फिजियोथेरापी विभिन्न उपचार पद्वतिमध्ये एक हो । यसले थुप्रै रोगहरुको निवारण गर्न सक्ने भएतापनि नेपालमा यसबारे कमै व्यक्तिहरु मात्र जानकार छन् । यद्यपि नेपालमा  विगतको तुलनामा यो उपचार पद्धती निकै अघि बढिसकेको फिजियोथेरापिष्ट डा. रविन्द्र बस्नेतको भनाई छ । यसै विषयमा विज्ञता हासिल गरेका उनीसँग फिजियोथेरापी भनेको के हो ? यसका विधा र नेपालमा यसको अवस्थाबारे ह्याम्स अस्पतालका फिजियोथेरापी विभाग प्रमुख डा. बस्नेतसँग हिमालय पोष्टकर्मी सृजना मगरले गरेको कुराकानीको सम्पादित अंक: 


ADVERTISEMENT


फिजियोथेरापी भनेको के हो


ADVERTISEMENT

# # #


फिजियोथेरापी भनेको चिकित्सा क्षेत्रको विभिन्न उपचार पद्वतिमध्ये एक हो । यस उपचार पद्वतिमा मानव शरीरका नशा, मांसपेशी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास ,रक्तसञ्चारजस्ता कुनै पनि अंग तथा प्रणालीमा देखापर्ने समस्याहरुलाई विभिन्न विधिमार्फत बिनासाइड इफेक्ट उपचार गरी निको पारिन्छ।

साथै यसले व्यक्तिको बढ्दो उमेरले  वा अन्य कुनै पनि रोग तथा घटनाका कारणले गर्दा देखापर्ने शारीरिक असहजताको व्यवस्थापन गर्दै शरीरलाई पुनः पहिलेकै अवस्थामा फर्काउन समेत मद्दत गर्छ ।

समग्रमा भन्नुपर्दा,  शरीरको  अधिकतम कार्यात्मक क्षमता (Maximum Functional Capacity) बढाउँदै लैजानुका साथै व्यक्तिको जीवनको गुणस्तर ( quality of life )लाई  उकास्न मद्दत पुर्‍याउने उपचार पद्वति नै फिजियोथेरापी हो ।

फिजियोथेरापी अन्तर्गत व्यक्तिको उपचार कसरी गरिन्छ ? 

फिजियोथेरापीमा उपचार विभिन्न आधुनिक विद्युतीय उपकरण, शारीरिक व्यायाम, पुर्नस्थापना (Physiotherapy Rehabilitation) लगायतका विभिन्न विधि तथा पद्वतिको प्रयोगबाट गरिन्छ।

जसमा पनि बिरामीलाई कस्तो उपचार चाहिन्छ? भन्ने कुरा बिरामीको स्वास्थ्य अवस्था परिक्षण एवम् शरीरको आवश्यकता अनुसार निर्धारण गरिन्छ  । यसको प्रयोगबाट सामान्यदेखि जटिल शारीरिक समस्यासम्मको निराकरण गर्न सकिन्छ ।

यसका प्रमुख विशेषताहरु केके हुन् ?

थुप्रै विशेषतामध्ये साइड इफेक्ट रहितको  उपचार नै यसको प्रमुख  विशेषता हो । जसले  बिरामीको शारीरिक पक्षमा सुधार गरी सबल शारीरिक पुर्नस्थापनामा विशेष जोड दिनुका साथै  बिरामीलाई  पिडारहित जीवन जिउन योग्य बनाउँछ ।

र, अर्काे भनेको यो व्यक्तिको गुणस्तर जीवनमा केन्द्रित हुने उपचार पद्वति भएकाले यसले बिरामीलाई मात्रै नभई सामान्य व्यक्तिलाई पनि सक्रिय जीवनशैली अभिलम्बन गर्न प्रेरित गर्दछ ।

यो उपचार पद्वति कस्ता व्यक्तिका लागि बढी लाभदायिक हुन्छ ?

फिजियोथेरापी गुणस्तरीय जीवनलाई बढावा दिने, पीडारहित जीवन जिउन सिकाउने र पछि गएर शरीरमा जटिल समस्या नदेखियोस् भन्नका लागि पूर्व तयारीका  रुपमा पनि अपनाउन मिल्ने  एउटा उपचार पद्धती भएकाले यो सबैका लागि  लाभदायिक मानिन्छ ।

जीवनचक्रको कुनै समयमा हामी सबैले  एक्कासी ढाड, गोडा, कम्मर या हाडजोर्नीहरुमा अनावश्यक दुखाई महशुस गर्नेजस्ता सामान्य समस्या भोग्दै आएका हुन्छौ जसको कारणबारे हामी अन्जान नै हुन्छौ । तर, हामीले अलिकति मात्रै पनि आफ्नो जीवन जिउने पद्वति परिमार्जन गर्दै शरीरलाई उचित ढाँचामा (Correct Posture) राखेर काम गर्‍यौ र हरेक कामपुर्व आफ्नो शरीरको क्षमताबारे थाहा पायौँ भने त्यस्ता समस्याहरु देखिने सम्भावना निकै नै कम भएर जान्छन् ।

यसर्थ यस किसिमका सम्पूर्ण सरल तर दैनिक जीवनमा आवश्यक अति नै महत्वपूर्ण कुराहरु सबै फिजियोथेरापी भित्रै  पर्ने र लाभदायिक पनि भएकाले यसको आवश्यकता बिरामीलाई  मात्र नभई सबै वर्ग तथा उमेर समूहमा छ ।

यसभित्र केकस्ता विधाहरु पर्दछन् ?

अन्य उपचार पद्वतिहरुमा जस्तो फिजिथेरापी भित्र पनि अर्थो, कार्डियोलोजी, स्पोट्र्स, न्युरो, जेरियाट्रिक, जनरल, महिला रोग तथा कम्युनिटी बेस रिह्याब्लिटेशन (CBR) लगायतका थुप्रै विधाहरु छन् । जस्तोः अर्थोअन्तर्गत हाडजोर्नी मांसपेशीका दुखाई ,न्युरोमा नशासंग सम्बन्धित, मेरुदण्डको चोट पटक,  ‘पल्मोनरी रिह्याब’ अन्तर्गत कोभिड भइसकेका  तथा फोक्सोका सम्बन्धि बिरामीहरुको उपचार पर्दछ भने स्पोर्ट्स विभिन्न खेलकुद र खेलाडीहरुको स्वास्थ्य तथा उनीहरुको उपचारमा केन्द्रित रहन्छ ।

यसैगरि महिलाको प्रसुती स्वास्थ्यको सन्दर्भमा विशेषगरि गर्भवति अवस्थामा (Antenatal) गर्न मिल्ने र सुत्केरी अवस्था मा गर्न मिल्ने (Postnatal) व्यायामहरु सिकाइन्छ । जसले  प्रसवमा सजिलो बनाउँछ र प्रसुतिपश्चात् देखिने धेरै समस्याहरुलाई कम गर्न मद्दत पुर्‍याउँछ। यसका साथै गर्भावस्थामा महिलाको शरीररका  मांसपेशीहरुमा आएका परिवर्तनलाई  पहिलेको अवस्थामा ल्याउन मद्दत समेत गर्दछ ।

यस उपचार पद्वतिमा लाग्ने समयावधिको बारे पनि अलिकति बताइदिनुस् न !

यसमा बिरामीको आवश्यकता अनुरुप उपचारको अवधि निर्धारण गरिन्छ । र, यो व्यक्तिको शरीर, उमेर र अवस्थामा भर पर्ने भएकाले कुन व्यक्तिमा कति र कहिलेसम्म गर्नुपर्छ ? भन्ने विषय निश्चित रुपमा भने तोक्न सकिदैँन । कसैको उपचार लामो समयसम्मका लागि हुन्छ भने कसैलाई  छोटो समयमा सजिलै गर्न सकिने प्रक्रियाहरु अपनाएर उपचार गर्नुपर्ने हुन्छ  । यस्तै, यसका उपचार  विधिलाई एकपछि अर्को  गर्दै चरणबद्व रुपमा अघि बढाउँदै पनि लैजानुपर्ने हुन्छ ।

यस्तै, कतिपयलाई केहि समयसम्मका लागि व्यायामको  लागि मेशिनको  समेत  प्रयोग गरिन्छ भने  कतिपयलाई घरमै नियमित व्यायाम गर्न पनि लगाइन्छ । यद्यपि उपचारबाट शरीरमा आएका सुधारको  जाँच गराउन  अस्पताल आउनुपर्छ । संगै फिजियोथेरापिस्ट र अन्य डाक्टरको  सल्लाह बमोजिम उपचारमा परिवर्तन ल्याउन पर्ने पनि हुन सक्छ ।

फिजियोथेरापीको प्रभाव कहिलेसम्म रहन्छ  ?

फिजियोथेरापी उपचारको स्थायित्व भन्नेबित्तिकै  फिटनेसको कुरा रहन्छ जसलाई  व्यायामको माध्यमबाट हासिल गर्न  सकिन्छ । एकचोटि व्यायाम गरेर आफ्नो स्ट्रेन्थ लेभल बढ्यो अब यसको खाँचो छैन भन्ने हुँदैन ।  अर्थात्, व्यायाम गरिह्यो भने त्यो व्यवस्थित हुन्छ अन्यथा गरिएन भने हुदैँन । यद्यपि व्यायामलाई भने हामीले घरमै पनि निरन्तरता दिनुपर्छ । यसले अन्तिम चरणसम्म हाम्रो जीवनलाई सरल रुपमा व्यतीत गर्न सघाउ पुर्‍याउँछ  जुन सबैको हकमा लागू हुन्छ ।

यसर्थ व्यायामलाई निरन्तरता दिइयो भने त्यसले सोहि रुपमा शरीरको ऊर्जालाई सञ्चित गरिराख्न मद्दत गर्छ  र सेवन गर्नुपर्ने औषधिसंगै भविष्यमा अस्पताल धाउनुपर्ने मात्रालाई समेत कम गराउन मद्दत गर्दछ ।

फिजियोथेरापीको प्रभाव मानसिक स्वास्थ्यमा कस्तो रहन्छ ?

शारीरिक र मानसिक स्वास्थ्य एकअर्काका परिपूरक हुन् । सामान्य मानिसमा  कुनै पनि किसिमका शारीरिक विकार देखापर्ने बित्तिकै या भनौँ कुनै किसिमको घटनाले आत्मनिर्भरबाट एकैछिनमा परनिर्भर हुनु पर्दा उनीहरुमा आत्मबल  घट्ने गरेको पाइन्छ। त्यसैगरि कमजोरी सबैभन्दा ठूलो मानसिक समस्या हो ।

कसैले पनि आफु कुनै कुरामा कमजोर छु भन्ने मानसिकता राख्यो भन्ने उसले त्यो कुरा कहिले पनि गर्न सक्दैन।  त्यसैले फिजियोथेरापीमा बिरामीको उपचार गर्दा उसको शाररिक मात्र नभई मानसिक रुपमा कतिको सबल छ ? सिकाएको व्यायामलाई ग्रहण गर्न सकेको छ वा छैन ? भने कुरामा पनि विशेष ध्यान दिइन्छ र त्यसैअनुरुप व्यक्तिको मानसिक स्वास्थ्यलाई सघाउ पु¥याउँदै जीवनोस्तर उकास्नका लागि परामर्श समेत दिइन्छ।

तसर्थ फिजियोथेरापी शारीरिक स्वास्थ्यसंगै मानसिक स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायिक रहनुका साथै यसले व्यक्तिको मानसिक समस्याहरुलाई पनि राहत दिने सामर्थ राख्छ ।

वर्तमान समयमा नेपालमा फिजियोथेरापीको अवस्था के ?

नेपालमा विगतमा जस्तो फिजियोथेरापीको अवस्था त्यति नाजुक छ जस्तो  मलाई लाग्दैन । अहिले फिजियोथेरापीमा धेरै परिवर्तन आएर यो निकै अगाडि बढिसकेको छ । विगतमा फिजियोथेरापीलाई अन्तिम विकल्पमा राखिन्थ्यो भने अहिले यसको महत्व बुझेपछि यसलाई अग्रस्थानमा ल्याएर प्राथमितकता दिन थालिएको छ ।

यसको प्रचारप्रसारका लागि बेलोबेलामा विभिन्न कार्यक्रमार्फत उचित जनचेतना प्रवाहका लागि हाम्रा अग्रजहरु लागिपर्नु भएको छ । रिह्याब(पुर्नस्थापना)को विषयमा केहि जनशक्तिलाई तालिम प्रदान समेत गरिन थालिएको छ। यस्तै, अहिले बिरामीहरुको बारेमा  अभिलेख राख्न थालिएको छ जसले गर्दा  भविष्यमा बिरामीका आवशएकता अनुसार  नया उपचार योजना  बनाउन सहयोग पुग्ने छ ।

त्यसैगरि, पढाईकै सन्दर्भमा पनि पहिले फिजियोथेरापी विषय  डिप्लोमा मात्रै सिमित थियो भने अहिले यसै सम्बन्धि मास्टर्स र पिएचडी समेत हुन थालिसकेको छ । जसले गर्दा  यो क्षेत्रमा दक्ष जनशक्तिको संख्या बढिरहेको छ ।

यति हुँदाहुँदै पनि यस क्षेत्रमा केकस्ता चुनौतीहरु देख्नुहुन्छ ?

यस क्षेत्रको मुख्य चुनौती भनेकै यसबारे व्याप्त जनचेतनाको अभाव हो । सामान्य मानिसहरुलाई कस्तो किसिमको शाररिक अवस्थामा फिजियोथेरापीको  अवाश्यकता पर्दछ भनेर थाहा छैन । कुनै पनि शारीरिक एवम् मानसिक घटनापछि परेको आघात न्युनिकरणका लागि फिजियो पुर्नस्थापना केन्द्रको (Physio Rehabilitation Center) आवश्यकता पर्छ भन्ने कुराको चेतना नभएकाले धेरैले यो सेवा उपभोग गर्नु भएको छैन ।

यस्तै, फिजियोथेरापी उपचार भन्ने बित्तिकै अधिकांशले मसाजको माध्यमबाट मात्रै गरिने उपचार भन्ने बुझ्नु हुन्छ । जबकी मसाज यस पद्वति अन्तर्गतको एउटा  उपचार विधि मात्रै हो र त्यो पनि घरमा गर्ने भन्दा फरक किसिमले चरणबद्व तरिकाले विभिन्न मापदण्डहरु पुरा  गरेर गरिन्छ । यस अर्थमा भन्नुपर्दा,  यो पद्वतिमा  मसाज बाहेक पनि अन्यतरिकाहरु जस्तैः व्यायाम, तातो र चिसो सेकाइका साथै अन्य प्रबिधिहरुको  प्रयोग बाट बिरामीको उपचार गरिंन्छ ।

शरीरको दुखाइलाई  कम गर्ने औषधि होस् या अन्य औषधिको सेवन गरिरहेका बिरामीहरु अथवा अपरेसन नै गरेका बिरामीहरुका लागि पनि शरीरका मसपेशीहरुलाई  पहिलाकै अवस्थामा ल्याउन यो प्रयोग हुन्छ भन्ने बारेमा पनि सबै जानकार छैनन् । फिजियोथेरापीले बिरामीलाई शारीरिक पिडाबाट मात्रै मुक्त नबनाई उनीहरुको मानसिक स्वास्थ्यमा  पनि सुधार गर्न सहयोग गर्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।

देशका ग्रामीण क्षेत्रसम्म यो सेवा उपलब्ध हुन सकेको छैन धेरै कम मात्रामा मात्रै फिजियोथेरापीको उपभोग भएको छ । जसकारण पनि अझै धेरैजना यसको लाभ लिन बाट वञ्चित भएको पाइन्छ ।

यसका लागि सरकारी तवरको आवश्यकता कत्तिको महत्वपूर्ण छ ?

फिजियोथेरापीलई अझै माथि उकास्न सरकारको आवश्यकता अपरिहार्य छ । अहिले सरकारी क्षेत्रमा पनि विस्तारै रिह्याबहरु बन्ने र बढ्ने क्रममा छन् । यस्तै खेलकुद परिषद्हरुमा पनि फिजियोलाई अझै माथि उकास्न पहिलेकोभन्दा बढी प्राथमिकता दिन थालिएको छ ।

तर, अझैपनि आम जनतामा फिजियोथेरापीबारे उचित जनचेतना फैलाउन आवश्यक छ । जसले गर्दा यसको विकास प्रवर्धनमा टेवा मिल्नेछ । यस्तै, अहिलेको नयाँ स्वास्थ्य प्रणालीमा हरेक तहमा फिजियोथेरापीको थप दरबन्दी पनि बढाउन सकिएमा यसबाट आम सर्वसाधारणले पनि यसको लाभ उठाउन सक्थे होला जस्तो मलाई लाग्छ ।

अन्त्यमा ह्याम्सले फिजियोथेरापी अन्तर्गत  उपलब्ध गराउँदै आएका सेवाबारे भंदिनुस ?

हामीले ह्याम्समा आन्तरिक र बाह्य दुवै किसिमका बिरामीलाई फिजियोथेरापीसंग सम्बन्धित अर्थो, कार्डियो पल्मोनरी, न्युरो, खेलकुद तथा महिला स्वास्थ्यसम्बन्धि लगायतका सबै किसिमका सेवाहरु प्रदान गर्दै आएका छौँ ।

यस्तै, नेपालको सन्दर्भमा कमै स्वास्थ्य संस्थाहरुले सञ्चालन गर्ने ‘पल्मोनरी रिह्याब’ को सेवा पनि  हामीले यसै अस्पतालमार्फत प्रदान  गर्दै आएका छौँ । यसका साथै यहाँ माथि उल्लेखित सम्पूर्ण फिजियोथेरापीका विधासंग सम्बन्धित उपचार को सुविधा  उपलब्ध छ । यसबाहेक हामीले फिजियोथेरापी अन्तर्गत पर्ने सबै अप्रेशन अघि र पछि गरिने व्यायाम, डिस्चार्ज भएका आन्तरिक बिरामीहरु ल्याएर रिह्याबहरु जरुरी छ भन्ने ज्ञान समेत प्रवाह गरिरहेका छौँ ।

यसरी हामीले आईपिडी र ओपिडीमा समेत गरी दैनिक झण्डै १०० को आकँडामा बिरामीहरुलाई सेवा दिइरहेका छौँ ।