काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताएका छन् ।


ADVERTISEMENT


नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनको आज जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।”


ADVERTISEMENT

# # #


एमाले सरकारमा जानका लागि नभइ मुलुकलाई बर्वादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उनले जनताको सद्भाव र एकताका लागि निर्वाचनमा गएको बताए । सबैले मिलेर सबैका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अठोटका साथ आफ्नो पार्टी निर्वाचनमा जान लागेको उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्नेजस्ता योजना एमालेले अघि सारेको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनले सही सरकार दिन नसके देश, लोकतन्त्र, विकासका लागि दुर्भाग्य हुने बताए ।

उद्घाटन समारोहमा एमाले नेता अग्नि खरेल, विष्णु रिजाल लगायतले विकासका लागि एमालले निर्वाचनजित्नुपर्नेमा जोड दिएका थिए । नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।