काठमाडौ– प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको छ । गृह सचिव मोहन सापकोटाले बुधवार पत्रकार सम्मेलन गरि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए ।


ADVERTISEMENT


सापकोटाका अनुसार कुनै पनि घटना भयो भने १० देखि ३० मिनेटभित्र सुरक्षाकर्मी पुगिसक्नेछन् ।


ADVERTISEMENT

# # #


दोस्रो चरणमा ४५ जिल्लामा हुन लागेको निर्वाचनका लागि बिहीवार सार्वजनिक विदा दिइएको पनि गृह मन्त्रालयले जानकारी दिएको छ । बुधवार मध्यरात १२ बजेबाट बिहीवार निर्वाचन सकिएको दुई घन्टापछि अर्थात् साँझ ७ बजेसम्म सार्वजनिक सवारी र निजी सवारीसाधन समेत चलाउन पाइने छैन ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत् अति आवश्यक क्षेत्रका लागि भने सवारी अनुमतिपत्र जारी गरिसकेको छ । मन्त्रालयले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधवार मध्यरातसम्म गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी भने चल्न पाउने जनाएको छ । यस्तै अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्वुलेन्स, दमकल, खानेपानी, शवबाहन, दूरसञ्चार तथा दुध ढुवानी लगायतका सवारीसाधन चल्न पाउनेछन् । बिहीवार साँझ ७ बजेबाट भने अन्य सवारीसाधन चल्नेछन् ।