काठमाडौं-निर्वाचन आयोगले बिहिबार दोस्रो चरणको मतदान सम्पन्न हुने बित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरू गर्ने जनाएको छ । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले बिहिबार अपरान्ह ५ बजे मतदान सकिनै बित्तिकै पहिलो चरणमा सम्पन्न ३२ जिल्लाको निर्वाचनको मतगणना सुरू हुने जानकारी दिएका हुन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सबै मतपेटिका संकलन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना सुरू गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको स्पष्ट पारे । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतगणना एकै समयमा सुरू गर्ने सकिने व्यवस्था मिलाएको छ । स्थानको अभाव भए उचित बन्दोबस्त गर्ने काम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको भएको निर्वाचन आयुक्त पौडेलले बताए ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक पार्टीका प्रतिनिधिलाई मतपत्र छुन नपाउने गरी व्यवस्था गरिने स्पष्ट पारेको छ । निर्वाचन आयुक्त पौडेलले मतगणना स्थलमा उच्च सुरक्षा सर्तकता अपनाइने बताए । निर्वाचन आयोगले ८ दिनभित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना बनाएको छ । आगामी बिहिबार दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत मंसिर १० गते सम्पन्न भइसकेको छ ।