काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित भएको छ । बिहीबार प्रतिनिधिसभामा भएको छलफलपछि मतविभाजनका आधारमा उक्त बिधेयक बहुमतले पारित भएको हो ।


ADVERTISEMENT


आजको प्रतिनिधिसभाको बैठकमा १९५ जना सांसद उपस्थित रहेका थिए । जसमध्ये मत विभाजनमा नागरिकता विधेयकलाई प्रस्तुत रुपमा नै पारित गरियोस प्रस्तावको पक्षमा १३५ सांसदले मतदान गरे भने विपक्षमा ६० मत पर्यो । विधेयकका पक्षमा खसेको मत आजको उपस्थित सांसद संख्याको बहुमत भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पारित भएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले विधेयक सन्देशसहित फिर्ता पठाएकाले पुनर्विचार गरेर मात्रै पारित गर्नुपर्ने अडान राखेको थियो । तर, सत्ता गठबन्धनले विधेयक जस्ताको त्यस्तै पारित गरेर पुनः राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेसँगै एमालेले विधेयक पारित गर्नका लागि मतदान हुनुपर्ने माग राखेको थियो । सोही अनुसार सभामुख अग्निप्रसाद सापकोटाले मतदान प्रक्रिया सुरु गरेका थिए ।

प्रतिनिधिसभाबाट पारित भएसँगै विधेयक अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रियसभामा पनि बहुमतले पारित भए विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपति भण्डारीकहाँ जानेछ ।

अब राष्ट्रपतिले विधेयक फिर्ता गर्न पाउने छैनन् । उनले विधेयक प्रमाणीकरणका लागि पेश भएको १५ दिनभित्र पारित गर्नुपर्ने संवैधानिक बाध्यता रहनेछ ।

यसअघि संसद्ले साउन १५ गते पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरेको थियो । तर, राष्ट्रपति भण्डारीले साउन २९ गते वैवाहिक अंगीकृतको व्यवस्था र महिलाले आफ्ना सन्तानलाई नागरिकता दिँदा स्वघोषणा गर्नुपर्ने व्यवस्थसहितका विषयमा सुझावसहित पुनः विचारका लागि फिर्ता पठाएकी थिइन् ।