएको छ । ती मध्ये ५२ वटा मतदानस्थललाई अति संवेदनशील भएकोले उच्च सर्तकता अपनाइएको छ ।

भौगोलिक विकटता, अरु जिल्लासँग जोडिएका स्थान र विगतका अपराध भएका ठाँउका १ सय ९ मतदान केन्द्रलाई संवदेनशिलमा राखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहालसमेत चितवन क्षेत्र नं। ३ बाट उम्मेदवार रहेका कारणले सुरक्षा व्यवस्था बलियो पारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

यसैबीच, जिल्लाका १ सय ६६ वटै मतदानस्थलमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितको टोली पुगिसकेको जिल्ला निर्वाचन कार्यालय चितवनले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख हरिप्रसाद ढकालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार जिल्लामा निर्वाचन हुने १६६ मतदानस्थल र ४०८ मतदान केन्द्रमा कर्मचारीसहितको सुरक्षाकर्मीको टोली पुगिसकेका छन् ।

बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थल अधिकांश सरकारी विद्यालय छन् ।

१६६ मतदानस्थल मध्ये १५५ वटा सरकारी विद्यालयलाई नै मतदान गर्ने स्थान कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए । अन्य बाँकी स्थल भने स्थानीय तहका वडा कार्यालय, हेल्थपोष्ट र सार्वजनिक भवनहरु रहेका छन् ।

मतपत्र च्यात्नेलाई गणनामा ‘नो इन्ट्रि’  !

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यात्ने अभियोगीहरुलाई आसन्न निर्वाचनपछिको मतगणनामा समावेश नगराइने भएको छ । चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मतपत्र च्यात्नेहरु मतगणना बस्न नपाउने बताए ।

अभियोगीहरुको मुद्दा हेरिरहेकाले उनीहरुलाई साक्षी राखेर मतगणना प्रक्रिया अगाडि बढाउन नसकिने शर्माको भनाई छ ।

मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।

महिला मैत्री मतगणना

जिल्लाको मतगणना महिलामैत्री बनाइने भएको छ । मुख्य निर्वाचन अधिकृत शर्माले गणनाको प्रारम्भमा कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै राखिने जानकारी दिए । राजनीतिक दललाई पनि मतगणनामा महिलाहरु पठाउन आग्रह गरिएको उनको भनाई छ ।

महिला स्वभावतः शालीन हुने भएकाले मतगणना व्यवस्थित गर्नका लागि महिला राख्न लागिएको चर्चा गर्दै मुख्य निर्वाचन अधिकृत शर्माले आधा जनसंख्यामा रहेका महिलाले जिम्मेवारी पाएमा पूरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न पनि महिलालाई परिचालन गर्न लागिएको बताए ।

भरतपुरको चितवन माध्यमिक विद्यालयको तीनतले भवनमा एउटा तलामा एउटा क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटा कोठामा गणना गरिने व्यवस्था गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत शर्माले मंसिर २२ गते बिहानबाट मतगणना थालेर चार दिनमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।