काभ्रेपलाञ्चोक– जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएकोडेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो ।


ADVERTISEMENT


पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार सङ्क्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ । उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आज पनौतीमा भएको सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए । ‘हाम्रो टिमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नेछ’, उनले भने ।


ADVERTISEMENT

# # #


यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । ‘धुलिखेललगायतको स्थानका डेङ्गु रोगको सङ्क्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौँ’,कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार पाँचखालमा दुई साताअघि भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् ।

ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो । पाँखालमा भेटिएका सङ्क्रमितको काठमाडौमा उपचार भइरहेको सेढाईंले बताए । लामो समयपछि पाँचखालमा पहिलो डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले जनाए । उनका अनुसार डेङ्गु रोगको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्‍यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ ।

लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र माँसपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।

काभ्रेमा यसअघि विसं २०७६ भदौ दोस्रो साता डेङ्गुको सङ्क्रमण देखिएको थियो । त्यसबेला खानीखोला गाउँपालिकामा सङ्क्रमित एक पुरुष भेटिएसँगै जिल्लाका छ जनामा सङ्क्रमण देखिएपछि तत्काल उपचारमा लगिएको थियो । छ सङ्क्रमितमध्ये चारको टेकु अस्पताल र दुईको धुलिखेल अस्पतालमा उपचार गराइएको थियो ।

त्यतिबेलाको अनुगमन÷निरीक्षणबाट खानीखोलाका सङ्क्रमित पुरुष कामको सिलसिलामा छिमेकी मकवानपुरको हेटौँडालगायत तराईका विभिन्न जिल्लामा आवतजावत गर्ने क्रममा डेङ्गु रोगका लक्षण देखिएको जिल्ला कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाल जिल्लाका तीन स्थानमा डेङ्गु सङ्क्रमित व्यक्ति भेटिएपछि कार्यालयले डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई अपिल गरेको छ । ‘जिल्लामा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि अन्य सबै स्थानीय तहमा र्‍यापिड टिम बनाउने तथा स्थानीय स्वास्थ्यकर्मीलाई हाइअलर्ट रहन भनिएको छ, कार्यलयप्रमुख सेढाईंले भने । जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको कीटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको उनले सुनाए । रासस