जनकपुरधाम – महोत्तरीको मटिहानी नगरपालिका १ स्थित बाँसघारीमा एक महिलाको विभत्स हत्या भएको छ । अन्दाजी ४० वर्षीया अमाना खातुनको हत्या भएको हो ।


ADVERTISEMENT


सोही ठाउँ घर भएकी अमाना शुक्रबार विहान करिब १० बजे धान खेत हेर्न पुगेकी थिइन् । तर उनी साँझसम्म घर फर्किनन् । त्यसपछि आफन्तले प्रहरीलाई खबर गरेको थियो । प्रहरी र स्थानीयले खोज्न खेततर्फ जाने क्रममा राति करिब ९ बजे उनको शव फेला पर्यो ।


ADVERTISEMENT

# # #


रगतले लत्पतिएको अबस्थामा अमानाको शव फेला परेको प्रहरीले जनाएको छ । उनको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । रातिदेखि नै शव घटनास्थलमै छ ।

घटनास्थलमा पुरुषको च्यातिएको लुगाको टुक्रा समेत फेला परेको छ । मृतक महिलाले प्रतिकार गर्दा हत्या गर्न खोजेको पुरुषको लुगा च्यातेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको प्रकृति हेर्दा बलात्कारको प्रयास भएको हुनसक्ने र प्रतिकार गर्दा हत्या गरेको जस्तो देखिन्छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट इन्स्पेक्टर उमाशंकर साहको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ‌। तालिमप्राप्त कुकुर ल्याएर प्रहरी अनुसन्धान गरिरहेका छन् ।

उनको हत्या किन र कसले गरेको विषयमा केहि खुल्न नसकेको र घटना विषयमा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले जानकारी दिए ।

मृतक अमिनाको श्रीमान् मोमो अनसारुल र एक छोरा वैदेशिक रोजगारीमा छन् । अर्को छोरा काठमाडौंमा मजदुरी गर्छन् । घरमा अमानाको अन्दाजी सात वर्षीया छोरी र सासु-ससुरा मात्र छन् । उनी दुई दिन अगाडी मात्रै माइतबाट आएकी थिइन् ।