काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।


ADVERTISEMENT


व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो । पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई प्रहरीले सार्वजनिक पनि गरेको छ ।


ADVERTISEMENT

# # #


उनीहरुले २०७८ वैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बीमा रकम लिएको अनुसन्धानबाट खुलेको व्युरोका प्रहरी अतिरिक्त महानिरिक्षक उत्तम राज सुवेदीले जानकारी दिए ।

उनीहरुले सवारी दुर्घटना गराएर बीमा रकम दाबी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए । विवाद अघि नै उनीहरुले सर्जनको जीवन बीमा र म्यादी जीवन बीमा गराएका थिए । दुर्घटनामा सर्जनको मृत्यु भएपछि २०७८ साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट सपनाले बीमा रकम बुझेर कामना सेवा विकास बैंक कोहलपुरको खातामा जम्मा गरेको देखिएको छ । त्यस्तै, २०७८ पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले सर्जन विकको सवारी दुर्घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई खबर गरेको र त्यसपछि व्युरोले अनुसन्धान गरेको सुवेदीले जानकारी दिए ।

दुर्घटना हुनुभन्दा दुई महिना अघि मात्रै मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु र मृतकको त्यति ठूलो बीमा गर्ने आर्थिक हैसियत नहुनु लगायत शंकाका आधारहरु देखिएको पनि व्युरोका प्रहरी अतिरिक्त महानिरिक्षक सुवेदीले बताए । गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्यु पश्चात बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।