– कुसुम भट्टराई


ADVERTISEMENT


मनसुनी वर्षा उफानमा छ । यात्राका लागि बाटाघाटा सहज छैनन् । कतै पहिरो त कतै भू–क्षयको प्रकोप छ । मानिसहरु अन्न उब्जाउने चटारोमा छन् । यस्तो हतारो र चटारोकैबीच बेमौसमी राग गाउँदै नेपाल प्रेस युनियन चाहिँ हेटौंडामा नवौँ महाधिवेशन आयोजना गर्दैछ ।


ADVERTISEMENT

# # #


पहिरो र वर्षाको जोखिम मोल्दै देशभरका लोकतन्त्रवादी श्रमजिवी पत्रकारहरु हेटौंडामा भेला हुँदैछन् । प्रेस युनियनले विल्कुल अनुपयुक्त समयमा महाधिवेशन आयोजना गरेको भन्दै पत्रकारहरुका गुनासा सुनिँदैछ । कसले कुन नियतले यस्तो अपायक समयमा महाधिवेशनको हतारो गरेको हो ? भन्ने प्रश्न आफैमा महत्वपूर्ण छ ।

अनिष्ट चिताएको हैन, तर सजग गराएको हो । महाधिवेशनमा सहभागी हुन आउँदा कुनै पत्रकार चढेको गाडी पहिरोमा पुरियो भने त्यसको जिम्मा कसले लिने ? यस्तो उखरमाउलो गर्मीमा हिमाली र पहाडी भेगका पत्रकार हेटौडा महाधिवेशनमा आउँदा गर्मीका कारण विरामी भए भने त्यसको दायित्व कसको ? सामान्य लाग्ला, तर यो मानवीय पक्षसँग जोडिएको प्रश्न हो ।

विश्वमा यस्ता महाधिवेशन या सम्मेलनहरु मौसमको उपयुक्तता हेरेर आयोजना गर्ने गरीन्छ । प्रेस युनियनले यस्तो बेला महाधिवेशन गर्दैछ, जतिबेला पत्रकारहरु न्यूज रुममै बढी व्यस्त हुनुपर्छ ।

देशको राजनीति तात्दैछ । सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल भर्खर दिल्लीबाट फर्किएका छन् । आसन्न संघीय र प्रदेश निर्वाचनका लागि अनेक रणनीतिक दाउपेचहरुको श्रीगणेश भइसकेको छ । जनता समाजवादी पार्टी फुटेर डा. बाबुराम भट्टराई अलग भइसकेका छन् । सत्तारुढ घटकबीच खटपटका संकेत देखिदैछन् ।

एकातिर बाम गठबन्धनको सलबलाहट, अर्कोतिर सत्ता गठबन्धनमै शंकाको अवस्थामा लोकतन्त्रवादी पत्रकारहरु लोकतन्त्रकै रक्षार्थ मौजुदा परिस्थितिप्रति सजग हुँदै संचारकर्ममै व्यस्त रहनुपर्नेमा महाधिवेशनमा अल्झिएका छन् । लोकतन्त्रवादी पत्रकारलाई महाधिवेशनको राजनीतिमा भुलाएर कतै कुनै कोणबाट कुनै गम्भीर परिघटना निम्त्याउन खोजिएको त हैन भन्ने प्रश्न किन नगर्ने ?

काम कुरो एकातिर…

प्रेस युनियन लोकतन्त्रवादी श्रमजिवी पत्रकारहरुको छाता संगठन भए पनि यो मुलतः ट्रेड युनियन आन्दोलनकै एक हिस्सा हो र यो नेपालको ट्रेड युनियन कांग्रेस अन्तर्गतको संगठन हो । यस हिसाबले नेपाली कांग्रेसको करीब करीब भातृ संगठनकै रुपमा यो स्थापित छ । कांग्रेसकै हित चिताउने हो भने पनि अहिले प्रेस युनियनको महाधिवेशन आयोजना गर्नु उपयुक्त थिएन ।

केही महिनाभित्रै प्रदेश र संघीय संसदको निर्वाचन हुन गइरहेको छ । चुनावको मुखमा पार्टीभित्र एकता र मेलमिलापको वातावरण बन्नु आवश्यक हुन्छ । चुनाव भनेको प्रचार प्रसारको राजनीति पनि हो । यस्तोमा लोकतान्त्रिक पत्रकारहरु एकढिक्का भएर लोकतान्त्रिक शक्तिलाई चुनाव जिताउन कटिबद्ध हुनुपर्ने हुन्छ ।

तर, प्रेस युनियनको महाधिवेशनका क्रममा विभिन्न गुटहरुबीच घात प्रतिघात र आघातका परिघटना हुने भएकाले महाधिवेशनपछि लोकतान्त्रिक कित्ताका पत्रकारहरुबीच कटुता बढ्नेछ । नेतृत्वमा पुग्नेहरु हर्षित हुनेछन्, हार्नेहरु दुःखी । यसले आसन्न संघीय चुनावमा लोकतान्त्रिक पत्रकारहरुलाई विभाजित गर्नेछ । निराश तप्काले चुनावमा शक्रियता नदेखाउन सक्छ, जसले कम्युनिष्टहरु र खासगरी एमालेको आक्रामक प्रचार युद्ध, भ्रमको खेती र स्टन्टबाजीविरुद्ध काँग्रेसको प्रचार संयन्त्र कमजोर बन्नसक्छ । अतः प्रेस युनियनको महाधिवेशन तत्काल रोकेर आसन्न संघीय चुनावतर्फ नै सबैलाई गोलबन्द गर्नु अपरिहार्य छ ।

लोकतन्त्रमाथि यतिबेला चौतर्फी खतरा मडारिएको छ । राजावादीहरुको हुँकार सुनिँदैछ । बामपन्थीहरु एकढिक्का हुने तानाबाना बुन्दैछन् । आसन्न चुनावपछि काँग्रेसलाई फेरी आइसोलेसनमा पार्ने खेल सुरु भइसकेको छ । विगतमा दुईतिहाई ल्याएर पनि सरकार, पार्टीसमेत बचाउन नसक्ने अनि संसदमाथि बारम्बार प्रहार गर्ने कम्युनिष्टहरुको यथार्थ घनिभूत रुपमा जनतामाझ प्रचार प्रसार गर्नुपर्ने बेलामा लोकतन्त्रवादी पत्रकाहरु महाधिवेशनका नाममा आफू आफूमै कटुतामा उत्रदा प्रकारान्तरले बाम कित्तालाई नै फाइदा पुग्ने हेक्का किन नराखेको होला ?

गैर-पत्रकार हावी

२०४८ साल जेठ १३ । एउटा गौरवमय दिन । लोकतान्त्रिक पत्रकारहरूको एउटा भेला भयो । सोही भेलाले पेशागत प्रत्याभूतिका लागि एकताबद्ध तथा संगठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गर्यो । विश्वभर फैलिएको ट्रेड युनियन आन्दोलनले श्रमजीवि पत्रकारहरूको पनि हकहित संरक्षण गर्न सक्छ भन्ने विश्वासका साथ सोही दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको इतिहास छ ।

महान उद्देश्य अनि सच्चा लोकतन्त्रवादी पत्रकारहरुको सहभागितामा स्थापना भएको प्रेस युनियनमा अचेल गैर पत्रकार, व्यापारी, दलभित्रका अमुक नेताका गुटका झोले तथा अनधिकृत अनुहारहरु हावी हुन थालेका छन् ।

नवौं महाधिवेशनसम्म आइपुग्दा नेतृत्व हत्याउने होडमा धमाधम गैर पत्रकारहरुलाई युनिनयनका सदस्यता बाँडिएको स्पष्टै देखिन्छ । यसरी जथाभावी गैर पत्रकारलाई संगठित गर्दा लोकतान्त्रिक श्रमजिवीहरुको शानदार संगठन प्रेस युनियनको मौलिक स्वरुप, संरचना र उद्देश्यबाटै भटकिने त हैन भन्ने व्यापक चिन्ता छ ।

वास्तविक लोकतान्त्रिक पत्रकारहरु र अझ काँग्रेसइतरकासमेत लोकतान्त्रिक पत्रकारहरुलाई गोलबन्द गर्ने गरी युनियनमा सरसफाई अपरिहार्य भएकाले नवौं महाधिवेशन हाललाई स्थगित गरी यसको परिशुद्धता अभियान थालियोस् भन्ने धेरैको चाहना देखिन्छ ।

प्रेस युनियन नै यस्तो संस्था हो, जुन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । यसको राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय साख पनि छ । यो साखको निर्माणको आफ्नै इतिहास छ । प्रेस युनियनका अग्रजहरु सुरुमा जम्मा १७ जना थिए । जयप्रकाश प्रसाद गुप्ता, हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, श्रीसबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान जस्ता अग्रज पत्रकारको पहलकदमीबाट युनियनको जग बसालिएको थियो ।

२०४८ साल फागुन १५, १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न भएको थियो । यही महाधिवेशनले युनियनको विधान २०४८ पारित गरेको थियो । अनि हरि अधिकारीको अध्यक्षतामा पहिलो निर्वाचित कार्यसमिति चयन भएको थियो । सोही कार्य समितिको महासचिवमा रमेश तुफान, कोषाध्यक्षमा उज्वल झा, सदस्यहरूमा तारा बराल, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, शिरिष बल्लभ, जगदीश भट्टराई, बबिता बस्नेत, अच्युत वाग्ले, राजनराज तिमिल्सिना आदि चुनिएका थिए ।

नवौं महाधिवेशनसम्म आइपुग्दा युनियनको संगठन त विस्तार भएको छ । यसका सात हजारभन्दा बढी सदस्य भइसकेका छन् । तर, संगठनको आकार बढ्दैमा के यसमा आवद्ध सदस्यहरु सबै लोकतन्त्रवादी पत्रकार नै हुन् त भन्ने प्रश्न उठेको छ ।

प्रेस युनियनलाई परिशुद्ध पार्न यतिबेला दुइवटा बाटा छन् । एक त गैर पत्रकारहरुको पहिचान र छटनी । दोश्रो, गैर काँग्रेस लोकतन्त्रबादी पत्रकारहरुका लागि ढोका खुला । जस्तै, पँक्तीकार काँग्रेस हैन, तर कम्युनिष्ट पनि हैन । लोकतन्त्रबादी हो । अतः पंतिकारजस्ता सयौं पत्रकारहहरुलाई प्रेस युनियनले गोलबन्द गर्न सक्छ ।

यसबाट युनियन वास्तवमै लाकतन्त्रवादी पत्रकारहरुको छाता संगठन बन्नसक्छ । अतः ट्रेढ युनियन आन्दोलनको हिस्सा भए पनि अब प्रेस युनियनलाई नेपाली काँग्रेस मात्रको भातृ सँगठनका रुपमा नभइ समग्र लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित गर्न पनि एउटा गहन कार्यदिशा र योजना अपरिहार्य छ । यो योजना तयार नहुन्जेलसम्मका लागि नवौँ महाधिवेशन स्थगित गरेर युनियनलाई सही दिशा दिन सकिन्छ ।

गुट हैन, जुट

प्रैस युनियन मात्र हैन, नेपाल पत्रकार महासंघको निर्वाचनमासमेत लोकतन्त्रवादी कित्ताबाट नेतृत्व तय हुँदा पार्टी र तिनका नेताको हस्तक्षेप हुने गरेको देखिन्छ । पार्टीको अमुक गुटको नेताको आशिर्वाद पाएपछि अन्य सदस्यहरुले खुरुखुरु उसैलाई जिताउनुपर्ने बाध्यता सिर्जना गरिँदै आएको छ ।

गत पत्रकार महासंघको निर्वाचनमा पत्रकारमाझ खासै लोकप्रिय नभएका तर पार्टी नेतृत्वको आशिर्वादप्राप्त व्यक्तिलाई नेतृत्वका लागि उम्मेदवार बनाउँदा लामो समयदेखि व्यावसायिक पत्रकारिताका साथै लोकतान्त्रिक निष्ठामासमेत अडिग प्रतिभाशाली र शक्रिय पत्रकारहरु उपेक्षामा परे, अन्यायमा परे । यसले एकखालको वितृष्ण पैदा गरेको छ ।

प्रेस युनियनका नवौं महाधिवेशनमा पनि नेतृत्वका दाबेदारहरुबिच ‘फलानो उम्मेदवार फलानो नेताको मान्छे’ भन्ने चर्चा सुरु भइसकेको छ । पत्रकारको सँगठनमा पार्टी या नेताको यस्तो प्रभाव सोभनीय हैन । नीतिगत र उद्देश्यगत रुपमा पार्टीसँग निकट हुनु अनुचित नहोला, तर ठाडै पार्टी या नेताको हस्तक्षेप या प्रभावका कारण सँगठनको स्वायत्तता खण्डीत गरिरहरको छ । प्रेस यु्नियनलाई गुटहरुको झगडाको थलो नबनाइ जुट र सदभावको मंच बनाउन पनि यसको अवधारणगत पक्षमा सुधार जरुरी छ ।

प्रेस युनियनले भन्नसक्नुपर्छ, हामी नीतिगत र उद्देश्यगत रुपमा कुनै पार्टीसँग नजिक होउँला, तर यो कुनै पार्टीको भातृ सँगठन हैन, यो लोकतान्त्रिक पत्रकारहरुको स्वायत्त सँस्था हो । अतः दलभित्रका अनेक गुट र तिनका नेताको शक्ति सँघर्षको थलो युनियनलाई नबनाउँ । के यति भन्नसक्ने ल्याकत अहिले उम्मेदवारी घोषणा गर्नेहरुसँग छ ?

महाधिवेशन स्थगित होस्

प्रेस युनियनको महाधिवेशन भूतले खाजा खाने बेलामा भएको भन्दै गुनासो बढीरहेको छ । यस्तो वर्षायाममा धेरै पत्रकार महाधिवेशनमा सहभागी हुनबाट बंचीत रहनेछन् । कतै बाटाघाटा भत्कीएका छन् त कतै पहिरोले छेकिएका छन् ।

अनुपयुक्त समयमा महाधिवेशन गर्दा महाधिवेशनमा भोट हाल्ने पत्रकारहरुकै पूर्ण सहभागिता नहुनसक्छ । यस्तो अधकल्चो सहभागिताबाट चयन हुने नेतृत्वको के नै गरीमा रहला र ? महाधिवेशन कसैका लागि सास्ती पनि बन्नु हुँदैन, यो त सहज प्रकृया हुनुपर्छ । मध्य वर्षा याममा महाधिवेशन डाकेर फटाफट नेताको आशिर्वादमा कसैलाई नेतृत्व हत्याउनु छ भन्दैमा देशभरका पत्रकारलाई दुःख दिन मिल्दैन । अतः महाधिवेशन स्थगित गरियोस् र आसन्न संघीय र प्रदेश निर्वाचनपछि कुनै उपयुक्त मौसम र समयमा महाधिवेशन आयोजना गरियोस् भन्ने आम अपेक्षा छ ।

प्रेस युनियनको गौरवमय परम्परा, संगठन, संरचना र उद्देश्य अहिले बिटुलिएको छ । यो लोभीपापीहरुको स्वार्थसिद्धीको माध्यम बन्दैछ । पत्रकारितालाई ठगी खाने हतियार बनाउनेहरुको बिगबिगी बढ्दै जाँदा प्रेस युनियनमा पनि यसको व्यापक प्रभाव देखिन्छ ।

पार्टी प्यालेस चलाउनेहरु, जग्गा दलाली गर्नेहरु, नेताको दैलो ढुकेर ठेक्का पट्टा र कमीसनको खेलमा लाग्नेहरु, सरुवा बढुवाको खेलमा भिडनेहरुले आफुलाई पत्रकार हुँ भन्ने देखाउन पनि प्रेस युनियनको सदस्य लिएको देखिन्छ । लोकतन्त्रको महान उद्देश्य बोकेको गौरवमय इतिहासले आलोकित प्रेस युनियनको साख अहिले धेरै हदसम्म धुमिल भइसकेको छ । यसको साख जोगाउने चुनौती टड्कारो भइरहेकै बेला हुने महाधिवेशनले फेरी पनि यस्तै प्रवृत्तिलाई नै बढावा दिने हो ।

महाधिवेशनमा पक्कै हेटौंडाका रेस्टुरेन्ट र होटलमा बियर र ह्वस्कीको खोला बग्नेछ । पत्रकारहरुको संगठनको चुनाव करीब करीब संसदीय चुनाज झैं खर्चालु हुनेछ । यसबाट नेताको आशिर्वाद पाएका, गोजीमा गाँठ भएकाहरुकै बोलबाला र प्रभाव बढनेछ । चुनाव जित्ने पनि खर्च गर्नसक्नेले नै हो । अनि त प्रेस युनियनको परिशुद्ध ऐतिहासिक गरीमा कहाँ बाँकी रहला ? यसमा विराम लगाउन पनि अब सच्चा लोकतन्त्रवादी पत्रकारले नेपाल प्रेस युनियनको महाधिवेशन स्थगनको माग गर्दै हाललाई मिसन महाधिवेशन हैन, मिसन संघीय निर्वाचन र लोकतन्त्रको रक्षालाई बनाउनुपर्छ । नवौं महाधिवेशन रोकिनुपर्छ ।