राजविराज– दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पक्राउ परेकामध्ये छ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ । अभियुक्तका साथबाट एक एक थान हतियार बम बरामद गरिएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिनाका साथै नेपाल–भारत सीमा नाका आजदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सप्तरी प्रशासनले भारतसँग सीमा जोडिएका कुनौली, बेल्ही भन्सार, कुशहा नाकालगायत नाका बन्द गरी सुरक्षा जाँच कडा पारिएको प्रजिअ भागीरथ पाण्डेयले जानकारी दिए ।

नाका बन्द भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनाका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि निर्वाचन हुने दिन बिहीबारसम्मका लागि ३६ घण्टा सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ ।

मतदातालाई ढुक्क भएर मतदान गर्न प्रजिअ पाण्डेले सबैलाई आग्रह गरे । जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका चार प्रतिनिधि र आठ वटै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त रुपमा जाँच गरिरहेको उनले बताए । अतिआवश्यक समस्यामा परेकालाई भने सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँचपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारसहित १५२ उम्मेदवार चुनावी मैदानमा छन् ।