काठमाडौं – सानिमा बैंकको खुद नाफा १३१.१३ प्रतिशतले वृद्धि भई १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। बैंकले २०८३ साल असोज महिनासम्मको वित्तीय कार्यसम्पादन विवरण सार्वजनिक गर्दै नाफा, प्रति सेयर आम्दानी तथा निक्षेपमा वृद्धि भएको जनाएको हो।
बैंकका अनुसार गत वर्षको सोही अवधिमा १३ रुपैयाँ १५ पैसा रहेको प्रति सेयर आम्दानी बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ। त्यस्तै, बैंकको इक्विटीमा प्रतिफल अर्थात् रिटर्न अन इक्विटी (ROE) ७.६८ प्रतिशतबाट बढेर १५.६० प्रतिशत पुगेको छ।
बैंकको प्रति सेयर कुल वितरणयोग्य नाफा पनि गत वर्षको १९ रुपैयाँ २७ पैसाबाट बढेर २७ रुपैयाँ ५८ पैसा पुगेको छ।
यस अवधिमा बैंकको कुल निक्षेप ११.८४ प्रतिशतले वृद्धि भई २५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद कर्जा तथा सापटी १.६९ प्रतिशतले बढेर २०७ अर्ब ४३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
पुँजी पर्याप्तताको अवस्था हेर्दा बैंकको टियर–१ पुँजी पर्याप्तता अनुपात ९.७० प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत रहेको छ।
यसैगरी, बैंकको कुल निष्क्रिय कर्जा (ग्रस एनपीए) गत वर्षको सोही अवधिमा ३.९१ प्रतिशत रहेकामा घटेर २.८६ प्रतिशतमा झरेको छ।
बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा, प्रति सेयर आम्दानी र इक्विटीमा प्रतिफलमा वृद्धि देखिएको छ भने निष्क्रिय कर्जाको अनुपातमा कमी आएको छ।



























