वर्तमान अवस्थामा नेपालमा लगानीको अवस्था, उद्योग विभागका कामकारवाही, आगामी रणनीति लगायतका विषयमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग हिमालय पोष्टले कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:


ADVERTISEMENT


तपाईं विभागमा महानिर्देशकका रूपमा आइसकेपछि विभागका कामहरु कसरी अघि बढाइरहनु भएको छ ?


ADVERTISEMENT

# # #


नेपालमा हामीले उद्योगीहरुलाई उद्यमको लागि जागरुक गर्न भने अपेक्षाकृत रुपमा सकेका छैनौं । त्यसमा हामी कमजोर रहेको तथ्यले देखाउँछ । यस्तो गुनासो बाहिर पनि सुनिएको छ । अब यसमा पनि हामी फोकस हुनेछौं । उद्योग प्रशासन ढिलो भएको कारण पनि यस्तो भएको हो । यसैलाई विचार गरेर विभागले प्रशासनिक कामलाई अब जिजीटल गर्नेगरी काम गरिरहेको छ ।

पुराना फाइलहरुलाई हामीले स्क्यान गरी अटोमेसनमा लगिसकेका छौं । अरु नयाँ दर्ता प्रक्रियालाई पनि अब डिजीटल रुपमा नै गर्नेगरी हामी काम थल्दैछौं । दुईचार महिनाभित्र सबै काम प्रविधिमैत्री हुनेगरी काम सुरु गर्नेछौं । नीतिगत रुपमा भएका कमीकमजोरीलाई हटाएर लगानीमैत्री वातावरण बनाउन हामी लागिरहेका छौं ।

विदेशी लगानीको सन्दर्भमा अनलाइनबाट नै काम हुनेगरी सुरु पनि भइसकेको छ । यसैगरी विदेशी लगानीलाई आकर्षित गर्ने, लगानीकर्ताहरुसँग छलफल गर्ने, नीतिगत रुपमा कमी भएका  कुराहरुलाई सुधार गरेर जाने कुरामा हामी सकारात्मक भएर अघि बढिरहेका छौं ।

नेपालमा अहिले लगानीको वातावरण कस्तो रहेको छ ?

अहिले तपाईंले नेपाल सरकारले परिमार्जन गरेको वातावरण ऐन, औद्योगिक विकास ऐन, श्रम ऐन लगायतका दस्तावेज हेर्नुभयो भने लगानीको राम्रो वातावरण सिर्जना भएको पाउन सक्नुहुन्छ । नेपालमा पहिलेको कानुन अनुसार त्यस्तो राम्रो लगानीको वातावरण नभएको पाइएको थियो । अब राम्रो वातावरण बनेको छ ।

त्यसैगरी अहिले उद्योग नीति, वाणिज्य नीति लगायतका नीतिहरुले पनि लगानीकर्तालाई आकर्षित गरेको देख्न सकिन्छ । औद्योगिक विकास ऐनले उद्योगधन्दाहरुलाई विभिन्न छुट, प्रोत्साहन, लाभकर छुट गरेको प्रष्ट देख्न सकिन्छ ।

लगानीका लागि वातावरण भनेको नीतिगत रुपमा कागजी दस्तावेजले मात्र हुने कुरा पनि होइन । लगानीकर्ता आश्वस्त हुने वातावरण पनि सिर्जना गर्नुपर्ने हुन्छ । त्यसका लागि पूर्वाधारदेखि लिएर औद्योगिक ग्रामहरु बनाउने कुरामा पनि सरकार लागिरहेको छ । लामो समयसम्म नीति रहने कुरा, स्थलगत सुरक्षाका कुरा, लगानी सुरक्षाका कुरा र कच्चा पदार्थमा सहुलियत दिने र सहज उपलब्ध गराइदिने कुराले पनि लगानीलाई प्रभाव पार्ने हुन्छ ।

समग्रमा हामीले हाम्रो अर्थतन्त्रको लागतलाई कम नगरेसम्म लगानीको वातावरण बन्न मुस्किल हुन्छ । लगानीकर्ताले नाफाको उद्देश्य राख्ने हुनाले नाफा हुने वातावरण सिर्जना हुनुपर्छ । हामी भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्र भएको मुलुकमा भन्दा कच्चा पदार्थको मूल्य त्यसै पनि ३५ प्रतिशतको हाराहारीमा धेरै हुने विश्वभरको तथ्यांकले देखाइरहेको छ । हरेक कुरा हाम्रो पूर्वाधार र ढुवानीको कारण अलिक बढी  अलिक महंगो पर्न जाने हुन्छ । सरकारले यसलाई मध्यनजर गरी कसरी अघि बढ्ने भनेर काम गरिरहेको छ । उद्योग विभागले पनि यसमा सरकारसँग समन्वय गरेर विभिन्न कामहरु गरिरहेको छ ।

नेपालमा अब लगानी गर्ने वातावरण छ है भन्ने बनिसकेको हो ?

नेपालमा नीतिगत रुपमा अब लगानीको लागि कुनै समस्या छैन । हामीले अहिले अन्तराष्ट्रिय स्तरकै लगानीको नीति बनाइसकेका छौं । लगानी भित्र्याउनेदेखि फिर्ता गर्नेसम्मका नीति हामीले बनाइसकेका छौं । अब प्रशासनका कर्मचारीहरुले पनि आएका लगानीकर्ताको काम छिटोछरितो र भरपर्दो रुपमा गरिदिनुपर्छ । लगानीकर्ता फिल्डमा जाँदा उसले उद्यम गर्न सहज रुपमा जग्गा पाउनुपर्छ । तीनै तहका सरकारहरुले लगानीकर्तालाई राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ ।

जनताले विभिन्न समूह बनाएर चन्दा मागिदिने र आन्दोलन गरिदिएर दुःख दिने काम गरिदिनु हुँदैन । मिडियाहरुले पनि आएका कम्पनीलाई प्रयोजित रुपमा नै लखेटिदिने गरी लेख्ने काम गर्नुहुँदैन । सबैले हातेमालो गरेको खण्डमा मात्र लगानीकर्ता आकर्षित हुने हुन्छन् । तसर्थ लागानीको लागि सरकार, स्थानीय निकाय, मिडिया, कर्मचारी र जनतासम्म सबैले लगानीकर्तालाई निरुत्साहन हुने काम गर्न हुँदैन । सबैले प्रोत्साहन गर्न सकेमात्र राम्रो लगानीको वातावरण सिर्जना हुन्छ भन्ने लाग्छ । धेरै कुराहरुचाँहि सकारात्मक दिशामा रहेको देखिएको छ ।

लगानीकर्तालाई बाहिरबाट स्रोत जुटाएर ल्याएर लगानी गर्न पनि अप्ठेरो भयो भन्ने सुनिएको छ । यसलाई अलिकति सजिलो बनाउन सकिँदैन ?

धेरै कुराहरु सजिलो भइसकेको अवस्था छ । कुनै कुनै कुरामा त्यस्तो भएको पनि होला । हामीकँहा अनुसन्धान नगरीकनै बोलिदिने मानिसहरु धेरै छन् । के-के कुरामा सुधार भएको छ भनेर मान्छेहरुले जानकारी नै नलिई त्यसै बोलिरहेको अवस्था पनि छ । केही सुधारका पक्षहरु रहे पनि हिजोका दिनमा भन्दा धेरै कुरामा सुधार भइसकेकोले ढुक्क भएर लगानी गर्नुपर्छ भन्न चाहन्छु । बाहिरको सतही कुराहरु सुनेर लगानीको लागि डराउनुपर्ने वातावरण भने अहिले छैन । परिस्थितिमा पनि हामी सुधारिएर जानुपर्छ । तसर्थ लगानी गर्न अप्ठेरो मान्नुपर्ने अवस्था छैन ।

लगानीयोग्य स्रोतको अभावका सन्दर्भमा तपाईंको धारणा के छ ?

स्रोतको कुराका सन्दर्भमा हाम्रो मुलुकमा सरकार र निजी क्षेत्र दुवैसँग पूँजीगत अभाव रहेको अवस्था छ । देशभित्रै लगानी गर्नका लागि ब्याजदर महंगो भइरहेको अवस्था छ । तरलाको अभाव पनि खट्किएको अवस्था छ । तसर्थ देशभित्र स्रोतको अभाव देखिइरहेको छ भन्न सकिन्छ । देशभित्र स्रोतको अभाव भयो भने देशबाहिरबाट लगानीका लागि आउने सन्दर्भमा पनि उस्तै समस्या देखिने गर्छ । देशभित्र लगानी जस्तो भइरहेको छ देशबाहिरबाट पनि उस्तै आउने हो ।

तसर्थ हामीले बाहिरबाट आउने लगानीकर्तालाई हाम्रो देशमा लगानीको वातावरण भएको, नाफा कमाउने, देशमा रोजगारी सिर्जना भइरहँदा त्यसलाई अवरोध नगर्ने र कर तिर्न मन लाग्ने अवस्थाको वातावरण सिर्जना गर्नुपर्छ । कागजी रुपमा त हामीले यी सबै कुरा भनिसकेका छौं । व्यवहारमा पनि यो कुरा लागू गर्नुपर्छ ।

आगामी दिनमा देशमा नै उद्योग कलकारखाना खुल्ने र युवाहरुले विदेश गएर काम गर्नु नपर्ने गरी सरकारले योजनाहरु बनाएको पाउनुहुन्छ कि पाउनुहुन्न ?

सरकारले यो विषयमा गम्भीर भएर सोचेको पनि छ र त्यस्तो योजना बनाएको छ । सरकारका वार्षिक कार्यनीति र योजना तथा पञ्चवर्षीय योजनामा पनि ती कुराहरु समेटिएको पाएको छु । हामीकँहा सकारात्मक कुराहरुको सञ्चार हुन सकिरहेको छैन । मिडियाको नकारात्मक कुरालाई प्रचार गरेर रमाउने मनोविज्ञान पनि रहेको छ । यस्तो हुनुहुँदैन ।

नेपालमा औद्योगिक पूर्वाधारहरु बनिरहेका छन् । ८-१० वटा वस्तुहरुमा हामी आत्मनिर्भर पनि भएका  छौं । नयाँ फर्म कम्पनीहरु दर्ता भइरहेका छन् । गएको वर्ष ९१ वटा ठूला उद्योगहरु दर्ता भएका छन् । जसबाट तीन खर्बभन्दा बढी लगानी प्रस्ताव भएको छ ।

विदेशी लगानी पनि विस्तारै बढिरहेको छ । राजनीति र कर्मचारीतन्त्र पनि सुधार हुँदै गयो भने लगानी अझै बढ्दै जान्छ भन्ने लागेको छ । तसर्थ हामी निराश हुनुपर्ने अवस्था छैन

। हरेक वर्ष बजारमा आउने ५-७ लाख युवाहरुलाई रोजगारी दिएर नेपालमै रोक्न नसकिएको र जुन रुपमा विकास भएको हुनुपर्ने हो त्यस्तो हुन नसकेको भने पक्कै हो । तर, हामी अत्यन्तै खराब अवस्थामा छौं भन्ने होइन । धेरै प्रयासहरु भएका छन् । आगामी दिनमा पक्कै पनि हामी सकारात्मक बाटोमा  जान्छौं भन्ने लागेको छ ।

के-के कुरामा हाम्रो कमजोरी देखिएका छ र कस्ता कुरामा हामी सकारात्मक बाटोमा छौं ?

हाम्रो आन्तरिक बजार व्यवस्थापन राम्रो नभएकाले कृषि क्षेत्र पछि परेको अवस्था हो । यस क्षेत्रमा आश्रित रहेका मान्छेलाई प्रविधिमैत्री बनाउन सकिरहेका छैनौं । इजरायल जस्ता देशहरुले कृषिमा थोरै मान्छेलाई लगाएर पनि निकै फाइदा लिइरहेको छ । तर, हाम्रो देशमा धेरै मान्छे कृषिमा लागेको भए पनि खाद्यान्न लगायतका कुरा आयात गरिरहेका छौं । जग्गाको खण्डीकरण, भू-उपयोग नीति लगायतका कुरामा सरकारले काम गरिरहेको पनि छ । यसमा हामी सफल भयौं भने कृषि क्षेत्र अहिलेभन्दा सुधारिएर जान्छ भन्ने लाग्छ ।

हाइड्रोका सन्दर्भमा वितरणका कुराहरु समाधान भएर गयो भने हामी बलियो हुने बाटोमा पुगेका छौं । यसका लागि बिजुली चुलोसम्म पुग्ने वातावरण बनाउन सरकार लागिरहेको छ । यसले देशको पैसा विदेश जानबाट बचाएर हामी सबल हुन्छौं । यो सकारात्मक दिशामा रहेको देखिन्छ । १०/१२ वटा कुरामा लगभग हामी आत्मनिर्भर भइरहेका छौं ।

अरु क्षेत्रमा विस्तारै उन्नति हुँदै गइरहेको छ । यी कुराहरुलाई बढाउर लैजानतर्फ हामी लाग्नुपर्छ । ग्लोबलाइजेसनको कारण हामीले हाम्रो  नचाहिएको कुरा पनि आयात गरिरहेका छौं ।

 स्थानीय तहदेखि नै उद्यमशीलता विकास गर्ने बाटोमा हामी जान पनि जरुरी भएको छ । भौतिक विकासमात्र नभएर मानव विकासका कुरामा पनि हामी त्यतिकै सक्रिय भएर अघि बढ्नुपर्छ । क्षमता र गुणस्तर पनि हामीले साथसाथै विकास गर्नुपर्छ । यो वर्षको नीति तथा कार्यक्रममा उद्यम र स्वदेशी उत्पादन बढाउनका लागि धेरै कुरा समेटिएको प छ । यसले सकारात्मक प्रभाव पर्नेछ भन्ने लाग्छ । निजी क्षेत्र पनि स्वदेशी उत्पादनका लागि जुर्मुराएको देखिएको छ ।

किसानका उत्पादनले मूल्य नपाउने, बिचौलियाबाट ठगिनुपर्ने र अन्त्यमा आफ्नो सामान थोरै मूल्यमा बेचेर पछि त्यही सामान महंगो मूल्यमा किन्नुपर्ने अवस्था रहेको छ । यसको समाधान कसरी गर्न सकिएला ?

मूलतः यो वाणिज्य विभागको काम हो । यसमा वाणिज्य मन्त्रालयले पनि आफ्नो काम गरिरहेको होला । उद्योग विभागको काम यसको समाधान गर्नु नभए तापनि कतै न कतै हामी पनि यस कुरामा जोडिएर आउँछौं ।

यसलाई समाधान गर्न शीतभण्डारणका कुराहरु आएका छन् । जसमा किसानले उत्पादन गरेका वस्तुहरु आफैंले राख्ने र महंगो हुने बेला पनि आफ्नै उत्पादन प्रयोग गर्न मिल्छ । यो धेरै स्थानमा वितरण भइसकेको पनि छ । यसलाई अझै राम्ररी समाधान गर्न वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, सहकारीहरु, स्थानीय तहहरु, कृषकहरु र कतै न कतै हाम्रो पनि हातेमालो हुनुपर्छ । यसरी अघि बढ्न सके हामी खाद्यान्नमा आत्मनिर्भर  हुन्छौं भन्ने लाग्छ ।

नेपालमा अहिले कति उद्योग कलकारखानाहरु दर्ता भएका छन् । नयाँ आउने उद्योगहरु कस्तो खालको आउने सम्भावना छ ?

हाम्रो देशमा अहिले करीब ८ हजार उद्योग कलकारखानाहरु रहेका छन् । यसमा धेरैजसो साना र मझौला खालका उद्योगहरु रहेका छन् । ठूला उद्योगहरु एकदमै थोरै संख्यामा रहेको भए पनि पछिल्ला दिनहरुमा ठूला उद्योगहरु आइरहेका छन् । गतवर्ष ९१ वटा पचास करोडभन्दा माथि लागतका उद्योगहरु दर्ता भए । हामीले निर्यातमुखी वा आयातलाई प्रतिस्थापन गर्नसक्ने उत्पादनमा आधारित हुने खालका उद्योगहरुलाई प्रोत्साहन गर्न जरुरी छ । सकारात्मक सूचक देखिएकाले आगामी दिनमा ठूला उद्योगहरुको संख्या पनि बढ्ने देखिन्छ ।

सरकारले लगानी गरिसकेको धेरै उद्योगहरु बन्द भए, यसलाई पुन सञ्चालनमा ल्याउने र नयाँ उद्योग सरकारले नै खोल्ने कुरामा सरकारले के सोचिरहेको छ ?

सरकारले आफैं उद्योग चलाउने भन्ने कुरा आजको दिनमा त्यति सान्दर्भिक कुरा हो भन्ने मलाई लाग्दैन । सरकारका प्राथमितामा अरु धेरै कुराहरु  हुन्छन् । भएका उद्योगहरु पनि सरकारले चलाउन सकेन भने नयाँ उद्योगहरु सरकारले चलाउनुपर्छ भन्नु सान्दर्भिक कुरा होइन । निजी क्षेत्र नै उद्योगका विकल्प हुन् । तसर्थ नयाँ उद्योग सरकारले चलाउने भन्ने कुरा अब सोच्नु पनि हुँदैन ।

जहाँसम्म सरकारले लगानी गरिसकेको  र बन्द भएका उद्योगहरु छन्,  ती चलाउनुपर्छ भन्ने कुरामा सरकार सकारात्मक भएको पाइएको छ । तर, यी उद्योगहरु पनि अब सरकार एक्लैले चलाउनुपर्छ भन्ने होइन । कतै न कतै निजी क्षेत्रसँग सहकार्य गरेर, लिजमा दिएर वा बेचेर कसरी हुन्छ त्यो बाटोमा सरकार लाग्नु राम्रो हुन्छ । विश्वभरका समृद्ध मुलुकहरुमा यही अभ्यास भइररहेको छ । यही बाटोमा सरकार जाला भन्ने लाग्छ ।

नेपालमा सञ्चालमा रहेका उद्योगहरुको समस्या के कस्ता रहेका छन् ?

नेपालमा रहेका उद्योगहरु शत प्रतिशत क्षमतामा चल्न सकिररहेका छैनन् । विगतमा ऊर्जाको पनि समस्या रहेको थियो । बन्द हडतालका समस्या पनि थिए । अहिले त्यो न्यूनीकरण भएर गएको छ । चाहिएको बेला कच्चा पदार्थ नपाउने समस्या पनि रहेको छ । कच्चा पदार्थ लुकाएर समस्या पारिदिने अवस्था पनि यदाकदा पाइएको छ ।

मरिच र सुपारी जस्ता कुराहरु अहिले आयातमा प्रतिबन्ध लगाइएको भए पनि कतिपय उद्योगलाई मरिच र सुपारी चाहिने कारण हामीले उसलाई चाहिएको मरिच र सुपारी आयात गर्न दिएका थियौं । मिडियाहरुले यसका बारे तथानाम लेखिदिए । सन्दर्भलाई बुझेर हामीले उद्योगलाई त्यस्तो गर्न दिएका हौं ।

माैसमी उद्योगहरु पनि छन् र युवाहरु बेरोजगार भए पनि सीपयुक्त दक्ष जनशक्तिको अभाव भइरहेको छ । यस्ता विविध कारणले शतप्रतिशत काम गर्न उद्योगहरुल सकिरहेका छैनन् । हाम्रो प्रयास चलिरहेको उद्योगलाई शतप्रतिशत चलाउनुपर्छ भन्नेतर्फ हो ।

अन्तिममा उद्योगी र व्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?

हामीले हाम्रा तर्फबाट उद्योग व्यवसाय गर्नेहरुलाई सहजीकरण गरिदिने काम गरिरहेका छौं । हामी सबै मिलेर देशलाई समृद्ध बनाउन अत्मनिर्भर बनाउन र अर्थतन्त्रलाई मजबुत बनाउन लाग्नुपर्छ । एनआरएन लगायत अन्य विदेशीहरुलाई पनि आउनुहोस् व्यवसाय सञ्चालन गर्नुहोस् भनेर हामी भनिरहेका छौं । उद्योग गर्न तपाईंहरुलाई केही समस्या छन् भने समाधान गर्न हामी सहयोग गर्न चाहन्छौं भन्न चाहान्छु ।

देशमा व्यवसाय गरिरहेका उद्योगीहरुलाई सबैले सम्मान गरौं । उहाँहरुको काम बिथोल्ने नगरौं । जोखिम लिने मान्छेले रोजगारी पनि सिर्जना गरिरहेको हुन्छ । उहाँहरुलाई निरुत्साहित गर्ने र हतोत्साही हुने काम हामीले गर्न हुँदैन । लगानीकर्तालाई डिस्करेज गरेर देश समृद्ध हुन सक्तैन । समृद्ध भएका देशहरुले लगानीकर्तालाई प्रोत्साहन गरेर नै समृद्ध भएका हुन् । देशभित्रका लगानीकर्तालाई इन्करेज गरे मात्र विदेशी लगानीकर्ता नेपालमा आउँछन् । नेपालमै भएका लगानीकर्ता सुरक्षित नभए विदेशी लगानीकर्ता नेपालमा आउन चाहँदैनन् । तसर्थ लगानीकर्ताको सम्मान गरौं ।