भैरहवा– लुम्बिनीमा निर्माण भएको ध्यानकेन्द्रमा बुद्धको आँखाको झल्को आउने गरी आँखाको चित्र निर्माण गरिएको छ । ध्यानकेन्द्रको छानामा बुद्धको आँखाको चित्र कोरिएको लुम्बिनी विकास कोषले जनाएको हो ।


ADVERTISEMENT


हेलिकप्टर र प्लाराग्लाइटिङमार्फत लुम्बिनी अवलोकन गर्न चाहने पर्यटकले उक्त आँखा अवलोकन गर्नसक्ने छन् । झन्डै रु ७२ करोडको लागतमा निर्माण हुँदै गरेको यो ध्यानकेन्द्रमा दुई हजार ५०० स्क्वार फुटको ठूलो बुद्धको शान्तिको प्रतिक आँखा निर्माण गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दक्षिण एसियाकै नमूना ध्यानकेन्द्रको रुपमा रहेको यो ध्यानकेन्द्रमा निर्माण गरिएको आँखा संसारकै ठूलो भएको बौद्ध धर्मालम्बीले जिकिर गरेका छन् । पाँच हजार जनाको क्षमता रहेको सो ध्यानकेन्द्रको छानामा बुद्धका आँखा निर्माणसँगै पर्यटकको आर्कषण बढने पर्यटन व्यवसायीको अपेक्षा रहेको छ । आधुनिक र प्रविधिमैत्री यो ध्यानकेन्द्र लुम्बिनी प्रदेशको आकर्षणको केन्द्र भएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजराज भट्टराईले बताए ।

बुद्धकालीन कला, संस्कृति र बुद्ध झल्किने आकृतिको वास्तुकलामा निर्माण गरिएको बुद्धका आँखाले शान्तिको प्रतिकको सङ्केत गर्ने उनको भनाइ छ । ध्यानकेन्द्रको आर्कषणको रुपमा रहेको बुद्धका आँखाले बुद्ध दर्शनको विकासमा समेत सहयोग पुग्ने वास्तुकला विदहरुले बताए ।

ध्यानकेन्द्रको क्षेत्रफल ३८६ दशमलव ८८ वर्गमिटर रहेको छ । अन्तर्रािष्ट्रय बौद्ध सम्मेलन तथा ध्यानका लागि यो कक्ष निर्माण भएपछि उपयोगी हुने कोषले जनाएको छ । साना र ठूला गरी ५५ वटा ढोका हुने ध्यानकेन्द्रमा बाहिरी भागमा हेलिप्याडसमेत निर्माण गरिएको छ । ध्यानकेन्द्रको निर्माणसँगै यसको वरिपरिको सौन्दर्य, अतिथि भवन, पार्किङ, शौचालय, पानीको फोहरा, मूलद्वार निर्माण गरिएका छन् ।

सडकदेखि प्रवेशद्वार र वृक्षरोपणका कामलाई निरन्तरता दिएको कोषले अवको केही वर्षमा बास्तुकलाविद् केञ्जो टाङगेले तयार गरेको गुरुयोजना पूरा गर्ने चरणमा रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनी, राजदरबार तिलौराकोट, मावली, देवदह र अस्तुधातु भएको रामग्रामको विकासमा पनि उक्त कोषले थप सोच्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए ।