काठमाडौं– पहिलो चरणमा निर्वाचन भएको सिन्धुपाल्चोकमा मतगणनाको तयारी तीव्र पारिएको छ ।


ADVERTISEMENT


३० घन्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी गणनाको तयारी तीव्र पारिएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए । उनका अनुसार बिहीबार साँझ ५ बजे बाकस खोलिनेछ । त्यसको लागि बुधबार दिउँसो २ बजे सर्वदलीय बैठक आह्वान गरिएको छ ।


ADVERTISEMENT

# # #


२ क्षेत्र रहेको सिन्धुपाल्चोकमा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट बहालवाला मन्त्री मोहन बस्नेत र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रभावशाली नेता अग्नी सापकोटा मैदानमा छन् भने क्षेत्र नम्बर दुईमा राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबरा र वाम गठबन्धनका तर्फबाट शेरबहादुर तामाङ प्रतिनिधिसभातर्फ मैदानमा छन् ।

सीसीटीभी र तारबारका बीच गणना

सुरूमा प्रतिनिधिसभातर्फको मत गनिने र ३० घन्टामै परिणाम ल्याइसक्ने योजना मुख्य निर्वाचन अधिकृतको रहेको छ । त्यस्तै, गणनास्थलमा सीसीटीभी जडान र तारजालीले घेरिने खनालले जानकारी दिए ।

“एक क्षेत्रमा दुई टोलीले गणना गर्नेछ । पहिलो टोलीले सर्टिङ गर्नेछ भने दोस्रो टोलीले गणना गर्नेछ । प्रतिनिधिसभाको परिणाम ३० घन्टाभित्रै सार्वजनिक गरिसक्छौँ,” उनले थपे ।
सञ्चारमाध्यमलाई सहज होस् भनेर मिडिया सेन्टरको स्थापना गरिएको छ भने घन्टा–घन्टामा माइकिङमार्फत मत परिणाम सार्वजनिक गरिनेछ ।

त्यस्तै, प्रदेशसभातर्फको भने दोस्रो चरणमा मत गनिने र १५ घन्टाभित्रै परिणाम घोषणा गरिने दाबी उनको छ ।

२ लाख २६ हजार मतदाता रहेको सिन्धुपाल्चोकमा १ लाख ५७ हजार मत खसेको खनालले जानकारी दिए । उनका अनुसार ६९ प्रतिशत मत खसेको छ ।