काठमाडौँ – विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग लज्जास्पद हार व्यहोरेको छ । नेपाल आइतबार घरेलू टोली स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


यसँगै नेपालले ४ खेलको स्कटल्याण्ड सिरिजमा नेपालले १ जितमै चित्त बुझाउनु परेको छ । आइतबार ग्लास्गोस्थित टिटवूड मैदान टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कमजोर ब्याटिङ गर्दा ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमै समेटियो । १२९ रनको चुनौती पच्छ्याउँदै मैदान छिरेको स्कटल्याण्डले १८.५ ओभरमा २ विकेट गुमाएर सहज जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


स्कटल्याण्डका लागि क्यालुम म्याक्लियोडले आक्रामक ब्याटिङ गर्दै अर्थशतक बनाए । सो क्रमममा उनले उनले २९ बलमा १० चौका र ३ छक्का ठोके । यस्तै कायल कोएट्जरले ५२ बलमा ७ चौका प्रहार गदै नटआउट ४४ रन बनाए । यस्तै क्रिस्टोफर म्याकब्राइनले १० रन बनाएर आउट भए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले र सोमपाल कामीले समान १–१ विकेट लिए ।

यसअघि नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४० रन बनाए । त्यसक्रममा उनले उनले ५८ बलमा ६ चौका प्रहार गरे । यस्तै कप्तान सन्दीप लामिछानेले २७ बलमा ३ चौका प्रहार गर्दै २२ रन जोडे ।

विनोद भण्डारीले २१ बलमा २ चौकासहित १३ रन बनाउँदा देव खनाल र रोहित पौडेलले समान १० रन जोडे । अन्यले दोहोरो अंक छुन सकेनन् । आशा गरिएका ओपनर कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेखले लयविहीन यात्रालाई निरन्तरता दिँदा नेपाल सस्तैमा समेटिएको हो ।

नेपाललाई सस्तैमा समेट्नेक्रममा स्कटल्याण्डका मार्क वाट र हम्जा ताहिरले शानदार बलिङ गरे । त्यसक्रममा ताहिरले ७.५ ओभरमा २५ रन दिएर ४ विकेट चट्काए । यस्तै वाटले ८ ओभरमा १९ रन मात्रै खर्चिएर महत्वपूर्ण ३ विकेट लिए । गेभिन मेइनका नाममा २ तथा क्रिस्टोफर म्याकब्राइडका नाममा १ विकेट रह्यो ।

नेपालको स्कटल्याण्ड सिरिज बिर्सना लायक रह्यो । कुनै पनि खेलमा ब्याटिङ प्रदर्शन गर्न नसकेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई पहिलो पटक (५ विकेटले) हराएको थियो । यस्तै तेस्रो खेलमा नामिबियासँग ६३ रनले हारेको नेपालले अन्तिम खेल पनि लज्जास्पद हारको श्रृंखलालाई निरन्तरता दिएको छ ।

यस्तो बन्यो लिग २ को अंक तालिका

विश्वकप लिग–२ मा नेपालले यसअघि खेलको २० खेलमा १७ अङ्क जोडेको छ । नेपालले ८ खेलमा जित तथा ११ खेलमा हार र १ खेल बराबर खेल्दै अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यता स्कटल्याण्ड २४ खेलमा १६ जित र ६ हार र २ अनिर्णित खेलसहित ३४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । लिग–२ का सबै खेल सम्पन्न गरेको ओमान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले कूल ३६ खेलमा २१ जित, १३ हार, १ बराबरी र १ अनिर्णित खेल्दै ४४ अंक जोडेको छ ।

लिगमा रहेका सात टोलीमध्ये संयुक्त अरब इमिरेट्स (युएई) तेस्रो र अमेरिका चौथो, नामिबिया पाँचौँ स्थानमा छन् । २० खेल खेल्दा १ मात्र जित हात पारेको पपुवा न्यूगिनी भने सातौँ स्थानमा छ ।

प्रतियोगिताको शीर्ष तीन टोली आगामी वर्ष हुने एकदिवसीय विश्वकपको छनोटमा प्रवेश गर्नेछन् ।