-डा. सुमन चापागाईं, (यूरोलोजिस्ट)


ADVERTISEMENT


सामान्यतयाः युरोलोजी भन्नाले शल्यक्रियासम्बन्धी विषय भन्ने बुझिन्छ । यस अन्तर्गत मूत्रप्रणालीसंग सम्बन्धित मिर्गौला, मूत्रथैली, मूत्रनली तथा व्यक्तिको ज्ञानेन्द्रियहरुको शल्यक्रिया गरिन्छ ।


ADVERTISEMENT

# # #


युरोलोजीको क्षेत्रमा देखिने विभिन्न समस्यामध्ये पत्थरी एक साझा समस्या हो । जसमा  धेरैजसो बिरामीहरु मिर्गौला, मूत्रनली तथा पिसाबथैलीका पत्थरीको समस्या लिएर आउँछन् । यसबाहेक प्रोस्टेट ग्ल्याण्ड(पुरुष ग्रन्थी), युरिन इन्फेक्शन(पिसाब संक्रमण) किड्नी ट्रान्सप्लान्ट (मिर्गौला  प्रत्यारोपण) तथा क्यान्सरहरु पनि यसै क्षेत्रभित्रका उपचार दायराहरु हुन् ।

यसका लक्षणहरु

रोगका लक्षणहरु सबै बिरामीमा देखिन्छ भन्ने हुदैँन । कतिपय अवस्थामा आफु स्वस्थ्य छु भनेर नियमित जाँचका लागि आउने व्यक्तिहरुमा पनि पत्थरी, तथा क्यान्सरलगायतका रोगहरु पहिचान भएका घटनाहरु पनि प्रशस्त हुन्छन् ।

तर, समयमै रोग पहिचान नभएका व्यक्तिलाई भने कालान्तरमा गएर यो समस्याले एक्कासी सताएको देखिन्छ । जसकारण पनि अधिकांश बिरामीहरु जटिल समस्याका कारण अस्पताल आउन बाध्य हुन्छन् ।

यसबाहेक मूत्रनली (मिर्गाैला र पिसाबथैली जोड्ने नली) मा पनि समस्या हुने गर्छ । लक्षण देखिएका बिरामीको सन्दर्भमा यी लक्षणहरु देखा पर्ने गरेको पाइएको छ :

-मन्द वा अत्याधिक ढाडको दुखाई

-पेट तथा कोखामा असहज महशुस हुनु

-पिसाब पोल्नु

-तल्लो पेटको दुख्नु

-तारन्तार पिसाब लाग्नु

-पिसाबमा रगत देखिनु ।

रोगको पहिचान

यी लक्षण देखिएका बिरामीमा आवश्यक परीक्षण गर्दा यीसम्बन्धी विभिन्न रोगहरु पहिचान भइराखेका हुन्छन्, भने लक्षण छैन भनेर बेवास्ता गर्ने बानीले पनि अधिकांशमा यसले उग्र रुप लिइसकेको हुनसक्छ। जसले व्यक्तिमा अनावश्यक पीडा त पैदा गर्छ नै संगै थप स्वास्थ्य जटिलताहरु पनि निम्त्याउने  सम्भावना प्रबल रहन्छ ।

तसर्थ यी समस्याले आफुलाई नसताओस् भन्नका निम्ति आफुमा कुनै पनि समस्या नदेखिएका सामान्य व्यक्तिदेखि समस्याहरु भएका  जोकोहिले आफ्नो स्वास्थ्य नियमित जाँच गराउनुपर्छ ।

उपचार पद्वति उपचार

समस्या देखिएका प्रत्येक व्यक्तिलाई शल्यक्रिया आवश्यक नपर्न सक्छ । तसर्थ, कुनै पनि व्यक्तिमा यससम्बन्धि रोग पहिचान हुने बित्तिकै सर्वप्रथम व्यक्तिको अवस्थाबारे उचित अध्ययन गर्न जरुरी हुन्छ र अवस्थाअनुसार औषधी अथवा शल्यक्रियाको निर्णय गरिन्छ ।

औषधिको सेवन

व्यक्तिमा देखापरेको समस्याले शरीरमा असर नपार्ने अवस्था भएको खण्डमा भने ‘वेट एण्ड सी’, (पर्ख र हेर) को पद्वतिलाई पनि प्राथमिकता दिन सकिन्छ ।  यस अवधिमा बिरामीलाई आवश्यक औषधी सेवनको सल्लाह दिइन्छ । तर, यत्तिकैमा व्यक्तिलाई थप उपचार आवश्यकता छैन भन्ने हुँदैन । यसका लागि समयअनुसार, बिरामीको उपचार विधि मिलाउनुपर्ने हुन्छ ।

शल्यक्रिया

युरोलोजीको क्षेत्रमा गरिने मुख्य उपचार भनेको शल्यक्रिया हो । यसमध्ये पनि पत्थरी को शल्यक्रिया सबैभन्दा बढी गरिने शल्यक्रिया हो ।

पत्थरी मिर्गाैलाका विभिन्न भागहरुमा गएर बस्ने भएकाले यो सबै व्यक्तिमा एकै स्थानमा देखापर्छ भन्ने हुदैँन । यसकारण पनि व्यक्तिमा गरिने शल्यक्रिया समेत पत्थरीको अवस्थाअनुसार फरक–फरक हुन्छन् ।

धेरैजसो पत्थरी मिर्गाैलामा नै बन्ने गर्छ । तर, मिर्गाैलामा भएको पत्थरी खसेर नलीमा आउनु सबैभन्दा मुख्य समस्या हो । यस्ता बिरामीलाई एक्कासी अत्याधिक दुखाई हुन्छ भने, कतिपय केशमा यसले गम्भीर अवस्थामा समेत लैजान सक्छ ।

यस्तै अर्काे मुख्य समस्या भनेको युरीनरी सिस्टम (मूत्र प्रणाली) मा हुने क्यान्सरहरु हुन् । जसमा मिर्गाैला, पिसाथैली, प्रोस्टेट ग्ल्याण्ड तथा अण्डकोष आदि मुख्य हुन् । यी रोगहरु समयमै उपचार गर्न सकेमा परिणाम निकै राम्रो रहेको छ । शुरुमै पत्ता लागेमा शल्यक्रिया गरी यी क्यान्सरहरुको राम्रो उपचार हुन्छ र यसका सबै सुविधा नेपालमै उपलब्ध छ ।

शल्यक्रियाका विधिहरु

इन्डोयुरोलोजी

युरोलोजी क्षेत्र अन्यको तुलनामा एकदमै युनिक विषय पनि हो । यसमा शरीरको ‘नेचुरल ओरिफेस’ अर्थात्, पिसाबनलीबाटै दुरबिनको सहायताले विभिन्न किसिमको शल्यक्रिया सम्पन्न गर्छाै । जसलाई चिकित्सा भाषामा ‘इन्डोयुरोलोजी’ पनि भनिन्छ ।  यो पद्धतिमा पिसाबनली अथावा मिर्गौलामा भएका पत्थरीहरुलाइ लेजरमार्फत धुलो बनाएर सफा गरिन्छ । जसका निमित्त अत्याधुनिक प्रविधिहरु हाल हाम्रै देशमा उपलब्ध छन् ।

पीसीनीएल

यसमा व्यक्तिको अवस्था र आवश्यकताअनुसार कोखामा कृत्रिम प्वाल बनाइन्छ । र, सोहि  प्वाल हुँदै हामी मिर्गौलाभित्र उपचार गरिन्छ । यो अन्य शल्यक्रिया पद्वतिको तुलनामा निकै प्रचलित विधि पनि हो ।

आरआईआरएस(RIRS)

हाल आएर हामीले ‘आरआईआरएस’ पद्धतिको प्रयोग गरिहेका छौं । यो पद्धति विश्वकै सन्दर्भमा पछिल्लो पटक निकै फस्टाएको छ । यसमा लुलो दुरबिनलाई पिसाबको बाटोबाट छिराई मिर्गाैलासम्म पुगेर लेजर प्रयोग गरी पत्थरीलाई धुलो बनाइन्छ ।

टियुआरपी/होलेप/थफ्लेप (TURP/HOLEP/THUFLEP)

पत्थरीबाहेक म्यागिम्यान्सी क्यान्सर तथा ‘बिनाईन प्रोस्टेट ईनन्लार्जमेन्ट’(बीपीई) पनि देखिने अर्काे प्रमुख समस्या हो ।

उमेर बढेका प्ररुषहरुमा देखिने यो समस्यामा दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ । यसमा पनि उत्कृष्ट मानिने मोनोपोलार, बाईपोलार र लेजर प्रयोग गरिन्छ ।

ल्याप्रोस्कोपी

यो युरोलोजी विषयमा अत्यन्त प्रयोग गरिने पद्वति हो । यसमा सानो सानो प्वाल बनाएर दुरबिनको सहायताले स्क्रिनमा हेरेर शल्यक्रिया गर्ने गरिन्छ । यसैलाई  ‘ल्याप्रोस्कोपी’ को शल्यक्रिया पद्धति भनिएको हो । यो पद्धति विभिन्न रोगहरु लगायत क्यान्सरमा पनि प्रयोग गरिन्छ ।

शल्यक्रियापछि दैनिकीमा फर्कन लाग्ने अवधि

यो कस्तो र कत्रो अप्रेशन गरिएको हो ? भन्ने कुरामा भर पर्छ । अन्य क्षेत्रभन्दा युरोलोजीका बिरामीहरु छोटो अवधिमा नै आफ्नो दैनिकीमा फर्कने सम्भावना उच्च रहन्छ ।

शल्यक्रियापछिको जीवन

बिरामीमा रोगको पहिचान समयमै भएमा उचित उपचारमार्फत राम्रो नतिजा पाउन सकिन्छ । कतिपय शल्यक्रिया गरी सोहि दिन वा १ दिनमै काममा फर्कन सकिने पनि हुन्छ ।

तर, जटिल केशहरुमा भने सोहि किसिमको उपचार आवश्यक पर्छ । यसमा पनि सबै केशहरुमा व्यक्ति पूर्ण रुपमा निको हुदैनन् । जस्तैः केही क्यान्सरको शल्यक्रियापश्चात् पनि किमोथेरापी अथवा रेडियोथेरापी समेत चलाउनुपर्ने हुनसक्छ ।

नेपालमा युरोलोजीको वर्तमान अवस्था

खुशिसाथ भन्नुपर्छ, नेपालमा हाल युरोलोजी क्षेत्रको एकदमै विकास भएको छ ।

यस क्षेत्रमा नयाँ-नयाँ साधनहरु भित्रिएको छ । हामीले दिइरहेको सेवा पश्चिमा देशहरुमा दिइरहेको सेवा जस्तै विकसित रहेको छ । तुलनात्मक रुपमा नेपालमा यस विषयमा दक्ष जनशक्तिको उत्पादन पनि धेरै भएको छ ।

तसर्थ प्रविधि, ज्ञान र जनशक्तिका हिसाबले नेपालमा युरोलोजी विषयमा राम्रो विकास भएको छ भन्न सकिन्छ ।  केही ठूला प्रविधिहरु जस्तोः रोबोट नेपालमा भित्रिन बाँकी रहे तापनि नेपालमा अन्य धेरै कुराहरु भित्रिसकेका छन् ।

नेपालमा युरोलोजीका सबैजसो शल्यक्रिया सम्भव भएको छ । अधिकांश अस्प्तालमा हामीले लेटेस्ट टेक्नोलोजीबाट नै उपचार गरिरहेका छौं ।

नेपालमा यसको चुनौती

यस क्षेत्रमा भएको विद्यमान चुनौती भनेकै समयमै रोगको पहिचान नहुनु हो । विगतको तुलानमा पछिल्लो समय बिरामीहरु चनाखो भएर अस्पताल आउने क्रम बढे पनि प्रोस्टेट क्यान्सरका बिरामीहरु अझैपनि एकदमै ढिलो अस्पताल आएको पाइन्छ ।

लक्षण धेरैजसो अवस्थामा जटिल नहुने भएकाले पनि रोग छिप्पिएपछि मात्रै मान्छेहरु अस्पताल आउने गर्छन् । जसले स्वास्थ्यमा जटिलता पैदा गर्नुका साथै पूर्ण रोग निदानमा समेत समस्या उत्पन्न गराउँछ ।

तसर्थ यसका लागि भने, सबैभन्दा पहिले हरेक नागरिकले म पनि बिरामी हुन सक्छु भन्ने कुराको अनभूति गर्नुपर्छ भने आफुमा देखिएका कुनै पनि समस्यालाई बेवास्ता नगरी चनाखो भएर त्यसको निदानका लागि सम्बन्धित चिकित्सकको सल्लाह लिँदै आवश्यकता अनुरुप समयमै उचित उपचार गराउनुपर्छ ।

(डा. चापागाईंसँग गरिएको कुराकानीमा आधारित)