काठमाडौं – बागलुङको धार्मिक तथा पर्यटकीय गन्तव्य सर्वसिद्धिधाम पञ्चकोटमा यज्ञालय निर्माण गरिने भएको छ । बागलुङ नगरपालिका–६ मा रहेको पञ्चकोटमा निर्माणधिन अवस्थामा रहेको विश्वशान्ती सर्वसिद्धि धाममा यज्ञालय (हवनकुण्ड) एवम् पञ्चनारायण मन्दिरको शिलन्यास गरिएको हो ।


ADVERTISEMENT


हवनकुण्ड एवम्  पञ्चनारायण मन्दिरको शिलन्यास स्वामी कमलनयनाचार्य, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, पर्वतको जलजला गाउँपालीकाका अध्यक्ष राजु आचार्य, जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का लगायतले संयुक्त रुपमा  गरे ।


ADVERTISEMENT

# # #


झण्डै २ करोड १० लाख रुपैयाँको लागतमा १०८ जनाको सहयोगमा यज्ञालय र मन्दिर निर्माण गरिनेछ । ६ महिनामा निर्माण कार्य सक्ने गरी काम अगाडी बढाईएको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषदका अध्यक्ष एवं परिकल्पनाकार स्वामी कमलनायनाचार्यले बताए ।

मन्दिरको शिलन्यास गर्दै बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले पञ्चकोट बागलुङको धार्मिक पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास भएको बताए । सबै धामको एकैठाउँमा दर्शन गर्ने ठाउँको रुपमा विकास हुन लागेको यस क्षेत्रको विकासका निम्ती सबै तहले पहल थाल्नुपर्ने बताए ।

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, पोखराबाट मन्दिरकै लागि सहयोग गर्न आाएका सामाजिक व्यक्तित्व तिर्थ बस्नेत लगायतले पञ्चकोट विश्वकै प्रसिद्ध धार्मिक स्थलको रुपमा विकास हुने बताए ।

स्वामी कमलनयनाचार्यको पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि वि।सं २०७१ देखि वर्षेनि महायज्ञ सञ्चालन गरी आर्थिक संकलन गरिँदै आएको छ । यज्ञालय र पञ्चनारायणको मन्दिर पनि विभिन्न व्यक्तिहरुकै सहयोगमा निर्माण हुने पञ्कोट विकास परिषदका महासचिव माधव प्रसाद उपाध्यायले जानकारी दिए ।

८ वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झण्डै ३० करोड रुपैयाँ भन्दा बढीको संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रूपमा निर्माण हुने विश्वशान्ति कलशको ६० करोड रुपैयाँ लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरीएको छ । कलश निर्माणका लागि १ तलाको काम भैरहेको र झण्डै ४ करोड रुपैयाँ खर्च भैसकेको महासचिव उपाध्यायले बताए ।

बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामाकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलशसमेत निर्माण गरिँदैछ । पञ्चकोटको विकासका निम्ती नेपाल सरकारबाट १ करोड ८८ लाख विनियोजना भएको छ भने बागलुङ नगरपालिका र अन्य विभिन्न सरकारी निकायबाट पनि रकम विनियोजन भएको छ ।

शिलन्यास कार्यक्रम पञ्चकोटका अध्यक्ष कमलयनाचार्यको अध्यक्षता, महासचिव माधव प्रसाद उपाध्यायको स्वागत र सचिव नारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।