– डा. उज्वल भट्टराई


ADVERTISEMENT


विश्वमा रेडियोलोजी सेवा सुचारुको झण्डै दुई सय वर्ष जति पुगिसकेको छ । ‘इमेजिंग एक्जामिनेशन’ (दृश्य परीक्षण) पनि भनिने यस विधाका माध्यमबाट बिरामीको भित्री शरीरको अवस्थाबारे थाहा पाउन सकिन्छ ।


ADVERTISEMENT

# # #


आँखाले देख्न नसकिने शरीरका आन्तरिक भागहरुमा मेशिनको सहायताले भित्री अवस्था तथा समस्याको जानकारीका लागि गरिने परीक्षण विधा नै रेडियोलोजी हो ।

यसभित्र एक्स रे, भिडियो एक्स–रे अल्ट्रासाउण्ड, म्यामोग्राफी, सिटी स्क्यान र एमआरआई लगायतका परीक्षणहरु पर्छन् ।

कुन विधा केका लागि उपयोगी ?

रेडियोलोजी अन्तर्गत रहेका प्रत्येक विधाहरुको आ–आफ्नै विशेषता रहेको छ । तसर्थ यी विधाहरुको प्रयोग कुन भागको जाँच गर्ने ? अथवा कुन रोग पत्ता लगाउने ?  भन्ने कुरामा निर्भर रहन्छ । जसलाई सरल रुपमा हामी निम्न तवरले बुझ्न सक्छौ :

एक्सरे

एक्स–रे जुनसुकै अंगको पनि गर्न सकिन्छ । यसबाट हड्डीमा भएका भाँचिएको, टुक्रिएको वा  फुटेको समस्यादेखि छातीभित्र भएका समस्यासम्मको पहिचान गर्न सकिन्छ । फोक्सोको अवस्था तथा आन्द्राहरुको समस्या पहिचानका लागि पनि एक्स–रेको प्रयोग गरिन्छ ।

भिडियो एक्सरे

शरीरको अन्य भागमा पनि गरिने भएता पनि सामान्यतयाः नेपालमा धेरैजसो भिडियो एक्स–रे पेटमा गरिन्छ । यसरको माध्यमबाट मिर्गौला तथा पित्तथैलीको पत्थरी, ट्युमरहरु पत्ता लगाउन सकिन्छ ।

यस्तै, गर्भवती महिलाको सन्दर्भमा भने, यसबाट गर्भमा रहेको भ्रुणको अवस्था तथा पानीको मात्राबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

म्यामोग्राफी

विशेषगरी महिलाहरुको छातीमा गिर्खा वा समस्या देखिएमा त्यसबारे थप जानकारीका लागि यसको प्रयोग गरिन्छ । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि म्यामोग्राफी उपयुक्त विधि मानिन्छ ।

सिटी स्क्यान

शरीरका विभिन्न अंगहरुमा गर्न सकिने यसको विशेषता कुन भागमा गर्ने भन्ने कुरामा भर पर्छ । जस्तोः कुनै पनि व्यक्तिमा हातगोडा नचल्ने समस्या देखिएको अवस्थामा टाउकोमा रगत नपुगेर हो वा टाउकोमा रगत जमेको हो ? त्यो थाहा पाउन सिटी स्क्यान गरिन्छ ।

यस्तै, एक्स–रेमा छातीको समस्या देखाएमा कस्तो किसिमको समस्या हो ? त्यस विषयमा थप प्रष्ट हुनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । त्यसैगरी आन्द्राको कुनै रोग वा पेटभित्र ट्युमरको शंका लागेमा पनि सिटी स्क्यान गरिन्छ ।

एमआरआई

एमआरआईको प्रयोग विशेषतः सिटी स्क्यान तथा एक्स–रेमा पहिचान नभएको सन्दर्भमा गरिन्छ । जस्तो: भर्खरै टाउकोमा स्ट्रोक भएका बिरामीमा सिटी स्क्यान गर्दा नदेखिएको खण्डमा यसको प्रयोग सकिन्छ ।

यस्तै, विभिन्न कारणवश् एक्स–रेमा देखिएन तर पनि हातखुट्टा फ्याक्चरको आशंका छ भने त्यस्तो अवस्थामा लिगामेन्ट्स इन्जुरी हो वा होइन भनेर जान्नका लागि पनि ‘एमआरआई’ गरिन्छ ।

त्यसैगरी, ढाडमा नशा च्यापिएको छ वा छैन भनेर हेर्नका लागिको ढाडको एमआरआई गरिन्छ । समग्रमा भन्नुपर्दा, यो विशेषगरी हड्डी भन्दा पनि मासु वा लिगामेन्टको अवस्था जाँचका निम्ति गरिन्छ ।

माथि उल्लेखित विधाहरु व्यक्तिको समस्याअनुरुप सम्बन्धित चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ । तर, नेपालको सन्दर्भमा भने यो उचित रुपमा लागु भएको देखिदैँन ।

यस्तै, यसका निम्ति उचित नीति नियमहरु पनि बनेका छैनन् जसको अभावमा व्यक्तिहरुमा अनावश्यक विकीरणको प्रभाव पर्न गई विभिन्न रोगहरुको शिकार बन्न पुगेका छन् ।

उचित जनचेतनाको अभावमा भनौँ या इन्टरनेटको दुरुपयोगका कारण रेडियोलोजीको क्षेत्र पनि अहिले फार्मेसीहरुको अवस्थाजस्तै बन्न पुगेको छ । आफूमा कुनै पनि समस्या देखिए व्यक्तिहरु स्वइच्छाले नै आफैँ एक्स–रे, भिडियो एक्स–रे तथा सिटी स्क्यान गर्न जान्छन् । यहाँसम्म कि उनीहरुले यसका लागि सम्बन्धित चिकित्सकको सल्लाह पनि जरुरी ठान्दैनन् ।

परिणाम

रेडियोलोजीको क्षेत्र भनेको विकीरणयुक्त क्षेत्र हो । तसर्थ यसका उपयोगी त छ नै संगै उचित उपयोगको अभावमा यसका विकीरणहरुले मानव शरीरलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । तसर्थ त्यस्ता विकीरणहरु कोठा बाहिर नजाओस् भन्नका लागि प्रत्येक एक्स–रे गर्ने कोठा लिडले कोड भएको हुनुपर्ने मापदण्ड छ ।

तर, उचित मापदण्ड पालनाको अभावमा व्यक्तिमा विकीरणको नकरात्मक प्रभाव बढी पर्न गएको देखिन्छ । जसले शरीरको निम्न भागहरुमा असर पुर्‍याउने सम्भावना प्रबल रहन्छ :

–कपाल

–मस्तिष्क तथा मुटु

–थाइराईड

–रक्तसञ्चार

–अण्डकोष/अण्डाशय

–र, गर्भवतीको हकमा आमाको शरीर तथा भ्रुणको वृद्वि विकास दुवैमा ।

विकीरणको प्रभाव कुन व्यक्तिमा कति ?

विकीरणको प्रभाव प्रयोगको अवधि, व्यक्तिको अवस्था र डोजअनुसार, फरक–फरक हुन्छ । सामान्यतयाः उचित मापदण्ड पालनासंगै आवश्यक उपचारका लागि प्रयोग गरिने विकीरणले व्यक्तिमा खासै प्रभाव पार्दैन । तर, मापदण्ड पालना नगरिएको तथा छोटो अवधिमा नै धेरैपटक गरिएको एक्स–रे बाट भने व्यक्तिमा कालान्तरमा गई क्यान्सरजस्ता दीर्घकालीन असर समेत देखिन्छ ।

यस्तै, सिटी स्क्यानकै कुरा गर्नुपर्दा, तुलनात्मक रुपमा यसमा एक्स–रेको बढी विकीरणको प्रभाव हुन्छ । एउटा सिटी स्क्यानमा हजार वटा एक्स–रे बराबर विकीरण हुने गर्छ । यसर्थमा त्यसले व्यक्तिलाई कसरी र कति असर गरिरहेको छ ? भन्ने त्यसको कुनै हिसाब नै हुदैँन । जसले व्यक्तिमा लागतसंगै अन्य रोगको जोखिम समेत बढाउँछ । तसर्थ यस्ता असर नपरोस् भन्नका निम्ति हामीले चिकित्सकको पेस्क्रिप्सन बिना कुनै पनि सेवा दिने गरेका छैनौ ।

गर्भवती महिलाले एक्स–रे वा सिटी स्क्यान गर्दा त्यसले महिला तथा पेटको शिशु दुवैमा गम्भीर असर पर्दछ । अझः विशेषगरी गर्भावस्थाको पहिलो त्रैमासिक(तीन महिना) मा भ्रुणको अंगहरु बन्ने क्रममा सिटी स्क्यान गरेमा त्यसले शिशुको शारीरिक बनावटमै पनि असर पुर्याउँछ । परिणाम स्वरुप: शिशु जन्मजात रुपमा नै  विकलांग जन्मिने सम्भावना प्रचुर रहन्छ ।

यस्तै, सामान्य व्यक्तिको तुलनामा बालबालिका, वृद्धवृद्धा तथा विकलांगजस्ता कम प्रतिरोधात्मक क्षमता भएका समूहमा पनि यसको प्रभाव तुलनात्मक रुपमा बढी देखिन्छ । यस्तै,  केशहरुमा बिरामी आफैँ यी जाँचका लागि आउन नसक्ने हुँदा उनीहरुसंग सहयोगीका रुपमा अन्य दोस्रो व्यक्ति पनि सो कोठामा प्रवेश गरिरहेको हुन्छ । जसले बिरामीसंगै सो व्यक्तिमा पनि विकीरणको प्रभाव उत्तिकै देखापर्छ ।

यसबाहेक विकीरणका मेशिन प्रयोग गर्दा उचित मापदण्डको पालना नगरिएको खण्डमा यसले एक्स–रे गराउने व्यक्ति स्वयम्लाई पनि उत्तिकै हानी पुर्याउँछ । तसर्थ यस्तो केशमा भने हामीले उक्त दोस्रो व्यक्ति तथा परीक्षण गर्ने व्यक्ति आफैँमा पनि विकीरणको प्रभाव धेरै नपरोस् भन्नका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छ:

–लिडले बारेको कोठामा मात्रै एक्स–रे/सिटी स्क्यान मेशिनको प्रयोग गर्ने/गराउने

–एक्स–रे गराउँदा लिडबाट निर्मित ज्याकेटको प्रयोग गर्ने/गराउने

–थाइराइड प्रोटेक्टरको प्रयोग गर्ने/गराउने

–लिडद्वारा निर्मित पञ्जाको प्रयोग गर्ने/गराउने ।

यस क्षेत्रमा विद्यमान चुनौतीहरु

रेडियोलोजी क्षेत्र सावधानी अपनाएर दिइनुपर्ने सेवा हो । यस क्षेत्रमा विद्यमान चुनौती भनेकै यसका निमित्त बनेका मापदण्डहरुको उचित रुपमा पालना नगर्नु हो ।

काठमाडौँकै सन्दर्भमा हेर्ने हो भने, यहाँ केही अस्पताल तथा स्वास्थ्य संस्थाहरुले मापदण्ड अनुसार सेवाहरु प्रदान गरेपनि अधिकांशमा भने मापदण्ड बिना नै यी सेवाहरु प्रदान गरिएका हुन्छन् ।

त्यस्तै, लोकसेवामा लामो समयदेखि स्वास्थ्य क्षेत्रका जनशक्तिका लागि दरबन्दी नखुलाइएका कारण प्रायजसोः सहरी क्षेत्रबाहिर दक्ष जनशक्तिको अभावमा गैर दक्ष व्यक्तिद्वारा नै पनि यी सेवाहरु सञ्चालन गरिएको पाइन्छ ।

जसबाट उचित नतिजा त पाउन सकिदैन नै संगै यसको प्रयोग कस्ता व्यक्ति अथवा बिरामीमा गर्ने भन्ने सम्बन्धमा उचित जानकारी नहुँदा यसले थाइराइडको सामान्य समस्यादेखि व्यक्तिमा क्यान्सरसम्मको जोखिम उत्पन्न गराउँछ ।

यस्तै,  गर्भवतीहरुको सन्दर्भमा पनि यसले महिलाको स्वास्थ्यमा गम्भीर असर गर्नुका साथै शिशुको वृद्धि विकासमा समेत नकरात्मक असर पुर्‍याउँछ ।

त्यसैगरी, रेडियोलोजी सेवा वितरणको दौरान अपनाइनुपर्ने सावधानीबारे थाहा नहुँदा यसले सेवा लिने र दिने दुवैलाई असर त गर्छ नै संगसंगै उक्त क्षेत्र वरपर बस्ने अन्य व्यक्तिमा समेत विकीरणको प्रभाव पर्ने सम्भावना रहन्छ ।

चुनौती रोकथामका लागि थालिनुपर्ने पहलहरु

जथाभावी रेडियोलोजीका विधाहरुको प्रयोगबाट निम्तिने समस्या ननिम्तियोस् भन्नका लागि सर्वप्रथम त व्यक्ति आफैँ सर्तक हुनुपर्छ । यसका लागि उनीहरुले आफुमा कुनै पनि समस्या देखा परेमा सम्बन्धित चिकित्सकको सल्लाहमा यसै विषयमा दक्ष चिकित्सकबाट मात्रै यी सेवाहरु लिने बानी बसाल्नुपर्छ ।

यस्तै, सरकारी तवरबाट तत्काल थालिनुपर्ने महत्वपूर्ण कदम भनेको सरकारी अस्पतालहरुमा तत्काल रिक्त पदमा लोकसेवाको स्थायी दरबन्दी खुलाएर रेडियोलोजिष्टहरुको पदपूर्ति गरिनुपर्छ । ता की दुर्गम क्षेत्रमा समेत यी सेवासंगै दक्ष जनशक्तिको पहुँच पनि पुर्‍याउन सकियोस् ।

त्यसैगरी, दरबन्दी खुलाउन नसकिएको अथवा खुलाएर पनि सम्बन्धित दक्ष जनशक्तिको अभाव रहेको क्षेत्रमा भने त्यहाँ रहेका मेडिकल अफिसर अथवा स्वास्थ्यकर्मीलाईआपत्कालीन अवस्थामा अत्यावश्यक केशहरु व्यवस्थापन गर्न सकिने गरी ३ देखि ६ महिनासम्मको उचित तालिम प्रदान गर्न सकिन्छ । जसले गर्न सकिने जाँच/परीक्षणहरु त गर्न सकिन्छ नै संगै कस्तो अवस्थामा अन्त रिफर गर्ने ? भन्ने विषयसम्बन्धि प्राप्त ज्ञानका कारण बिरामीले समयमै उचित उपचार पाउने सम्भावनालाई समेत बढाउँछ ।

र, अन्त्यमा यस क्षेत्रमा कार्य सम्पादनका निम्ति सरकारले भएका मापदण्ड पालना भए/नभएको सम्बन्धमा अनुगमन गर्दै यसका निम्ति कडा कानुनको निर्माण समेत गर्नुपर्छ ।

(डा. भट्टराई ह्याम्स अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिस्ट हुन् ।)