काठमाडौं – नेकपा एमालेका नेता डा. अबुल हुसेन अन्सारीले भोटेकोशी बाढीपीडितको उद्धार, राहत वितरण र बेपत्ता नागरिकको खोजीमा सरकार प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।
उनले विपद् व्यवस्थापनदेखि वैदेशिक नीतिसम्म सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमण र अभिव्यक्तिको समेत आलोचना गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता हुसेनले ठूलो प्राकृतिक विपद्का बेला पनि सरकारले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको दाबी गरे। बाढीमा बेपत्ता भएका नागरिक र फेला परेका शवको अवस्थाबारे सरकारले स्पष्ट तथ्याङ्क सार्वजनिक गर्न नसकेको उनको आरोप थियो।
उनले विपद्का बेला प्रभावित नागरिकलाई राहत र उद्धारको अनुभूति दिलाउनुपर्ने सरकारको उपस्थिति कमजोर देखिएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाढी प्रभावित क्षेत्रमा नपुगेको भन्दै उनले त्यसप्रति पनि प्रश्न उठाए।
कार्यक्रममा हुसेनले अर्थमन्त्री स्वर्णिम वाग्लेको हालैको भारत भ्रमणलाई लिएर सरकारको वैदेशिक नीतिमाथि प्रहार गरे। भारतको राजधानी दिल्ली पुगेर वाग्लेले आत्मसमर्पणवादी नीति देखाएको आरोप लगाउँदै उनले सीमापारिबाट दैनिक उपभोग्य वस्तु ल्याउने नेपाली नागरिकले भोग्नुपरेको व्यवहारबारे सरकार मौन रहेको टिप्पणी गरे।
भारतको विरोध गरेर मात्रै राष्ट्रवादी बन्ने समय सकिएको भन्ने अर्थमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै हुसेनले सरकारको कूटनीतिक दृष्टिकोणमाथि प्रश्न उठाए। उनका अनुसार, सीमामा सर्वसाधारणले भोगिरहेका समस्या समाधान गर्न नसक्ने सरकारले भारतसँगको सम्बन्धमा जनताको हितलाई प्राथमिकता दिनुपर्छ।
यसैगरी, बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सात महिना बितिसक्दा पनि कुनै बहुराष्ट्रिय कम्पनी वा विदेशी लगानीकर्ता नेपाल भित्र्याउन नसकेको हुसेनले दाबी गरे। लगानी आकर्षित गर्न आवश्यक वातावरण निर्माणमा सरकार असफल भएको उनको आरोप थियो।
नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका हुसेनले कांग्रेसभित्र योग्य र काम गर्ने व्यक्तिको मूल्याङ्कन हुन छाडेको पनि बताए। पार्टीमा शक्ति र पहुँचका आधारमा अवसर बाँडिने प्रवृत्ति हाबी भएको आरोप लगाउँदै उनले आफूजस्ता निष्ठावान् नेता तथा कार्यकर्ता पार्टी छाड्न बाध्य भएको जिकिर गरे।
अन्त्यमा, उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। वामपन्थी शक्तिबीच सहकार्य र एकताले आगामी राजनीतिक प्रतिस्पर्धामा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो।



























