काठमाडौं-पप सम्राट ओम विक्रम विष्टको दुबै मिर्गौला खराब भएको र उपचारमा निकै खर्च लाग्ने भएकोले डीसी महानगर क्षेत्रका नेपाली समुदाय खर्च जुटाउन ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रम गर्न एकजुट भएका छन् ।


ADVERTISEMENT


कलाकार बिष्टको मृगौला प्रत्यारोपण गर्न आवश्यक भएको छ भने कलाकार विष्ट हप्तामा तीनपटक डाइलोसिस गरिरहेका छन् । गत डिसेम्बर ११ तारिख आइतबार साँझ भर्जिनियाको स्यानटीलीमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को पहलमा आयोजना गरिएको कार्यक्रममा डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेलाले आगामी जनवरी २० तारिख कार्यक्रम गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले कार्यक्रममा सबैले मिलेर कलाकार बिष्टलाई सहयोग गर्नुपर्ने भएकाले सबैलाई एकजुट हुन् आग्रह गरेका छन् । कार्यक्रममा टिकट दर $ २५ डलर राख्ने योजना रहेको छ । भिआईपीका लागि $ ५० र $ १ सय डलर दरका टिकट पनि राखिने जानकारी उनले गराए । यसको साथै कार्यक्रमको लागि अमेरिकामा रहेका नजिकका राज्यहरुबाट समेत कलाकारहरु आएर निस्शुल्क प्रस्तुति गर्ने समेत बताए ।

उनले अगाडि भने- कलाकारलाई जीवित अवस्थामा सहयोग र सम्मान गर्नुपर्छ । इनास ७० वटा देशमा छरिएर रहेकोले संसारभरबाट पप सम्राटलाई सहयोग गर्न सकिने छ ।  इनास अमेरिकाका सल्लाहकार हरि शर्माले कलाकार राष्ट्रका गहना भएकाले सहयोग गर्नु सबैको दायित्व भएको बताए । सबैभन्दा ज्यादा खर्च कार्यक्रम स्थलको लागि पर्ने भएकोले त्यो पनि नि शुल्क गराउने प्रयास रहेको शर्माले जानकारी गराए ।

कार्यकममा स्वयम् कलाकार विष्टले न्युयोर्कबाट समेत प्रत्यक्ष रुपमा ज्यादा बोल्न नसकेता पनि ईनेप्लिजको सामाजिक संजाल फेसबुकको प्रत्यक्ष प्रसारणबाट बोलेका थिए । कलाकार बिष्टले सबैबाट सहयोग आइरहेको बताउदै इनासले गर्न लागेको कार्यक्रमलाई शुभकामना दिएका छन् । उनले अमेरिकामा प्रत्यारोपण गर्न कैयौ बर्ष पर्खनु पर्ने भएकोले भारत जाने तयारीमा रहेको जानकारी समेत गराए ।

कलाकार बिष्टको लागि गो फन्ड लगायत व्यक्तिगत रुपमा तथा संघ संस्थाले पनि आर्थिक सहयोग जुटाइरहेका छन् । कार्यक्रममा सहभागीले सुझाव र सल्लाह दिनुको साथै केहि जिज्ञाशा समेत राखेका थिए । आगामी जनवरी २० तारिखमा हुने कार्यक्रमलाई अपार सफलता बनाउन एकजुट हुनुपर्ने र सबैले लाग्नु पर्ने कुरामा डीसीका नेपाली समुदायले सहमति जनाएका छन् ।

यसको साथै रचनात्मक कुराहरुको साथै इनासले पनि आर्थिक कोष वृद्धि गर्न गो फन्ड खोल्नुका साथै टिकट किन्नेले पनि थप सहयोग गर्न चाहेमा गर्न सक्ने कुरामा छलफल समेत गरिएको थियो ।