काठमाडौं – डा रवीन्द्र पाण्डेले डेंगी रोगको संक्रमणमा ध्यान दिनुपर्ने २० टिप्स सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै डेंगी रोगको संक्रमणमा ध्यान दिनुपर्ने २० टिप्स सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डेंगी भएमा आफ्नै मनले औषधि सेवन गर्नुहुँदैन । जसका कारण ज्यानैसमेत जानसक्ने खतरा रहन्छ ।’


ADVERTISEMENT

# # #


यस्ता छन् डा  पाण्डेले जनहितमा जारी गरेका २० टिप्सहरु 

१. ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राव गराएर खतरा हुनसक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला ।

२. बान्ता भएमा बान्ता रोक्ने औषधि खानुपर्दछ ।

३. अधिकांश संक्रमितलाई बान्ता हुने र वाकवाकी हुने हुन्छ । धेरै संक्रमितले बान्ता हुने डरले खाना तथा पानी नखाने गर्दछन् । यो निकै घातक हुन्छ । जति धेरै झोलिलो तथा पोषिलो खायो त्यति नै छिटो डेंगी निको हुन्छ । मुखबाट खान नसकेमा अस्पताल गएर सलाइन दिनुपर्ने हुन्छ ।

४. द्वितीय संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नुपर्दैन ।

५. मेवाको पात जथाभावी नखानुहोला । यसले डेंगी निको गर्दैन । प्लेट्लेट्स कमी भएमा चिकित्सकको सल्लाह अनुसार बढीमा ३० मिलि प्रशोधित मेवाको पातको रस खान सकिन्छ । प्लेट्लेट्स बढाउन यसका ट्याब्लेट पनि पाइन्छ ।

६. दाल, जाउलो, गेडागुडीको रस, दूध, नरम खाना, फलफूल (मेवा, किवी, अनार, जुनार, स्याउ, नरिबलको पानी, माल्बोक केरा, काँक्रो), हरियो सागसब्जी, पालुंगो र मेथीको साग पर्याप्त खानुपर्दछ ।

७. शरीरमा पानीको कमी नहोस् भनेर सचेत हुनुपर्दछ । सादा पानी, जीवनजल, कागती पानी पटकपटक पिउनु पर्दछ ।

८.  एक दिन बिराएर प्लेट्लेट्स चेक गर्नुपर्दछ ।

९.  नाक, मुख, गिजा, छाला, मलद्वार, मुत्रद्वार आदिबाट रगत आएमा, बान्तामा रगत देखिएमा, झोलिलो खाना खान नसकेमा, ज्वरो नियन्त्रण नभएमा तुरुन्त नजिकको अस्पतालमा जानु पर्दछ ।

१०.  बान्ता, पखाला, एलर्जी आदिको लागि चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्दछ ।

११. खाना र पानी प्रशस्त पेलेमा डेंगीलाई सजिलै जित्न सकिन्छ । यसको मृत्युदर निकै कम भएकोले आत्तिनु पर्दैन ।

१२. डेंगीमा धेरै मुख बार्नु पर्दैन । पच्ने खाना खान सकिन्छ । पिरो, मसलादार खाना, घ्यू, बोंसो, अल्कोहल नखानुहोला । धेरै गुलियो नखानुहोला ।

१३. डेंगीको ज्वरोमा मनतातो पानी पट्टी लगाउने, ज्वरो १०० डिग्री आएमा पारासिटामोल खाने, झोलिलो खाना खाने गरेर ज्वरोलाई नियन्त्रणमा राख्नुपर्दछ । १०१ भन्दामाथि तापक्रम पुर्याउनु हुँदैन ।

१४. ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बिमिरा आउने केही दिन रहन्छ । नआत्तिनुहोला । औषधि र खानपिनले निको हुन्छ ।

१५. आराम गर्नुहोला । शारीरिक तथा मानसिक धपेडी नगर्नुहोला ।

१६. दाँत ब्रस नगर्नुहोला । मंजन औंलामा राखेर दांत सफा गर्नुहोला ताकी घाउ नहोस् ।

१७. डेंगी सँगै बसेर सर्दैन । तपाईंलाई टोकेको लामखुट्टेले परिवारजनलाई टोकेमा डेंगी सर्दछ । तसर्थ राति तथा दिउँसो पनि झुलभित्र सुत्नुहोला ।

१८. चिकित्सकको सिफारिस बिना पारासिटामोल बाहेक कुनैपनि औषधि नखानुहोला ।

१९. लाम्बाहुले कपडा तथा मोजा लगाउनुहोला । ओडोमसलगायत लामखुट्टे भगाउने क्रिम लगाउनुहोला ।

२०. खोज र नष्ट गर अभियानको लागि लामखुट्टे हुर्किने र प्रजनन हुने ठाउँ अर्थात् पानी हटाउने, औषधि छर्किने गर्नुहोला ।