काठमाडौं – काठमाडौंमा रहेका सामुदायिक विद्यालयहरुमा नाम चलेको र सबैले प्रशंसा गरिरहेको विश्व निकेतन माध्यमिक विद्यालयको मेयर बालेन शाहले भ्रमण गरेका छन् ।


ADVERTISEMENT


नेपालमै गिनेचुनेको नाममा परिरेहेको र उच्च स्तरको अध्यापन हुने विश्व निकेतनको  भ्रमणका क्रममा मेयर शाहले विद्यालयको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयको अझै स्तरोन्नति रहोस् भन्ने कामना गरेका छन् ।


ADVERTISEMENT

# # #


मेयर शाहले विद्यालयमा आफै‌ं उपस्थित भएर कक्षासमेत अवलोकन गरे । मेयर शाहले  विद्यार्थीहरुसँग सँगै बसेर विद्यालयको निरीक्षणमा विद्यालयको पढाई उच्च स्तरीय भएको कारण विद्यार्थीको चाप बढिरहेको निष्कर्ष निकालेका छन् ।

मेयर शाहले महानगरमै रहेका सरकारी विद्यालयहरुलाई राम्रो बनाउन पहल गर्ने बताउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारी स्कुललाई प्राथमिकतामा नराखी, सरकारी स्कुलको शिक्षा सर्वसुलभ र गुणस्तरीय नहुन्जेल देश अगाडि बढ्छ भन्ने सोच्नु दिवास्वप्न मात्र हो ।’

उसो त विसं २००३ सालको माघ १९ मा स्थापना भएको विश्व निकेतनमा हाल ४ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययन गरिररहेका छन् । नेपालमै सामुदायिक विद्यालयहरुको दाँजोमा अग्रणी स्थानमा रहेको  विश्व निकेतनको पढाइको अवस्था निजी विद्यालयहरुकोभन्दा कम छैन ।

गुणस्तरीय शिक्षाका लागि भन्दै विद्यार्थी र तिनका अभिभावकले सकभर निजी शिक्षण संस्थालाई नै रोज्ने गरिरहेको आजको परिवेशमा विश्व निकेतन भने हरेक वर्ष यी दुवैको रोजाईमा परिरहेको छ । प्रधानाध्यापक हेरम्बराज कँडेलले आफ्ना विद्यार्थीले एमबीबीएस,इन्जिनियरिंग कलेज, बीटीटीएम, बीएएलएलबी, बीबीए, र सीएमा पढ्न जाँदा हरेक वर्ष उल्लेख्यरुपमा  पूर्ण छात्रवृत्तिमा नाम  निकालिरहेको बताए ।

यसैगरी समग्र सामुदायिक विद्यालयको कुरा गर्दै प्रधानाध्यापक  कँडेल भन्छन्, ‘सरकारी विद्यालयमा तालिम पाएका अनुभवी शिक्षकहरु हुने उहाँहरुले पढाउनुपर्छ भन्ने आत्मबोध गरेमा निजी विद्यालयमा विद्यार्थीहरु जानै चाहँदैनन् ।’

मेयर शाहले विद्यालय भ्रमणमा पाएको अनुभव जस्ताको तस्तै :

‘त्रिपुरेश्वरको राहदानी विभागको पछाडि एउटा स्कुल छ, विश्व निकेतन माध्यमिक विद्यालय । यसको स्थापना २००३ सालको माघ १९ मा भएको थियो । अहिले यसमा कक्षा १ देखि १२ सम्म पढ्ने विद्यार्थीको संख्या ४ हजार छ । १ सय ३५ शिक्षक र कर्मचारीहरुको संयुक्त प्रयासबाट यो स्कुलले आफुलाई सरकारी शैक्षिक स्तरको मानक बनाएको छ ।

वि। सं २०७४ र २०७५ मा लगातार राष्ट्रिय शिक्षा पुरस्कार पाएको यो स्कुलको अन्य कुरामा पनि आफ्नो गुणस्तर प्रमाणित गरेको छ । यही बर्ष यहाँका १० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस र ४० जना भन्दा बढी विद्यार्थीले बीईमा  निस्शुल्क अध्ययनका लागि छात्रवृत्ति पाएका छन् । अझ गौरवपुर्ण उदाहरण छ कि गत बर्ष यहि विद्यालयका विद्यार्थी आशिक झाले एमबीबीएस प्रवेश परिक्षामा नेपालभरमै सर्वोत्कृष्ट स्थान बनाएका थिए ।

यहाँका शिक्षक तथा कर्मचारीहरुलाई यो स्कुलको गुणस्तरमा यति विश्वास छ कि ९०५ भन्दा बढी शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई यहि स्कुलमा पढाइरहेका छन् ।

आजको घरदैलोमा यी जानकारीहरु पाएपछि लाग्यो, विद्यालयको गुणस्तरका लागि मानक र उदाहरणहरु त हाम्रै महानगरमा पनि छन् । महानगरका लागि शिक्षाक्षेत्रको यो नमुना उपयोगी हुनेछ । याद गर्नै पर्छ, सरकारी स्कुललाई प्राथमिकतामा नराखी, सरकारी स्कुलको शिक्षा सर्वसुलभ र गुणस्तरीय नहुन्जेल देश अगाडि बढ्छ भन्ने सोच्नु दिवास्वप्न मात्र हो ।’

अवलोकनमा खिचिएका तस्बीरहरु