पछिल्लो समय नेपालमा पूँजीबजारप्रति आम मानिसको आकर्षण बढ्दै गइरहेको छ । आईपीओमार्फत प्रथम बजारमा सक्रिय रहनेदेखि दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । लगानीकर्ताको आकर्षण देखेरै विभिन्न कम्पनीले धमाधम आईपीओ निस्काशन गरिरहेका छन् । यही सन्दर्भमा स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीसँग हिमालय पोष्टले पूँजी बजारको वर्तमान अवस्था, यसको महत्व, चुनौती र अवसर लगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश: 


ADVERTISEMENT


स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको काम के हो ? तपाईं अध्यक्ष भएर आइसकेपछि के-के गरिरहनु भएको छ ?


ADVERTISEMENT

# # #


व्यवसायीको हक हितको संरक्षण गर्नु यसको मूल दायित्व हो । बजारको विकासमा नियामक निकायलाई आवश्यक सल्लाह सुझाव दिनु पनि हाम्रो महत्वपूर्ण काम हो । अर्को मुख्य काम भनेको लगानीकर्ता सचेतनामा अभिवृद्धि गर्नु हो । यी उद्देश्यहरुलाई लिएर हामीले विभिन्न कामहरु गर्दै आएका छौं । नियामक निकायले सल्लाह सुझाव मागेको खण्डमा र नमागेको बेला पनि आफूलाई लागेको महत्वपूर्ण सुझावहरु दिने हाम्रो काम हो ।

लगानीकर्ता सचेतना अन्तर्गत हामीले उपत्यका बाहिर विभिन्न कार्यक्रम गर्दै आइरहेका छौं । पूर्वदेखि पश्चिमसम्म हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौं । यसो गर्दै जाँदा हामीलाई एकदिन मान्छे भेला गरेर सचेतनाका कार्यक्रम गर्दा त्यसले राम्रो प्रतिफल नदिने रहेछ भन्ने महसुस भएको छ । यसलाई प्रभावकारी बनाउन डिजिटल प्लेटफर्मलाई समाएर जाँदा ठिक हुन्छ भन्ने हामीलाई लागेको छ । त्यसैले हामी त्यतातर्फ उन्मुख भएका छौं ।

ब्रोकर कम्पनीहरुले कसरी काम गर्दछ ?

ब्रोकर कम्पनीहरुले काम गर्नको लागि सबैभन्दा पहिले लाइसेन्स हुनुपर्दछ । लाइसेन्स नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निर्धारण गर्ने कुरा हो । बजारमा कति ब्रोकर चाहिन्छ भन्ने कुराको निर्धारण नेप्सेले नै गर्ने कुरा हो । थप ब्रोकरको आवश्यकता परेको खण्डमा नेप्सेले आवेदन खुलाउने गर्दछ । प्रक्रिया पुर्याएर आएको निवेदनहरुलाई नेप्सेले धितोपत्र बोर्डमा पठाउँछ र बोर्डले लाइसेन्स दिन्छ । यसपछि ब्रोकर कम्पनीले काम गर्न पाउँछन् ।

ब्रोकर कम्पनीहरुको मुख्य गरी तीन वटा कामहरु छन् । पहिलो काम सेयर खरिद-बिक्री गराउने हो । दोस्रो डिपोजिटेड पार्टीसिपेन्ट, जसमा सेयर सदस्यको काम पर्दछ । तेस्रोमा मार्जिन ट्रेडिङ, जसमा सेयर खरिदकर्तालाई ऋण दिने काम पर्दछ । तीन वटामा दुई वटा काम अहिले भइराखेको छ । मार्जिन ट्रेडिङको कार्यविधि बनेर व्यवसायीहरुले लाइसेन्स लिएको तीन वर्ष भइसके तापनि अझै पनि नीतिगत अस्पष्टताका कारण र प्रविधि पनि नभएकाले त्यो काम भइरहेको छैन ।

मूलभूत रुपमा दुई वटा काम व्यवसायीहरुले गर्दै आएका छन् । कतिपय व्यवसायीले डिपीको काम पनि गरेका छैनन् । ३३ वटा ब्रोकर कम्पनीहरुले सेयर खरिदबिक्री र डिपीको काम गरिरहेका छन् भने १७ वटा कम्पनीले सेयर खरिदबिक्रीको काम मात्र गरिरहेका छन् ।

आम सर्वसाधारण यसमा कसरी जोडिन सक्छन् ? यसको बारेमा प्रष्ट्याइदिनुहोस् न !

आम सर्वसाधारण बजारमा प्रवेश गर्न दुई तरिकाले सक्छन् । पहिलो प्राथमिक बजार (आईपीओ) हो भने दोस्रो सेकेन्डरी बजार हो । प्राथमिक बजारका लागि डिम्याट एकाउन्ट, मेरो सेयर एकाउन्ट र बैंक एकाउन्ट खोल्नुपर्दछ । यो खोलिसकेपछि उहाँहरुले जहाँबाट पनि साधारण सेयरको लागि आवेदन दिन सक्नुहुन्छ । सेकेन्डरी बजारमा जानका लागि ब्रोकर कम्पनीमा जानुपर्ने हुन्छ ।

आईपीओ बेच्नका लागि पनि ब्रोकर कम्पनीसँग सम्पर्कमा जानुपर्ने हुन्छ । यसका लागि कम्पनीका कार्यलय वा शाखा कार्यलयमा सम्पर्क गर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनीमा गएर आफ्नो केवाइसी फर्म बुझाइसकेपछि उहाँहरु कारोबार गर्न योग्य हुनुहुन्छ । त्यसपछि उहाँहरुले चाहेको सेयर खरिदबिक्री गर्न सक्नुहुन्छ । बजारमा ब्रोकर कम्पनीको काम भनेको ग्राहकले दिएको आदेश अनुसार सेयर खरिद गरिदिने र बेचिदिने हो ।

बजारमा ब्रोकर कम्पनीले लगानीकर्तालाई यो सेयर किन्नुहोस् त्यो किन्नुहोस् भनेर भन्न पाउने अवस्था छैन । त्यसले गर्दा लगानीसम्बन्धी ज्ञानचाँहि ग्राहक आफैंले आर्जन गर्नुपर्ने हुन्छ । यसका लागि ग्राहक आफैंले अध्ययन गर्नुपर्ने हुन्छ । उहाँहरु उत्सुक भएर आइसकेपछि खरिदबिक्रीको लागि सहयोगचाँहि हामी गर्दछौं ।

अहिले सेयर बजारको अवस्था कस्तो छ ?

बजारको अवस्था भन्नुपर्दा कोरोना सुरु हुनुभन्दाअघिसम्म डाउन ट्रेन्डमा रहेको थियो । कोरोना आइसकेपछि बजारको अवस्था अझ घट्ने क्रममा गयो । लगभग दुई महिनाजति बजार पनि बन्द भयो । त्यतिबेला घरमा बसेर कारोबार गर्न हामीसँग उचित प्रविधि पनि थिएन । आवतजावतका लागि पनि असहज अवस्था थियो । टेक्नोलोजी ल्याएर केहि समयपछि बजार सुरु भयो । बजार सुरु भएपछि पनि केहि दिन बजार घटिरहेको थियो । पछि उद्योगी व्यवसायी विद्यार्थी कर्मचारी लगायत सम्पूर्णका लागि एउटा मात्र खुलेको व्यववसाय सेयर बजार हुन गयो । बजार पनि उकालो लाग्यो । १२ महिनामा बजारको आकार तीन गुणाले बढेको थियो ।

काेराेनाविरूद्धकाे खाेपका कामहरु हुन थालेपछि कोरोनाको त्रास पनि कम हुँदै गयो । अरु व्यवसायका ढोकाहरु पनि खुल्दै गयो । त्यसपछि बजारबाट मानिसहरु पाखा लाग्दै गए । करिब ३२ सयमा पुगेको बजार घटेर करीब १८ सयको आकारमा समेटिन पुग्यो । आजको दिनमा बजार विस्तारै बढ्दै गएको छ । मौद्रिक नीतिमा लगानीकर्ताको चासोका कुराहरु सम्बोधन भएका कारण पनि यस्तो भएको हो । अहिले बजारको आकार २१ सय भन्दा माथि रहेको छ ।

बजारलाई अहिले मुख्य चुनौती भनेको तरलता हो । त्यसैगरी ब्याजदर पनि अर्को समस्याका रुपमा रहेको छ । बैंकमा पैसा नभएसम्म बजारमा चहलपहल हुँदैन । यता ब्याजदर पनि बढिरहेको छ । तसर्थ बजारले एकैपटक ठूलो छलाङ मारिहाल्ला भन्ने अवस्था छैन ।

राजनैतिक र आर्थिक कारणहरुले अर्थतन्त्रमा पारेको समस्याका कारण अहिले देशको जुन अवस्था सिर्जना भएको छ । त्यसले बजारलाई कस्तो प्रभाव पारेको छ ?

हाम्रो सेयर बजार अर्थतन्त्रका समस्याहरुसँग अन्तर्सम्बन्धित भएको देखिँदैन । राजनीतिक कारणसँग पनि त्यस्तो धेरै अर्थ राखिरहेको हुँदैन । गृहयुद्धका बेला पनि सेयर बजार बढेको थियो । नाकाबन्दीका बेला पनि बजार बढेको थियो । हुन त सेयर बजारलाई अथतन्त्रको ऐना भनिन्छ । हाम्रोमा ऐना हुन सकिरहेको छैन । अर्थतन्त्रका सबै कुरा बजारमा नआएकोले पनि यस्तो भएको हो ।

समग्र अर्थतन्त्रलाई ७–८ प्रतिशतको योगदान दिने वित्तीय क्षेत्रले सेयर बजारमा झण्डै ७५ प्रतिशत स्थान ओगटिरहेको अवस्था छ । त्यसैगरी हाम्रो अर्थतन्त्रलाई करीब २६ प्रतिशत योगदान दिने कृषि क्षेत्रको एउटा पनि कम्पनी सेयर बजारमा छैनन् । तसर्थ बजारको अवस्था जटिल भएको हो ।

विदेशी मुद्राको सञ्चितीमा कमी र तरलता अभावका कारण भएको समस्यालेचाँहि बजारमा प्रभाव पारिरहेको छ । तरलताको कारणले बजारलाई ठूलो प्रभाव पार्दछ । बजारलाई घटाउने र बढाउने दुई वटा कुरा देखिएका छन् । पहिलो तरलता र ब्याजदर हो । ब्याजदर घटेको बेला बजारमा सकारात्मक प्रभाव देखिएको हामी पाउँछौं । दोस्रो भनेको पूँजी वृद्धिका योजनाहरु हुन् । यिनले पनि राम्रो प्रभाव पारेको देखिन्छ । राष्ट्र बैंक र बीमा समितिहरु जस्ता संस्थाले आफू मातहतका संस्थाहरुको पूँजी बढाउने योजनाहरु ल्याउँदा बजारमा सकारात्मक प्रभाव परिरहेको देखिन्छ ।

अर्थतन्त्रको अवस्था जस्तो भए पनि बजारको चाल भने छुट्टै देखिरहेको हुन्छ । अहिले बजारमा प्रभाव परेको असर अर्थतन्त्रको समस्यासँग ठोकिएको नभएर अर्थतन्त्रको समस्या तरलतासँग जोडिएको भएर हो । नभए बजारको चाल अर्कै हुने थियो ।

तपाईंले राजनैतिक कारणहरुका बारेमा पनि प्रश्न उठाउनुभएको छ । हाल यसको पनि सेयर बजारमा खास प्रभाव परेको देखिँदैन । अहिले राजनैतिक अस्थिरताका कारण पनि बजारमा नकारात्मक असर परेको देखिएको छैन । पहिले कुनै राजनैतिक आस्था भएको पार्टीको सरकार बन्दा सकारत्मक प्रभाव हुने र कुनै राजनीतिक पार्टीको सरकार हुँदा नकारात्मक प्रभाव रहने भनिथ्यो । अहिले त्यस्तो छैन ।

पछिल्ला वर्षहरुमा त्यो कुराको ठ्याक्कै उल्टो हुने र कहिलेकाँहि पहिलेका भनाइहरु नमिल्ने भइरहेको छ । त्यसकारण सेयर बजार अर्थतन्त्रसँग पनि थोरै टाढा र राजनैतिक कारणबाट पनि थोरै टाढा रहेको देखिन्छ ।

आम मान्छेको सेयर बजारमा प्रवेशको अवस्थालाई कसरी हेर्नुभएको छ ?

कोरोनाको समयमा बजारमा आम मान्छेहरुको प्रवेश धेरै थियो । हाम्रो बजारको मात्र नभएर संसारभरकै बजारको अवस्था कोरोनाकालमा यस्तै थियो । मान्छेहरु घरमा नै बस्ने र बाहिर जान नपाउने कारण आम मान्छेहरु सेयर बजारमा प्रवेश गरेका थिए । अर्कोतिर अरु बजारमा लगानीको वातावरण पनि थिएन । कोरोनाअघि बजारमा दुई प्रतिशत मात्र सर्वसाधारणको उपस्थिति रहेको थियो भने कोरोनापछि करीब १७ प्रतिशत मान्छेको प्रवेश भएको छ । यसमा पनि धेरै आम मान्छेहरु प्राथमिक बजारमा मात्र कारोबार गरिरहनुभएको पाइन्छ ।

अहिले दोस्रो बजारमा पनि खाता खोल्नेहरु ४ प्रतिशत पुगेको देखिएको छ । प्राथमिक बजार र दोस्रो दुवै बजारमा जनसंख्याका हिसाबले भारत चीनको भन्दा पनि हाम्रोमा आम मान्छेको उल्लेखनीय सहभागिता रहेको देखिन्छ ।

बजारको आकार र यसको उतारचढाव कस्तो पाउनुहुन्छ ?

पूँजीगत हिसाबले बजारको आकार झन्डै ३० देखि ३२ खर्ब हाराहारीको रहेको छ । कारोबारको कुरा गर्ने हो भने पनि कोभिडको समयमा त दैनिक सालाखाला २२ अर्बको भएको देखिन्छ । अहिले दैनिक डेढ देखि दुई अर्बको हाराहारीमा कारोबार भइरहेको देखिन्छ ।

बजारको उतारचढावको सन्दर्भमा ३२ सयसम्म पुगेको बजार घटेर १८ सय ३५ मा झरेको माथि पनि मैलै जानकारी गराएँ । अहिलेको अवस्थामा २१ सय भन्दा माथि कारोबार भइरहेको छ । दुई तीन महिनाअघि देखिएको बटमभन्दा अहिले १५ देखि २० प्रतिशत बढेर कारोबार भइरहेको अवस्था छ ।

बजार कता जन्छ भन्ने कुराको अनुमान गर्ने कुनै तरिका छ ?

समग्रमा दुई वटा कुरा (पहिलो ब्याजदर र तरलता दोस्रो पूँजीगत योजनाहरु)लाई मैले माथि पनि संकेत गरिसकेको छु । अहिलेको अवस्थामा बजार तरलतासँग जोडिइरहेको छ । तरलता सहज हुने र ब्याजदर घट्ने देखियो भने बजार सकारात्मक बाटोमा हिँड्छ । त्यो सहज नभएसम्म बजार छोटोसमयको लागि तलमाथि भई नै रहन्छ ।

हाललाई तरलता सुधार हुने संकेत पाइएको छैन । त्यसैको आधारमा एउटा रेखाभित्र बजार तलमाथि भइरहला भन्ने अनुमान गर्न सकिन्छ ।

आम मान्छेको समृद्धिमा सकारात्मक रुपमा भूमिका खेल्नेगरी सेयर बजारलाई औद्योगिक रुपमा कसरी विकास गर्न सकिएला ?

सेयर बजार भनेको एक हिसाबले पूँजी प्रवाह गर्ने संयन्त्र हो । यसमा लगानीकर्ताहरु पूर्ण समर्पित भएर पेशाका हिसाबमा पनि लागिरहेको हामी देख्न सक्छौं । पार्ट टाइम पेशाका हिसाबमा पनि लागेका छन् । बजार अर्थतन्त्रको मेरुदण्ड पनि हो । अर्थतन्त्रको हरेक क्षेत्रमा पूँजीको आवश्यकता हुँदा यहीँबाट परिचालन गरिन्छ । सरकारलाई ऋणको आवश्यकता पर्दा पब्लिकबाट नै लिनुपर्दछ । पब्लिकले लगानी सेयर बजारबाट नै गर्दछन् । यसको माध्यम पूँजी बजार नै हो ।

यसलाई हामीले उत्पादनशील क्षेत्रलाई सहयाेग गर्ने अर्को उत्पादनशील क्षेत्रका रुपमा बुझ्नुपर्छ । कतिपय राजनीतिक वृत्तका मानिसहरुले यसलाई अनुत्पादनशील पनि भनिरहेका छन् । कसैले भित्तामा मात्र हेरेर पैसा कमाउने ठाउँ पनि भनिरहेका छन् । कसैले जुवा खेल्ने ठाउँ पनि भनिरहेका छन् । सेयर बजार यस्तो कदापि होइन । यो प्राइभेट सेक्टरलाई पूँजीगत खर्च जुटाउने र सरकारलाई पनि आवश्यक परेको खण्डमा सहयोग गर्नसक्ने क्षेत्र हो । विकास निर्माणलाई चाहिने ऋण उठाउने ठाउँ पनि यही हो । यो क्षेत्रको महत्व बुझेर सरकारले पनि प्राथमिकतामा राख्नुपर्दछ ।

लगानीकर्ताका तर्फबाट हेर्ने हो भने उनीहरुले यसलाई उद्योगका रुपमा विकास गर्न सक्दछन् । देशको अर्थतन्त्रसँग जोडिने र व्यापक रुपमा लगानीकर्ता भित्र्याउने हो भने यो उद्योग बन्न सक्छ । व्यापक रुपमा लगानीकर्ता भित्र्याउँदा लगानीकर्ता डुब्ने खतरा पनि रहन्छ । यसलाई पनि हेक्का राख्नुपर्दछ ।

यसलाई सन्तुलित बनाउन अर्थतन्त्रसँग जोड्नुपर्दछ । हरेक क्षेत्रका कम्पनीहरुलाई यसमा प्रवेश गराउन सक्नुपर्दछ । लगानीकर्तालाई पहिले नै बजारका यावत् कुरा बुझाएर मात्र लगानीको लागि आह्वान गर्नुपर्दछ । त्यसपछि मात्र बजारमा ल्याउँदा राम्रो हुन्छ ।

नेपाली पैसा व्यापक रुपमा बाहिर गइरहेको देखिन्छ । यसलाई नेपालमै रोकेर लगानीको वातावरण बनाउन सेयर बजारले कस्तो भूमिका निभाउन सक्ला ?

अरु क्षेत्रको लगानीभन्दा सेयर बजारको लगानी देशभित्रैको लगानी हो । हामीले हाम्रो सेयर बजारमा विदेशी लगानीकर्तालाई लगानी गर्न दिएका छैनौं । कुनै पनि सेयर खरिद र बिक्री नेपाली नागरिकले नै गर्दछ । एउटाको खाताबाट पैसा जाँदा अर्कोको खातामा गएर बसिसकेको हुन्छ । यहाँबाट विदेशको खातामा पैसा जाँदैन । यसले विदेशी बैंकमा पैसा जाने चुनौतीलाई घटाउने काम गरिरहेको छ ।

हाम्रो मुलुकमा कम्पनीहरु सीमित मात्रामा भएको र राम्रो उत्पादन गरिरहेका सबै कम्पनीहरु बजारमा आइसकेको अवस्था पनि छैन । भइराखेका र नियामकका बाध्यताले बाध्य भएर आएका कम्पनीहरु मात्र सेयर बजारमा आएको अवस्था हो । राष्ट्र बैंक र बीमा समीतिले स्थापनाको यति समयमा पब्लिक सेयरमा जानै पर्दछ भनेर नियम लगाएकोले मात्र बजारमा आएका कम्पनीहरु हामीसँग छन् ।

पछिल्लो समय हाइड्रो पावर कम्पनीहरुको पनि प्रवेश हुँदै आएको छ । हाइड्रो पावरमा पनि राम्रो नियमन भइरहेको छैन । लगानीकर्तालाई कतिपय कम्पनी बजारमा आइरहेको थाहा नै हुँदैन । सबै किसिमका कम्पनीहरुलाई बजारमा ल्याउनु जरुरी छ । बजारमा आएको कम्पनीको सेयर किन्नु भनेको सो कम्पनीको मालिक हुनु हो । कम्पनी अर्को मान्छेले चलाए पनि त्यसको लगानीकर्ता भएको नाताले आम मान्छेले पनि त्यसको प्रतिफल पाउने कुरा हो । सीमित मान्छेमा भएको क्षमताको लाभ अन्य मान्छेले पनि पाऊन् भन्ने नै सेयर बजारको अवधारणा हो ।

कम्पनी राम्रो भइराख्दा बजारमा कम्पनीको मूल्यभन्दा बढी मूल्यमा कारोबार भइरहेको पनि हुन्छ । कहिलेकाँहि कम्पनीको अवस्था भन्दा एकदमै न्यून मूल्यमा पनि कारोबार भइरहेको हुन्छ । यस्तो अवस्था किन आउँछ भन्ने कुरा लगानीकर्तालाई जान्ने बुझ्ने हामीले बनाउनुपर्छ । यस्तो बनाउन नसकेमा कम्पनी राम्रो हुँदाहुँदै पनि लगानीकर्ताले घाटा व्यहोर्नुपर्ने पनि हुनसक्छ ।

शेयर बजारलाई बढाउन वा घटाउन ब्रोकर कम्पनीको चलखेल गरिरहेका हुन्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । यसमा कत्तिको सत्यता छ ?

ब्रोकर कम्पनीको अधिकार भनेको खरिदबिक्री गराइदिने मात्र हो । ब्रोकर कम्पनीले खरिद गरेको मान्छेलाई समयमा उसको सेयर जिम्मा लगाउनुपर्छ । त्यसैगरी बिक्री गर्ने मान्छेलाई समयमा उसको रकम भुक्तानी गरिदिनुपर्छ । यी दुईवटा इमानदारिता हुनुपर्दछ । यो कुरामा आज सेयर बजारको कारोबार हुन थालेको २९ वर्ष हुँदा पनि कुनै कमजोरी देखिएको छैन । यसमा कुनै चलखेल भएको छ भन्ने मलाई लाग्दैन ।

बजारमा ब्रोकरले नै बजार घटायो बढायो भन्ने पनि कतिपयलाई लाग्दछ । पहिले ब्रोकर कम्पनीमा गएर मात्र कारोबार गर्न सकिने अवस्था थियो । आज अनलाइन मार्फत् नै कारोबार गर्न सकिने भएको छ ।  १०-११ लाख प्रयोगकर्ताले अनलाइनमार्फत लगानी गरिरहेका छन् । एउटा ब्रोकर कम्पनी र तिनका कर्मचारीले चलाउने भनेको ३-४ सय प्रयोगकर्ता होला । अनलाइनमार्फत सबै ग्राहकले आफ्नो लगानी हेरिरहेको अवस्थामा ब्रोकर कम्पनीले लगानीकर्ताको पैसा चलाउनसक्ने कुरा पनि छैन । यी पाटाहरुमा कुनै पनि कम्पनीले चलखेल गर्ने सम्भावना नै छैन ।

ब्रोकर भनेको लगानीकर्ता पनि हो । उलाई पनि सेयर बेच्न र किन्न छुट छ । उसले किनबेच गर्दा सेयरको रकम तलमाथि हुन्छ भने आम लागानीकर्ताले लगानी गरेजस्तै नै हो । ब्रोकरले लगानीकर्तालाई धोकाधडी गर्ने काम गरेको आजसम्म देखिएको छैन ।

सेयर बजारमा जोडिएका सरोकारवाला निकाय, सरकारी संयन्त्र र ब्रोकर कम्पनीहरुबीच समन्वय हुन्छ कि यहाँभित्र पनि समस्याहरु छन् ?

बजारमा हामी व्यवसायी, कम्पनीहरु, नियामक निकाय, नेप्से, धितोपत्र बोर्ड र लगानीकर्ताकाबीच हुनुपर्ने समन्वय नभएको जस्तो मलाई पनि लाग्छ । लगानीकर्ताहरु सडकमा पुगेको पनि देखिइरहेको छ । सम्बन्धित निकायले जुन खालको भूमिका निभाउनुपर्ने हो त्यो ननिभाएको कारण यस्तो भएको हो कि ? समन्वय नभएको कारण मान्छे सडकमा आएको पनि हुन सक्छ ।

हाम्रो पाटाेबाट हेर्दा पनि पछिल्लो समय अलिक समन्वय नभएको हो कि जस्तो महसुस हुन्छ । नियामक निकाय धितोपत्र बोर्ड र नेप्से जस्ता अंगहरुले व्यवसायीसँग पहिलेभन्दा समन्वय कम गरिरहेको हो कि जस्तो लागिरहेको छ । नयाँ नीतिका कुराहरु आउँदा राय सुझाव माग्ने कामहरु भएको जस्तो लागेको छैन ।

नीति नियमलाई पालना गर्नुपर्ने हामीले नै भएकोले नीति बनाउँदा नै हामीसँग थोरै समन्वय गरिदिने काम भयो भने हामीलाई पनि काम गर्न सहज हुन्थ्यो जस्तो लाग्छ । त्यसको कार्यान्वयन पनि प्रभावकारी हुने थियो भन्ने लाग्छ । नभए एउटाले नियम बनाउने र कार्यान्वयन गर्ने निकायसँग सरसल्लाह नहुँदा कार्यान्वयनको पाटामा हुने कमजोरी थाहा नहुने भएको छ । यस्ता कुराहरुमा सल्लाह नभएर फेरि संशोधनमा जानुपर्ने जस्तो लामो प्रक्रियामा जानुपरिरहेको पनि देखिएको छ ।

अर्को कुरा सबै निकायबीच समन्वय नहुँदा बजारको उचित विकास हुँदैन । उदाहरणका लागि मार्जिन ट्रेडिङ भनेर जे कुरा आयो समन्वय नभएको कारण तीन वर्ष हुँदा पनि त्यसको कार्यान्वयन नभइरहेको अवस्था छ । हामीले दिएको सुझावहरु त्यो कार्यविधिमा समावेश नभएका कारण त्यो प्रोडक्ट हामीले बजारमा लानै सकिररहेका छैनौं । यस्ता समस्याले बजारको विकासमा ढिलाइ हुन्छ । बजारको विकास सन्तुलित नहुने पनि भएको छ ।

अन्तिममा, राज्य सरोकारवाला निकाय र आम लगानीकर्तालाई के भन्नुहुन्छ ?

पूँजीबजार अर्थतन्त्रको मेरुदण्ड हो । अर्थतन्त्रलाई तीब्र विकास गर्न हामीलाई पूँजी चाहिन्छ । सबै क्षेत्रलाई पूँजीको आवश्यकता हुन्छ । पूँजी परिचालनका लागि पूँजी बजारलाई सकारात्मक तरिकाले हेर्नुपर्छ । यसका समस्याहरुलाई चिनेर समाधानका बाटोमा सरकार लाग्नुपर्छ ।

माथिल्लाे ओहदामा रहेका व्यक्तिहरुले पूँजीबजारकाबारेमा हल्का टिप्पणी गर्नुभन्दा नबुझेको भए मौन रहनु राम्रो हुन्छ । जिम्मेवार व्यक्तिहरुले आम मान्छेलाई प्रभावित पार्ने लगानीकर्तालाई उत्तेजित गर्ने वक्तव्यहरु दिनुहुँदैन ।

लगानीकर्ताले देखासिखी गरेर लगानी गर्ने भन्दा पनि बजारको अवस्था र सूचकहरु हेरेर लगानी गर्नु राम्रो हुन्छ । हचुवामा पैसा लगानी गर्ने र पैसा गुमेपछि अनावश्यक कुराहरु गर्नुहुँदैन । तसर्थ अध्ययन गरेर, बुझेर, धेरै कुरा थाहा पाएर लगानी गर्नुहोला भन्न चाहन्छु ।

यो क्षेत्रमा जोखिम र सम्भावना दुवै भएकाले राम्रोसँग बुझेर लगानी गर्नका लागि लगानीकर्तालाई सुझाव दिन चाहान्छु । भावनामा बहकिएर हचुवामा देखानसिखीमा पूँजीको खर्च गर्नुहुँदैन । हामीले सेयर बजारका बारेमा बुझाउन पाउँछौं, तर यसमा लागानी गर भनेर भन्न पाउँदैनौं । तोकेर भन्न पाउने हाम्रो अधिकारको क्षेत्र होइन । हामीले पनि यसैमा बढ्छ र यसैमा घट्छ भनेर अनुमान गर्नसक्ने कुरा होइन । लगानी गर्ने नगर्ने भनेको लगानीकर्ताकै हातमा हुन्छ । जोखिम वहन गर्नका लागि तयार भएर पनि आउनुपर्ने हुन्छ । हामीले सेयर बजारका बारेमा जानकारी गराउने र लगानीको वातावरण बनाइदिने काम भने गर्न सक्छौं ।