काठमाडौं – भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबले जनधनमा क्षति पुर्‍याएको छ ।

चक्रवातका कारण तीन जनाको मृत्यु भएको, ३० वटा घरमा क्षति पुगेको र ७१४ गाउँ प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २८ अक्टोबरको बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको हो । चक्रवातका कारण विभिन्न क्षेत्रमा घरका छाना उड्नुका साथै रुख तथा बिजुलीका खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् भने धानबालीमा समेत क्षति पुगेको छ ।


ADVERTISEMENT

# #


भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात अर्नब बुधबार बिहान करिब १ बजेर २० मिनेटमा काकीनाडानजिकै जमिनमा प्रवेश गर्न थालेको थियो । यसको प्रभाव ओडिशाका दक्षिणी जिल्लाहरूमा समेत देखिएको छ, जहाँ तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ । प्रभावित क्षेत्रका १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ ।

कमजोर हुँदै चक्रवात, नेपालमा मौसम प्रभावित हुने
जमिनमा प्रवेश गरेसँगै चक्रवात अर्नबको शक्ति क्रमशः कमजोर हुँदै गएको छ । चक्रवातको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने हावाको झोक्का १५० किलोमिटरसम्म पुगेको बताइएको छ ।


ADVERTISEMENT

#
#


यसअघि अत्यन्त भीषण चक्रवाती आँधीको श्रेणीमा रहेको प्रणालीलाई कमजोर हुँदै गएपछि भीषण चक्रवाती आँधीको श्रेणीमा झारिएको छ । बुधबार दिउँसोसम्म सामान्य चक्रवाती आँधीमा र साँझसम्म गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ ।

भारतमा कमजोर बन्दै गएको यस प्रणालीको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिएपछि वर्षा तथा हिमपात गराउन सक्ने मौसमविद्हरूले बताएका छन् ।

मौसमविद् बिनु महर्जनका अनुसार नेपालमा यसको प्रभाव बुधबारदेखि नै देखिन सक्नेछ । बिहीबार रातिदेखि उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य स्थानमा वर्षा हुने सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ । केही स्थानमा भने भारी वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद् महर्जनले बताएकी छन् ।

सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई सतर्क रहन तथा हिमाली क्षेत्रमा पुगिसकेकाहरूलाई जोखिमको अवस्था हेरेर सुरक्षित स्थानतर्फ फर्कन उनले आग्रह गरेकी छन् । वर्षा, हिमपात र प्रतिकूल मौसमका कारण जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।