काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बागमतीमा नेपाली कांग्रेसको नेतृत्वको सरकार बनेपछि अति विपन्नका दश हजार घर  बनाउने बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बोल्दै सभापति बानियाँले पहिलो वर्षमा अति विपन्नलाई २५ सय घर  वितरण गरिने बताए । कार्यक्रम प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजना गरिएको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै सभापति बानियाँले भने, ‘बागमती प्रदेशमा नेपाली कांग्रेसको सरकार बनेपछि विपन्न, लोपोन्मुख, सीमान्तकृत, अल्पसंख्यक जनतालाई पहिलो वर्ष नेपाली २५ सय घर बनाएर हस्तान्तरण गर्नेछ । यो अभियान कांग्रेसको सरकार बन्ने बित्तिकै  सुरु हुनेछ ।’

सभापति बानियाँले  अगाडि थप्दै भने, ‘त्यसपछि  १० हजार विपन्न परिवारको घर  कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकारले बनाउनेछ ।  एउटा घर ५ लाखमा बन्ने रहेछ । एक अर्बले त्यस्ता घरहरू बनाउन सकिन्छ। प्रदेशको बजेट एक खर्ब हुन्छ । विपन्नलाई स्थापित गर्नु कांग्रेसको कर्तव्य हो ।’

यसैगरी सभापति बानियाँले सम्पन्नहरुलाई  उद्योग, धन्दा गर्न सहयोग गर्ने बातावरण तथा नीति नियमसमेत कांग्रेस नेतृत्वको प्रदेश सरकारले  बनाउने  बताए । यसका साथै उनले उनले पर्यटन व्यवसायलाई प्राथमिकतामा राख्ने बताए ।

लाङटाङको पानी विश्व बजारमा लैजाने सन्दर्भमा भनाइ राख्दै सभापति बानियाँले भने, ‘लाङटाङको पानीलाई विश्व बजारमा लैजान केन्द्र सरकारसँग समन्वय गरेर प्रदेश सरकारले विशेष सहुलियत दिएर उद्योग खोल्नुपर्छ ।’

पर्यटन व्यवसायका सन्दर्भमा सभापति बानियाँले थपे, ‘गोसाइकुण्ड, लाङटाङ, पशुपतिनाथ, स्वयम्भु, विभिन्न धार्मिक सर्किट, पर्यटकीय सर्किट, कृषिसँग जोडेर पर्यटनलाई जोड दिनुपर्छ ।’

सभापति बानियाँले बागमती प्रदेशमा उत्पादन हुने किबीसहितका फलफूलबाट गुणस्तरीय रक्सी बनाउन सकिनेसमेत बताए  । उनले भने,‘विदेशबाट आउने रक्सीलाई कम आयात होस् भनेर आफ्नै स्थानीय कृषिका उपज प्रयोग गरेर रक्सी बनाउनुपर्छ ।’

सभापति बानियाँले विदेशी सामानको आयात कम गर्नका लागि विदेशबाट आयात हुने कपडामा कर बढाउनुपर्ने बताए । उनले स्वदेशी सामानको प्रयोगमा  जाेड दिनुपर्ने धारणा राखे  ।

कृषि, पर्यटन, उद्योग, व्यापार, रोजगारी, खेलकुद, शिक्षा, स्वास्थ्य, पूर्वाधार र प्रविधि सबैमा जोड दिँदै काम गरेमा  संघीयता बोझिलो नभएर ओझिलो हुने बानियाँको तर्क छ ।