काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको कारण मुलुकमा आर्थिक संकट संघारमै आइपुगेको दाबी गरेका छन् । देशको संकटप्रति सरकार बेखबर रहेको बताउँदै उनले मुलुकको अर्थतन्त्र इतिहासकै चिन्तित अवस्थामा पुगेको दाबी गरे ।


ADVERTISEMENT


शनिवार रुपन्देही व्यापार संघको २१औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले भने, ‘मुलुकमा आर्थिक संकट चुलिँदै संघारमा आइपुगेको छ । जसबारे सरकार बेखवर बन्यो ।’


ADVERTISEMENT

# # #


सरकारले अर्थतन्त्रको व्यवस्थापन गर्न नसकेको बताउँदै नेता पौडेलले नीतिगत रूपमै धेरै परिवर्तन नगरेसम्म निजी क्षेत्रले भोग्दै आएका विद्यमान समस्याहरू समाधान हुन नसक्ने बताए । मुलुकलाई सही दिशामा ल्याउन एमालेको सरकार आवश्यक रहेको चर्चा गर्दै आसन्न मंसिरको चुनावमा निजी क्षेत्रले भोगेको समस्याको समाधान खोज्नुपर्ने पौडेलको भनाइ छ ।

आफूले दुईपटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको स्मरण गर्दै पौडेलले भूकम्प, नाकाबन्दी र कोरोना महामारीको समयमा पनि आर्थिक सूचकांकहरू ‘पोजेटिभ’ रहेको दाबी गरे । ‘बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजीमा संकट देखा परेको छ । तरलता संकटकै कारण बैंकहरूले राम्रोसँग ऋण प्रवाह गर्न पाएका छैनन् । जसले गर्दा प्रत्यक्ष रूपमा उद्यमी व्यवसायीहरूले ऋण पाएका छैनन्’, पौडेलले भने ।

पौडेलले विकासका मुद्दामा राजनीति नगर्न व्यवसायीहरुलाई आग्रह गरे । विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गर्दै रुपन्देहीलाई आर्थिक विकासको केन्द्रका रुपमा अगाडि बढाउनुपर्ने बताए ।

राजमार्ग चौराहा–गोलपार्क सडकमा गठबन्धन सरकारले नै राजनीति गर्दै आएको पौडेलले बताए । उनले स्थानीय निर्वाचनको समयमा नागरिकहरूमा भ्रम सिर्जना गर्न सरकारले नै विभिन्न बाहाना बनाएर ठेकेदारलाई काम रोक्न लगाएको आरोप लगाए । मुख्य सडकका कारण बुटवलबासी जनताले दुःख र सास्ती भोगिरहेको बताउँदै उनले तत्काल सडक निमार्ण सम्पन्न गर्न आग्रह गरे ।

पौडेलले भैरहवामा निर्माण सम्पन्न भएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्यस्तै निर्माणको क्रममा रहेको प्रदर्शनीस्थल, तिनाउ–दानब करिडोर, बुटवल–नारायणगढ सडक, बुटवल–चन्दौटा सडक, बुटवल–पाल्पा–पोखरा सडक, विभिन्न खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, तीनायमा सिक्नेचर पुल, नुवाकोट र वसन्तरपुरका दुई केवलकारका आयोजनाले केही वर्षमा रूपन्देहीलाई नमुना बनाउने बताए ।